काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात (सीडी रेसीयो) सीमा कटाउने वाणिज्य बैंकहरुलाई ताकेता गर्न थालेको छ । केन्द्रीय बैंकले सीमा माथि पुगेको सीडी रेसीयोलाई आगामी असार मसान्तसम्म सीमामा ल्याउनका लागि अहिले देखिनै गृहकार्य शुरु गर्न दर्जन बढी बैंकलाई ताकेता गर्न थालेको हो ।
राष्ट्र बैंकले ८५ प्रतिशतको सीसीडीको व्यवस्थालाई हटाएर चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् ९० प्रतिशतको सीडी रेसियो लागू गरेको थियो । सीडी रेसीयो ९० प्रतिशत कायम गर्नु भन्नाले बैंकहरुले १ सय रुपैयाँ निक्षेप संकलन गर्दा ९० रुपैयाँ कर्जा लगानी गर्न पाउँछन् भन्ने हो ।
राष्ट्र बैंकले गत साउन महिनादेखि नै सीडी रेसीयो लागू गरेको भएपनि तोकिएको सीमा भने आगामी असार मसान्तसम्म कायम गर्ने समय बैंकहरुले पाएका छन् । सीडी रेसीयोको सीमा कटाएर व्यवसाय गर्दा राष्ट्र बैंकले सुपरिवेक्षणिय कारवाही नगरेपनि बैंकहरुले तोकिएको समयमा सीमामा ल्याउन भने कार्ययोजना पेश गर्नु पर्छ ।
यस्तो कार्ययोजना पेश गर्न राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामार्फत् निर्देशन दिएको हो । त्यसपछि बैंकहरुले भविष्यमा स्रोत व्यवस्थापनको कार्ययोजना पेश गर्दै ९० प्रतिशत माथि सीडी रेसीयो कटाएर पनि कर्जा प्रवाह गरिरहेका छन् ।
तोकिएको समय सीमा नजिकिँदै गर्दा पनि बैंकहरुले कार्ययोजना पेश गरेअनुसार सीडी व्यवस्थापन नगरेपछि ताकेता लगाउन थालिएको राष्ट्र बैंकमा एक उच्च अधिकारीले बताए ।
फागुन मसान्तसम्म १८ वटा वाणिज्य बैंकको सीडी रेसियो ९० प्रतिशत माथि छ । जसमध्ये प्राइम बैंकको सीडी रेसीयो ९९ प्रतिशतमाथि छ । साथै, कुमारी बैंकको ९४.९५ प्रतिशत, सिभिल बैंकको ९४.९५ प्रतिशत र नेपाल एसबीआइ बैंकको ९४.३४ प्रतिशत सीडी रेसीयो कायम थियो ।
यस्तै, फागुन मसान्तसम्म मेगा बैंकको ९३.९२ प्रतिशत, बैंक अफ काठमाण्डूको ९३.८३ प्रतिशत, एनसीसी बैंकको ९३.७४ प्रतिशत र नेपाल बंगलादेश बैंकको ९३.३७ प्रतिशत छ । साथै, सेञ्चुरीको ९२.८३ प्रतिशत, इनभेष्टमेण्टको ९२.५६ प्रतिशत, कृषि विकास बैंकको ९२.३५ प्रतिशत र नबिल बैंकको ९२.१० प्रतिशत सीडी रेसीयो फागुन मसान्तसम्म थियो ।
सो अवधिमा सिटिजन्स बैंकको ९१.९४ प्रतिशत, सनराइजको ९१.९४ प्रतिशत, हिमालयनको ९१.३६ प्रतिशत, एभरेष्टको ९१.२२ प्रतिशत, ग्लोबल आइएमईको ९१.०४ प्रतिशत र सिद्धार्थ बैंकको ९०.३१ प्रतिशत कायम थियो ।
यसरी अघिल्लो महिना ९० प्रतिशतमाथि सीडी रेसीयो हुने बैंकहरुलाई पछिल्लो महिना घटाउन के योजना छन् भनेर सोधिएको ती अधिकारीले सिंहदरबारसँग बताए ।
‘फागुन महिनासम्म पनि ९५ प्रतिशतमाथि सीडी रेसीयो भएका बैंकहरुले असारमा ९० प्रतिशत कसरी कायम गर्छन्, त्यस्ता बैंकहरुलाई अहिलेदेखि नै ताकेता नगरे तोकिएको समयसम्म पनि सीडी सीमा तल झार्न सक्दैनन्,’–ती अधिकारीले भने ।
पहिलो प्राथमिकतामा फागुन मसान्तमै ९५ प्रतिशतमाथि सीडी रेसीयो भएका बैंकहरुलाई राखेर ताकेता गर्न थालिएको र त्यपछि सीमा कटाउने सबै बैंकहरुलाई कार्ययोजना अनुसार काम भए/नभएको स्पष्टिकरण माग गरिने उनले जानकारी दिए ।
सीडी रेसियोमा बैंकहरुले निक्षेपमा ऋणपत्र, विदेशी ऋण, रिफाइनान्स र विदेशी मुद्रामा प्राप्त निक्षेपलाई समेत गणना गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
बैंकहरुले सीडी रेसीयो सीमा माथि पुर्याएपनि भविष्यमा प्राप्त हुने निक्षेप, विदेशी ऋण र ऋणपत्रले कभर हुने सुनिश्चिता गरी कर्जा प्रवाह गर्न पाउँछन् । तर यसरी बैंकहरुले भविष्यमा व्यवस्थापन गर्छु भनेको स्रोतको जोहो गर्न सके/नसकेको र सीमा नघाएको सीडी रेसीयोलाई व्यवस्थापन गर्न ताकेता लगाइने राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।
‘बैंकहरु धितो बुक गर्दै नयाँ कर्जा दिन तर्फमात्र लागे, दिएको कर्जाको रिकभरीमा पनि लाग्नु पर्यो, विदेशबाट ऋण ल्याउन जोड दिनु पर्यो, ऋणपत्र जारी गर्न प्रक्रिया थाल्नु पर्यो । सिस्टममै भएको निक्षेपको खोसातानी गर्दै कर्जा दिए सीमा माथि पुगेको सीडी रेसीयो कसरी ९० तल पुग्छ त ?’ स्रोतले भन्यो ‘सम्बन्धित विभागहरु सबैले सीडी कटेका बैंक तथा वित्त कम्पनीहरुलाई कार्यायोजना अनुसार काम गरे/नगरेको जवाफ मागिरहेका छन् ।’
अहिलेसम्म ९५ प्रतिशत सीडी भएका बैंकहरुले कार्यायोजना अनुसार काम गर्न तदारुक्ता नदेखाए आगामी असार मसान्तसम्म ९० प्रतिशतमा झार्न नसक्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्