काठमाडौं । चैतको ४ दिनमै वाणिज्य बैंकहरुको निक्षेप ५ अर्ब रुपैयाँले घटेको छ । फागुन महिनामै कायम निक्षेपको ब्याजदर चैत महिना कायम गर्दा निक्षेपकर्ता निरुत्साहित भएका हुन् । बढाइएको ब्याजदरमा निक्षेप संकलन नभएको तर खर्चमात्र बढेको भन्दै वाणिज्य बैंकहरुले फागुन महिनामा कायम ११.०३ प्रतिशत ब्याजदरलाई नै चैत महिनामा निरन्तरता दिएका छन् ।
सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले फागुन मसान्तसम्म ४३ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । जुन चैत ४ गतेसम्म आइपुग्दा ५ अर्ब रुपैयाँले घटेर ४३ खर्ब २८ अर्ब रुपैयाँमा कायम भइएको छ ।
फागनको दोस्रो सातादेखि वाणिज्य बैंकहरुमा निक्षेप संकलन बढ्न थालेको थियो । फागुनको दोस्रो साता वाणिज्य बैंकहरुमा १ अर्ब, तेस्रो साता २ अर्ब र अन्तिम साता ७ अर्ब रुपैयाँले निक्षेप संकलन थप भएको थियो ।
ब्याजदरमा परिवर्तन नभएपछि वाणिज्य बैंकहरुबाट निक्षेप अन्य वर्गको बैंकमा सरेको संका गरिएको छ । चैत महिनाको लागि मुद्दती निक्षेपमा विकास बैंकहरुले विकास बैंकहरु ११.६५ प्रतिशत र वित्त कम्पनीहरुको १२.१५ प्रतिशत कायम गरेका थिए ।
यसरी वाणिजय बैंकहरुको निक्षेप संकलन घट्दै गएपछि कर्जा प्रवाह पनि ठप्प भएको छ । नयाँ कर्जा रोकेर वाणिज्य बैंकहरुले प्रवाहित कर्जा समेत फिर्ता लिन थालेको तथ्यांकले देखाउँछ ।
फागुन मसान्तसम्म वाणिज्य बैंकहरुले कुल ४१ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । चैत ४ गतेसम्म आइपुग्दा कर्जा प्रवाह ४१ खर्ब ६८ अर्ब रुपैयाँमा सीतित भएको नेपाल बैंकर्स संघको तथ्यांकले देखाउँछ ।
निक्षेप संकलन र कर्जा प्रवाहको तालमेल नमिलदा कर्जा निक्षेप अनुपात (सीडी) रेसीयो समेत सीमा नाधेको छ । चैतको ४ गतेसम्म वाणिज्य बैंकहरुले सीडी रेसीयो ९१.१९ प्रतिशत कायम गरी कारोबार गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्