जीवन बीमा मानिसको जीवनसँग सम्बन्धित आर्थिक जोखिमको हस्तान्तरण गर्ने अत्याधुनिक उपकरण हो । मानिसको भौतिक शरिर तलमाथि परेमा त्यसलाई फिर्ता ल्याउन नसकेपनि त्यस बाट आफू र आफ्ना परिवारलाइ सिर्जित हुने आर्थिक हानी नोक्सानीको क्षतिपुर्ति गर्न जीवन बीमा अपरिहार्य छ ।
विश्वकै धनाड्य व्यक्तिहरुले पनि जीवन बीमालाई आर्थिक जोखिम हस्तान्तरण गर्ने औजारको रुपमा प्रयोगमा ल्याउने गरेका छन् । न्युन आय भएका र गरिब तथा विकासउन्मुख देशका जनताको लागि त जीवन बीमा झन् अत्यावश्यक छ । बीमाले भविष्यको आर्थिक योजना पुरा गर्न, बाल बच्चाको शिक्षादिक्षा सुनिश्चित गर्न, बुढेसकालको आर्थिक कवज, मानसिक शान्ति प्राप्त गर्न, छरिएर रहेको पुँजी एकत्रित गरि ठुलो पुँजी निमार्ण गरी राष्ट्र विकास गर्न समेत महत्वपुर्ण भुमिका निर्वाह गरेको हुन्छ ।
बीमा व्यक्ति, परिवार, समाज र राष्ट्र सबैको लागि लाभदायक रहेतापनि नेपालमा बीमा क्षेत्रको विकास अपेक्षाकृत रुममा हुन सकेको छैन । तथापी नेपाल सरकारले आ.व. २०७८–०७९ को बजेटमा बीमाको पहुँच एक तिहाई भन्दा बढी जनतामा पुर्याउने लक्ष्य राखेको छ जसले नेपाल सरकार बीमा क्षेत्रको विस्तार गर्न लागिपरेको देख्न सकिन्छ ।
बीमाको विकास तथा विस्तारगर्न विभिन्न सरोकारवालापक्षहरुले निम्न भुमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको छः
केन्द्र, प्रदेश र स्थानीय सरकारको भुमिका
केन्द्र सरकार तथा संसदले देशको परिस्थिति मुल्यांकन गरि समग्र जनतामा बीमाको पहुँच पुर्याउन आवश्यक ऐन, नियम समयमै निमार्ण गर्नुपर्दछ । समयचक्र सँगै आधुनिक आवश्यकता अनुरुप नीति नियमहरु संशोधन गर्दै परिवेश सुहाउने बनाउदै लैजानु पर्दछ । नीति तर्जुमा गर्दा विशेषतः गरिब जनताहरु पनि बीमाको दायरामा आउन सक्नेगरि गर्नु पर्दछ ।
नेपालको संसदमा लामो समय देखी बीमा सम्बन्धि विधेयक छलफलकै क्रममा रहेको छ । उक्त विधेयक यथासक्य चाँडो पास गरि कार्यान्वयनमा जानु पर्दछ ।
प्रदेश तथा स्थानीय सरकारले बीमा समिति तथा बीमा कम्पनीहरुलाई आफ्नो क्षेत्रमा बीमा शिक्षा फैलाउन विशेष समन्वयकारी भुमिका निर्वाह गनु् पर्दछ । बीमा गर्दाको फाइदाका बारेमा वडा स्तरमा प्रचार प्रसार गर्ने दायित्व स्थानीय सरकार स्वयमको पनि हुन्छ ।
बीमा समितिको भुमिका
सरकारले तर्जुमा गरेको ऐनअनुसार बीमा कम्पनीहरुलाई सही बाटोमा हिँडाउने अभिभावकीय भुमिका निर्वाह गर्ने अख्तियारी बीमा समितिलाई प्राप्त छ । बीमा व्यवसायको विस्तार विकासको लागि नीति, नियम, निर्देशन जारी गर्ने, अनुगमन तथा नियमनको क्रममा कैफियत देखिएमा सचेत गराउने, सुधारात्मक कदम चाल्न निर्देशन दिने, शिक्षाको लागि देशव्यापी जागरण फैलाउने कार्य बीमा समितिले प्रभावकारी रुपमा निर्वाह गर्नुपर्ने हुन्छ । बीमक र बीमित दुवैको लाभ रक्षा गर्ने, दावीमा समस्या भए मध्यस्तताको भुमिका निर्वाह गर्ने र समग्र बीमा क्षेत्रमा विश्वासको वातावरण सृजना गर्ने मुख्य चुनौति बीमा समितिको छ ।
नेपालमा समग्र बैंक तथा वित्तिय संस्थाको विकास र विश्वसनीयतामा नेपाल राष्ट्र बैंकले जसरी कुसल भुमिका निर्वाह गरेको छ, त्यसैगरि बीमा समितिले पनि जनतामाझ विश्वासिलो स्वयत्त निकायको रुपमा आफ्नो दरिलो प्रभाव देखाउन जरुरी छ । बीमा कम्पनीहरुले कथमकदाचित बीमितहरुलाई अनावश्यक दुख दिएमा ‘हाम्रो हितको रक्षा गर्ने बीमा समिति छ’ भन्ने विश्वास आम सर्वसाधारणमाझ हुन जरुरी छ, बीमा क्षेत्र विस्तार हुन यो यसो हुनुको विकल्प छैन ।
