Shikhar Insurance
National Life

१३२ केभीको लाहाचोक सबस्टेसन तयार, प्रभावित स्थानीयलाई लाभ दिने उपाय खोज्नुसः उर्जामन्त्री

सिंहदरबार संवाददाता
२०७८ चैत्र १४, सोमबार २१:०३
Hyundai
NCELL
NIMB

कास्की । नयाँ मोदी (पर्वत)–लेखनाथ(कास्की) १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजना अन्तर्गत लाहाचोक सबस्टेसन उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सोमबार आयोजना अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिका–४मा निर्माण गरिएको १३२ लाहाचोक सबस्टेसन उद्घाटन गरेकी हुन् ।

सबस्टेसनमा १३२/३३ केभी, ३० एमभिए र ३३/११ केभी, ८ एमभिएका पावर ट्रान्सफर्मरहरु रहेका छन् । सबस्टेसनमा स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ३३ केभीका एकवटा लाइन बे र चारवटा ११ केभीका फिडरहरु रहेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजना अन्तर्गत पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा रहेको सबस्टेसनबाट लाहाचोकसम्मको १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । नयाँ मोदी १३२ केभी स्वीचिङ स्टेसनमार्फत मोदी जलविद्युत केन्द्र हुँदै लाहाचोक सबस्टेसन राष्ट्रिय ग्रिडमा जोडिएको छ । साथै सबस्टेसनबाट हेम्जा ३३/११ केभी सबस्टेसन पनि जोडिने छ ।

लाहाचोक सबस्टेसनबाट कास्कीको माछापुच्छ्रे, अन्नपूर्ण गाउँपालिका र पोखरा महानगरपालिकामा विद्युत आपूर्ति दिइएको छ । यसवाट त्यस क्षेत्रको विद्युत आपूर्ति गुणस्तरीय र भरपर्दो भएको छ । पोखरावाट त्यस क्षेत्रमा विद्युत आपूर्तिको लगिएको लाइन लामो हुँदा ट्रिपिङ, लो भोल्टेज लगायतका समस्या थियो । अब लाहाचोक सबस्टेशनवाट आपूर्ति दिँदा त्यस क्षेत्रको विद्युत सेवा सुधार भई उपभोक्ताले भरपर्दो र गुणस्तरीय विद्युत पाएका छन् । विद्युतको प्राविधिक चुहावट समेत घटेको छ ।

पर्वत, कास्कीलगायतका जिल्लाको विद्युत आपूर्ति सुधार गर्न र मोदी, सेती,मादी तथा सर्दी नदीमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजना निर्माण सुरु गरिएको हो । कुल अनुमानित लागत २ अर्ब २४ करोड रुपैयाँ रहेको आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र आयात निर्यात (एक्जिम) बैक भारतको सहुलियतपूर्ण ऋण रहेको छ ।
कार्यक्रममा मन्त्री भुसालले विगतमा वत्ति बाल्ने कुरा मात्रैै चर्चा हुने गरेकोमा अब उद्योग कलकारखाना, यातायातलगायतका सबै क्षेत्रमा विद्युतको उपभोग गर्ने अवस्थामा पुगिएको र नेपाल ऊर्जामा आत्मनिर्भर बन्नेतर्फ अगाडि बढेको बताइन । आन्तरिक रुपमा खपत गरेर बढी भएको विद्युत निर्यात गरी नेपालले बेहोरिरहेको व्यापार घाटा कम गरिने उल्लेख गर्दै मन्त्री भुसालले अहिले हिउँदका केही महिना मात्र विद्युत आयात गर्नु पर्ने अवस्था रहेको बताइन ।

‘नदीमा पानीको वहावका आधारमा विद्युत उत्पादन हुने आयोजना बढी रहेकाले वर्खामा धेरै विद्युत उत्पादन हुने र हिउँदमा कम हुने अवस्था छ, हिउँदको माग धान्न केही महिना मात्र आगामी वर्ष विद्युत आयात गर्नु पर्छ’, उनले भनिन । ‘वर्खामा बढी भएको विद्युत निर्यातका लागि छिमेकी मुलुकसँग विद्युत व्यापार बृद्धिका लागि सकारात्मक छलफल भइरहेको छ, छिट्टै निश्कर्षमा पुग्नेछौं ।’

उनले प्रसारण लाइन आयोजनाबाट प्रभावितलाई पनि लाभ दिलाउने विषयमा नीतिगत निर्णय गर्न लागिएको उल्लेख गरिन । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले प्रसारण लाइन निर्माणमा स्थानीयले उठाएको वास्तविक समस्यालाई सम्बोधन गरी आयोजना निर्माण गरिनु पर्नेमा जोड दिए ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले आयोजनाप्रति स्थानीयको अपनत्व बढाउन निर्माणका क्रममा स्थानीयले उठाएका जायज मागलाई सम्बोधन गरिने बताए । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएपछि विद्युत आपूर्ति गुणस्तरीय तथा भरपर्दो भएको र यस क्षेत्रमा निर्माणाधीन विभिन्न जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय ग्रिडमा प्रवाह गर्न पूर्वाधार तयार भएको बताए । भारतको विदेश मन्त्रालयका सहसचिव श्रीधरण मधुसुदनन्ले प्रसारण लाइन तथा सबस्टेसनको निर्माण नेपाल र भारतबीचको सहयोग मात्रै नभएर महत्वपूर्ण क्षेत्रमा विकास साझेदारी भएको उल्लेख गरे । उनले नेपालको ऊर्जा क्षेत्रको विकासमा भारतको सहयोग र साझेदारीमा निरन्तरता रहने प्रतिबद्धता जनाए ।

एक्जिम बैकका महाप्रवन्धक सरोज कुण्टियाले बैंकले नेपालमा विगत १६/१७ वर्षदेखि सहयोग गरिरहेको उल्लेख गर्दै प्रसारण लाइन र सबस्टेसनको निर्माणले स्थानीय समुदायलाई पनि लाभ दिने बताए । माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर गुरुङले यस क्षेत्रमा १४३ मेगावाट विद्युत उत्पादन हुने सम्भावना रहेको बताउँदै आयोजना निर्माणमा स्थानीयको पीरमर्कालाई उचित सम्बोधन गर्न आग्रह गरे ।

नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजना अन्तर्गत नयाँ मोदीमा १३२ केभी स्वीचिङ सबस्टेसन, लाहाचोकमा नयाँ सबस्टेसन र लेखनाथ सबस्टेसनको स्वीचयार्डमा १३२ केभी लाइनको बे निर्माण कार्य सम्पन्न भएको छ । सबस्टेसन निर्माणका लागि हिताची इनर्जी लिमिटेड (एबिबी), भारतसँग ठेक्का सम्झौता भएको थियो ।

प्रसारण लाइन निर्माणका लागि कलपत्रु पावर ट्रान्समिसन लिमिटेड, भारतसँग ठेक्का सम्झौता भएको थियो । आयोजना अन्तर्गत नयाँ मोदी–लाहाचोक प्रसारण लाइन खण्ड निर्माण सम्पन्न भई लाइन सञ्चालनमा आइसकेको छ भने लाहाचोक–लेखनाथ खण्ड निर्माणाधीन छ । लाहाचोक–लेखनाथ खण्डमा पर्ने ७५ वटा टावरमध्ये १९ वटाको निर्माण बाँकी छ ।

माच्छापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिको विभिन्न ठाउँका स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट परिवर्तन माग गर्दै अवरोध गरेका कारण निर्माण प्रभावित भएको छ । प्रसारण लाइनको लम्बाइ ४३ किलोमिटर रहेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्