काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीमा रहेको सपिङ गर्ने बानी तरलताको अभाव हुनुको प्रमुख कारण रहेको बताएका छन् । निर्यात व्यवसायीको एक कार्यक्रममा बोल्दै उनले नयाँ पिढीमा सपिङ गर्ने रहर जागेकाले नेपाली मुद्रा पलायन भएको बताए ।
सपिङ गर्ने बानी सुपरमार्केट र ‘नचाहिँदो विज्ञापन’ले विकास गरेको उनको भनाइ छ । सपिङमार्फत् आवश्यकता भन्दा परका वस्तु किन्न बानी नेपाली विकास भएकामा उनको चिन्ता छ ।
“आज जसलाई पनि सपिङ गर्नुपर्ने रे ! के किन्ने ? भनेर सोध्दा थाहा छैन, गएर हेरौं न के हुन्छ, भन्ने किसिमको जवाफ हुन्छ,” ओलीले भने, “जव केही चाहिएकै छैन, के किन्नु परेको ?” उनले सुपरमार्केटले विदेशी सामानमा बेच्ने गरेको आरोप लगाए ।
उनले भने, “ठाउँठाउँमा सुपरमार्केट खुलेको छ, बालबच्चा पनि विज्ञापनमा जे देख्यो त्यही किन्न चाहन्छन्, भर्खरका हरु पनि विज्ञापनमा राम्री युवतीले घटघट चिसो पिएको देखेर त्यसै गर्न लालयित हुने गरेका छन् ।”
यसरी आवश्यकता भन्दा अनावश्यक वस्तु किन्ने बानी नेपालीमा विकास भएकाले यहाँ पैसाको अभाव भएको उनले जिकिर गरे ।
“आज बैंकमा ऋण लिन गयो भने बैंकले छैन भने पठाइदिन्छ,” उनले थपे, “पैसा पाइयोस् पनि कसरी ? अनावश्यक वस्तु किनेर सिद्धिसक्यो ।”
ओलीले निर्यातमुलक उद्योगलाई मूल्य अभिवृद्धि गरेर तथा उचीत विज्ञापन गरेर आवश्यकता महसुस हुने गरेर निर्यात गर्ने सल्लाह दिए । “हिमालको पानी भनेर बेच्नुस्, हिमालका भेडा च्यांग्राको मासुलाई यार्सागुम्बा चरेर बनेको मासु भन्दै बेच्नुस्,” उनको सुझाव छ । नसके कम्तिमा पनि आयातलाई प्रतिस्थापन गर्ने वस्तु उत्पादन गर्न उनले सुझाव दिए ।
ओलीले हिजोको दिनमा झैं एकाथरी आयातकर्तालाई बोकेर अर्काथरीलाई निरुत्साहन गर्ने काम आयात प्रतिस्थापन भएसँगै अन्त्य हुने बताए ।
प्रतिक्रिया दिनुहोस्