बीमा कम्पनी तथा कर्मचारीहरुको भुमिका
बीमितहरुलाई छिटो छरितो बीमा सेवा उपलब्ध गराउने मुख्य जिम्मेबारी बीमा कम्पनी र कर्मचारीहरुको हुन्छ । बीमा कम्पनीहरु सहर केन्द्रित नभई गाउँ गाउँ गएर बीमा शिक्षाको बारेमा जानकारी गराउनुपर्दछ अनि मात्र बीमा व्यवसाय विस्तार गर्न सकिन्छ । केन्द्र, प्रदेश र स्थानीय सरकारहरुसँग समन्वयन गरेर बीमा शिक्षा सचेतना कार्यक्रम प्रत्येक घर दैलोमा पु¥याउनु पर्दछ ।
बीमा कार्यालयमा आएका बीमितहरुसँग राम्रो व्यवहार गर्ने, नझर्किने, मागे बमोजिम सही सूचना दिने, कर्जा, बीमा दावी, परिपक्कता दावी आदि काम सहज रुपमा गर्ने दायित्व कम्पनी र कर्मचारीको हो । अभिकर्ताहरुलाई समय समयमा राम्रो प्रशिक्षण दिने, शाखा कार्यलयमा पर्याप्त कर्मचारी राख्ने, शाखा कार्यालयको संरचना ग्राहकमैत्री बनाउने आदि कामले बीमा विस्तारमा टेवा पुग्नेछ ।
बीमा कम्पनीले आफ्ना शाखा कार्यालयहरु र कर्मचारीहरुलाई टार्गेट जसरी पनि पुरा गर्नुपर्दछ भनी दवाब दिने र शाखा कार्यालयले सो बमोजिम अभिकर्ताहरुलाई अनावश्यक दबाव दिँदा फल्स सेल हुने सम्भावना बढी हुन्छ । अतः सबैले दवाबमा व्यवसाय गर्नु भन्दा बीमा जागरणमा जोड दिइ स्वतःस्फुर्तरुपमा बीमा गर्ने वातावरण निर्माण गर्नमा पहल गर्नुपर्दछ ।
अभिकर्ताको भुमिका
अधिकर्ताहरु बीमा कम्पनी र बीमितलाई जोड्ने पुल हुन् । बीमा अभिकर्ता बीमा व्यवसायको मेरुदण्ड हुन् । बीमा व्यवसायको बारेको सर्वसाधरणकाको घरदैलो पुगी शिक्षित बनाउने र बीमा गराउने अभिप्रेरिति गर्ने पहिलो व्यक्ति अभिकर्ता नै हुन् ।
अभिकर्ताहरुले बीमाको बारेमा धेरै भन्दा धेरै ज्ञान हासिल गरेर यथार्थपरक कुरा जनमानस समक्ष पु¥याउनु पर्दछ । थोरै कमिसनको लोभमा जथाभावि लोभ प्रलोभन देखाएर बीमा गराउनु हुँदैन ।
बीमा के हो? बीमा किन गर्ने? बीमा गरेपछि के–के लाभ प्राप्त गर्न सकिन्छ? आदि विषयमा सत्य तथ्य जानकारी जनमानसमा पु¥याउने जिम्मेवारी बीमा अभिकर्ताको हो । अभिकर्ताले बोलेको कुरालाई नै बीमितले विश्वास गर्ने भएकोले अभिकर्ताहरु निष्ठावान हुनुपर्दछ ।
बीमा अभिकर्ताहरुले प्रथम बीमा शुल्क संकलन गरेपछि ‘अब मेरो दायित्व पुरा भयो’ भन्ने सोच्नुहँदैन । बीमा गराइसकेपछि बीमितलाई समय समयमा भेटी उहाँहरुको केही गुनासो समस्या छ कि सो सोध्ने, अर्को बीमा शुल्क भुक्तानी गर्ने समयबारे जानकारी गराउने, ऋण उपलब्ध गराउन सहयोग गर्ने, दाबी परेमा सो दाबी फछ्र्यौट गर्न सहयोग गर्ने आदि भुमिका बीमा अभिकर्ताले आफ्नो सत्कर्म ठानी पुरा गर्नु पर्दछ । समग्र बीमा क्षेत्रको विकासमा अभिकर्ता यसकारण मेरुदण्ड भनिने गरिएको छ ।
बीमा क्षेत्रमा त्यस्तो अभिकर्तामात्र सफल हुन्छन जसले वास्तविक र सत्य कुरा बोल्दछन् र बीमितहरुलाई प्रथम बीमाशुल्क देखि परिपक्कता दावीसम्म साथ सहयोग गर्नेको योगदान समाज, कम्पनी र समग्र बीमा क्षेत्रमा रहन्छ ।
अन्त्यमा,
उल्लेखित सरोकारवाला पक्षहरुले आफ्नो जिम्मेवारी सही किसिमले बहन गर्ने हो भने नेपाल सरकारले चालु आर्थिक वर्ष राखेको बीमा विस्तार लक्ष्य योजना सजिलै उपलब्ध हुन्छ । तसर्थ, आजैबाट हामी सबैले बीमाको विकास र विस्तारको लागी इमान्दारिताको साथ सत्यतथ्य सूचनासहीत सबैलाई बीमा बारे जानकारी गराउन आ आफ्नो भुमिका निर्वाह गरौं ।
(ढुंगाना हाल लाइफ इन्योरेन्स कर्पोरेसन नेपालको धनुषाधाम शाखा प्रबन्धकको रुपमा कार्यरत छन् ।)
प्रतिक्रिया दिनुहोस्