काठमाडाैं । खानेपानीमन्त्री उमाकान्त चौधरीले सरकारको लक्ष्यअनुसार चैत मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौँ पुग्ने बताएका छन् । हेलम्बु–१ मा रहेको मेलम्ची खानेपानीको बाँधस्थल पुगेका मन्त्री चौधरीले तोकिएको समयमा काम सक्न ठेकेदार कम्पनी र सम्बन्धित कर्मचारीलाई निर्देशन दिए ।
अहिले हेडवक्र्स र सुरूङ सफा गर्ने काम भइरहेको छ । उनले प्राविधिकरूपमा केही कठिनाइ देखा परे पनि त्यसलाई समाधान गर्दै चैत मसान्तसम्ममा जसरी पनि पानी काठमाडौँ झार्ने सरकारी लक्ष्यअनुसार काम भइरहेको बताए ।
मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इञ्जिनीयर पदमबहादुर कुँवरले १७ नम्बरको डेढ किलोमिटर टनेल सफा गर्न, २१ नम्बर गेट खोल्न र ९ नम्बर गेट झार्न बाँकी रहेको उल्लेख गर्दै ९ नम्बर गेट भोलि झार्ने प्रयास गरिने बताए ।
यसपछि मुख्य काम सकिने उनकाे भनाइ छ । सुरुङ सफा गर्ने क्रममा सुरुङभित्र सोचेभन्दा बढी लेदो भरिएको पाइएकाले सो सफा गर्ने कार्य भइरहेको ठेकेदार कम्पनी सिनो हाइड्रोका सब कन्ट्र्याक्टर एस के कन्स्ट्रक्सनका एक सञ्चालक समीर तामाङले जानकारी दिए ।
उनले लेदो सफा गरेको एक हप्ताजतिमै मेलम्चीको पानी काठमाडौँ पु¥याउन सकिने उल्लेख गर्दै सोहीअनुसार काम गरिरहेको बताए । हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले स्थानीय सरकार पानी पठाउन सदैव तयार रहेको बताउँदै मुहान क्षेत्रको गाउँपालिकालाई सरकारले काठमाडौँ पानी पु¥याएर बिक्री गर्न थालेपछि त्यसको नाफाको प्रतिशत दिन माग गरे । शेर्पाले स्थानीय बाढी प्रभावितलाई घर बनाउन ५ लाखले नपुग्ने भन्दै रकम थप गर्न सरकारसँग आग्रह गरे ।
काठमाडौँ आइसकेको मेलम्ची खानेपानी आयोजनामा गएको बर्खाको बाढीले क्षति पु¥याएको थियो । त्यसपछि यो आयोजना अहिलेसम्म नै ठप्प रहेको छ ।
प्रतिक्रिया दिनुहोस्