Shikhar Insurance
National Life

ऊनको अभावमा चर्खा चल्न छोड्यो

सिंहदरबार संवाददाता
२०७८ चैत्र १६, बुधबार १४:०८
Hyundai
NCELL
NIMB

म्याग्दी । उत्तरी र पश्चिमी म्याग्दीको माथिल्लो क्षेत्रमा व्यावसायिकरुपमा भेडापालन हुँदै आए पनि भेडाको ऊन निकालेर कपडा बनाउने चलन भने हराउँदै गएको छ । गाउँघरमा चर्खा चलाउने र भेडाको ऊनबाट धागो निकालेर कपडा बनाउने जनशक्तिको अभावमा गतिलो आम्दानीको माध्यम बन्न सक्ने ऊनका कपडा गाउँघरबाट नै लोप हुन थालेका स्थानीयवासीहरु बताउँछन् ।

भेडापालनबाट गाउँलेले राम्रो आम्दानीसमेत गर्दै आएका भए पनि भेडा मासुका रुपमा मात्र प्रयोग गरिँदा ऊनबाट हुने व्यावसायिक फाइदातर्फ किसानहरुको ध्यान जान सकेको छैन । भेडाको रौँ निकालेर चर्खामा घुमाई ऊन (धागो) बनाउने सीप नहुँदा आम्दानीको गतिलो माध्यम बन्न सक्ने ऊनका कपडा गाउँघरमा समेत मुस्किलले देख्न पाइने मल्काबाङका पुनम छन्त्यालले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भेडाको रौँबाट बनेका ऊनका कपडाको माग देश–विदेशमा समेत उच्च रहे पनि चर्खा चलाएर धागो निकाल्ने र तान लगाएर कपडा बुन्ने जनशक्तिको अभावमा दोहोरो आम्दानीबाट वञ्चित हुनु परेको भेडापालक कृषकहरुको भनाइ रहेको छ ।

ऊनबाट बन्ने कपडाहरू (हापदुला, काम्लो, बख्खु, घुम) को माग नेपाली तथा बाहिरी बजारमा निकै बढेको पाइन्छ । गाउँघरका बूढापाकाहरुले सीप हस्तान्तरण गर्न नसक्दा अहिलेका युवा पुस्तामा चर्खा चलाएर धागो निकाल्ने र तान फिजाएर कपडा बनाउने सीप नभएको र युवाहरु परम्परागत सीप सिकेर जीविकोपार्जन गर्नुभन्दा विदेश गएर केही वर्ष दुःख गरी पैसा कमाउनतर्फ लालायित हुने गरेकाले गाउँघरमा चर्खा चल्न छोडेका मालिका गाउँपालिका–५ देविस्थानका टेकबहादुर बुढाले बताए ।

धवलागिरि गाउँपालिका–५ की तेजमायाँ विक उमेरले ७१ वर्षकी हुनुभयो । जान्ने भएदेखि नै चर्खा चलाएर भेडाको रौँबाट ऊन निकाली हापदुला र काम्लो बनाउने गरेकी उनलेअहिले हातले भर दिन छोडेपछि चर्खा चलाउन पनि छोडिन् । उनले ४३ वर्षसम्म चलाएको चर्खा अहिले सिकुवामा थन्किएको छ ।

तेजमाँयाले ऊनबाट बन्ने कपडा सानैबाट बनाउँदै आउनुभएको हो । उहाँले रौँबाट बन्ने कपडा बुन्न बजैबाट (हजुरआमा) सिक्नुभएको हो । तर अहिलेका पुस्ताले यसप्रति चासो नराखेको उनले बताए ।

“मैले सानैदेखि बुन्दै आएकी हुँ, सानोमा बजैले बुनेको देखेँ, त्यसपछि मैले पनि बुन्न थालेँ, तीन वर्षअघिसम्म त बुन्दै आएकी थिएँ, अहिले हातगोडा दुख्न थाल्यो र बुन्न छोडेकी हुँ,” उनले भने, “अहिलेका पुस्ताले यस्ता कामहरू गर्नै जान्दैनन्, चासो नै दिँदैनन्, हाम्रो शषपछि यी सबै कुरा हराएर जान्छन् । त्यतिबेला अहिलेको जस्तो सिरक, डसनाको जमाना थिएन, सबै भेडाको रौँबाटै बनेका घुम, काम्लो थियो, कपासको कपडा त धेरै पछि आएको हाम्रो ठाममा ।”

अहिलेका पुस्ताले परम्परागत सीप नसिकेकोप्रति उनी चिन्तित छन् ।

“अहिलेका केटाकेटीहरु पुरानो जमानाका कुरालाई खुइले कुरा भन्छन्, चासै दिँदैनन्, हामी बाँचुन्जेल ओढ्ने, ओछ्याउने हो मरेपछि यी पुराना थाउनालाई हामीसँगै पोलिदिन्छन् ।”

ऊनबाट बुनेको कपडाको मूल्य न्यूनतम पाँच हजारदेखि ४०/५० हजारसम्म पर्ने गरेको स्थानीय बूढापाकाहरुको भनाइ छ । न्यानो र पानीसमेत छेक्ने हुँदा यसको माग बढ्ने गरेको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए ।

उहाँले पछिल्लो समय ऊनका कपडाहरूको उत्पादन कम हुँदै गएको स्वीकार गर्छन। नयाँ–नयाँ प्रविधिका कारण र बजारमा आउने विदेशी कपडाले ऊनका कपडा ओझेलमा परेको उनको भनाइ छ ।

“पहिले पहिले दुःख पाउने (गरिब) मान्छेले मात्र लगाउने र ओढ्ने ऊनका कपडा अहिले धनीमानी र सौखिन मान्छेले मात्रै खोज्ने र लगाउने गरेको पाइन्छ,” मालिका गाउँपालिका–७ बिमका कर्मबहादुर जुग्जालीले भने, “यस्ता कपडाहरु वातावरणीय दृष्टिकोणले पनि अत्यन्तै फाइदाजनक हुने हुनाले बुझेका र किन्न सक्ने मानिसहरुले खोजी गर्ने गर्दछन् ।”

GBIME

प्रतिक्रिया दिनुहोस्