काठमाडौं । वाणिज्य बैंकहरुले ब्याजदर थपघट नगर्ने भएका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले बैशाख महिनामा निक्षेपको ब्याजदर थपघट नगर्ने निर्णय गरेको हो ।
राष्ट्र बैंकले तोकेको निक्षेपको ब्याजदरमा ०.१० प्रतिशतको ‘ग्याप’ नीतिमा रहेर संघले गत फागुन महिनामा ११.०३ प्रतिशत दर कायम गरेका थिए । ब्याजदर बढाउँदा नयाँ निक्षेप संकलन नभएको भन्दै संघले चैत महिनामा पनि सोही ब्याजदर कायम गरे ।
अहिले पुनः चैत महिनामा कायम निक्षेपको ब्याजदरमा बैशाख महिना थपघट नगरी लागू गर्ने निर्णय गरिएको संघका उपाध्यक्ष तथा एनएमबि बैंकका सीइओ सुनिल केशीले सिंहदरबारलाई बताए ।
‘चैत महिनामा कायम ब्याजदरलाई नै बैशाखमा पनि कायम गर्नु पर्छ भन्ने निर्णय भएको छ । चैतमा कायम ब्याजदरलाई थपघट नगरी बैशाख महिना लागू हुन्छ,’– संघका उपाध्यक्ष केशीले भने ।
ब्याजदर बढाएर नयाँ निक्षेप नबढ्ने तर खर्चमा वृद्धि र कर्जाको ब्याजदरमा अस्थिरता आउने भएकाले २७ वटै वाणिज्य बैंकहरु बैशाख महिानामा ब्याजदर थपघट नगर्ने संघको निर्णयमा सहमत भइसकेको उनले जानकारी दिए ।
राष्ट्र बैंकले तोकेको ०.१० प्रतिशतको ‘ग्याप’ नीतिलाई पालना गर्दै बैंक तथा वित्तीय संस्थाले प्रत्येक महिनाको मसान्तमा पछिल्लो महिनाको १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गर्न पाउँछन् ।
तर, बैंकिङ प्रणालीमा लगानी योग्य रकमको अभाब कर्पोरेट बजारमा नगद प्रवाहको समस्याले गर्दा बढेको ब्याजदरमा समेत बैंकहरुले नयाँ निक्षेप संकलन गर्न सकेका छैनन् ।
संघले गरेको सहमति अनुसार बैशाख महिनामा वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्धति निक्षेपमा ११.०३ प्रतिशत, संस्थागत मुद्धतिमा १०.०३ प्रतिशत र रे्मिट्यान्स मुद्धतिमा १२.०३ प्रतिशत ब्याजदर दिनेछन् । भने साधारण निक्षेपको ब्याजदर भने राष्ट्र बैंकले तोकेको ५ प्रतिशतको स्प्रेड कायम गरी तोक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्