काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी तीनै तहको निर्वाचनमा सत्ता साझेदार दलहरुबीच गठबन्धन कायम हुने प्रस्ट पारेका छन् । रिपोर्टर्स् क्लब नेपालको २४औँ वार्षिकोत्सव समारोहमा उनले गठबन्धन आवश्यकताले जन्मिएको र त्यो निर्वाचनसम्म कायम रहने स्पष्ट पारेका हुन् ।
“गठबन्धन एउटा सन्दर्भमा जन्मिएको हो, संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि गठबन्धन बनाएका हौँ, कांग्रेसले पनि गठबन्धन कायम राखेर जाने भन्ने निर्णय गरिसकेको छ, अब कुनै द्विविधा छैन, निर्वाचन शान्तिपूर्ण हुन्छ, निष्पक्ष हुन्छ”–उनले भने ।
अध्यक्ष प्रचण्डले संविधान, गणतन्त्र, समावेशिताको रक्षामा माओवादी केन्द्र लाग्ने भन्दै मुलुकमा सङ्कटको समयमा आफ्नो पार्टीले जहिले पनि महत्वपूर्ण भूमिका खेलेको दाबी गरे ।
“देशमा आउने सबै सङ्कटमा मोचनको भूमिका खेल्ने काम माओवादी केन्द्रले गरेको छ, तर सबैले माओवादीलाई त्यो भूमिका खेलेको रुपमा स्वीकार नगरेको स्थिति छ ।”
प्रेस तथा पत्रकारिता क्षेत्र सङ्घीय लोकतान्त्रिक प्रक्रियाको एउटा महत्वपूर्ण क्षेत्र भएको उनले बताए ।
“प्रेसको जसरी विकास भएको छ, जुन गतिमा विकास भएको छ, स्वतन्त्रताको जुन तहमा उपभोग गरिएको छ, यो उत्साहजनक छ ।”
उनले देशको अर्थतन्त्रलाई दुर्घटनातिर जानबाट रोक्दै अर्थतन्त्रलाई सम्हालेर लैजानेतर्फ प्रयास जारी रहेको बताए ।
अध्यक्ष प्रचण्डले श्रीलङका जस्तो स्थितिमा नेपाल नरहे पनि भोलिका दिन नेपालमा पनि अप्ठ्यारो स्थिति आउन सक्ने भन्दै त्यसको समाधानको लागि पहल सुरु भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्