नेपालमा बढिरहेको बजारलाई नियामकहरुले नै जबरजस्ती घटाइरहेका छन् । नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीहरुको सूची सार्वजनिक गरी बजार घटाउन शुरु गरेको थियो । त्यो भन्दा अघि नेप्से इन्डेक्स ३२ सयमा पुगेर २२ अर्ब रुपैयाँ बराबरको कारोबार भएको हो ।
त्यसबेलासम्म लगानीकर्ताहरुको मनोबल धेरै बलियो थियो । बोर्डले ५१ वटा कम्पनीहरुको नामावली सार्वजनिक गरेपछि खल्बलिएको लगानीकर्ताहरुको मनोबाल नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत् थप घटाइदियो ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् सेयर धितो कर्जामा ४/१२ करोड रुपैयाँको नीति ल्याउनु, सीसीडी रेसीयो खारेज गरी सीडी रेसीयो लागू गर्नु नै स्वस्फुर्त रुपले बढिरहेको सेयर बजार जबरजस्ती घटाउने नीति हुन् ।
त्यसपछि राष्ट्र बैंकले घटेको सेयर बजार र लगानीकर्ताको घाटालाई सम्बोधन मौद्रिक नीीतको पहिलो त्रैमासिक समीक्षामार्फत् गर्ने अपेक्षा सबैको थियो । सोही कारणले लगानीकर्ताहरु आशावादी हुँदै बजारलाई केही हदसम्म साइजमा ल्याएका थिए । तर, राष्ट्र बैंकले पहिलो त्रैमासिक समीक्षामार्फत् सेयर बजारमा बैंकमार्फत् हुने नियमनलाई थप कडाई गर्यो ।
मौद्रिक नीति आउनु अघिसम्म बैंकहरुमा फालाफाल पैसा थियो । जब राष्ट्र बैंकले सीसीडी खारेज गरी सीडी रेसीयो लागू गर्यो तब नै प्रणालीमा लगानी योग्य रकम (तरलता) समस्या देखिन थालेको हो ।
उक्त समय बैंकहरुमा अधिक तरलता भएको कारणले राष्ट्र बैंकले २० अर्ब रुपैयाँ रिभर्स रिपोमार्फत् तरलता प्रशोचन समेत गरेको थियो । बैंैकहरुमा प्रसस्तै पैसा हुँदा ब्याजदर समेत सामान्य थियो । तर, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लिएका नीतिले अहिले सेयर बजारलाई मात्र होइन, सम्पुर्ण अर्थतन्त्र नै धरासायी बनाइ रहेको छ ।
‘अहिले विदेशी विनिमय सञ्चिति घटिरहेको छ, शोधनान्तर स्थिति घाटामा छ, बैंकमा कर्जा दिने पैसा छैन, ब्याजदर बढेको बढ्यौ छ’
देशको अर्थतन्त्र सुधारका लागि वित्तीय नीतिमा सहयोग गर्ने भनेर ल्याइएको मौद्रिक नीतिको के काम भयो? जब की त्यही नीतिको कार्यान्वयनले मुलुकको अर्थतन्त्र नै ओरालो दिशातर्फ लाग्छ भने ।
राष्ट्र बैंकले सेयर बजार घटाउनलाई नियोजित रुपमा नै पटक/पटक नीतिगत व्यवस्था परिवर्तन गरिरहेको छ । ४/१२ को नीति लागू गरेपनि एउटै बैंकबाट १२ करोड लिन नपाउने, ३ वटा बैंकमा ४/४ करोड रुपैयाँ कर्जा माग्नु पर्ने वाध्यता सृजना गरेको छ ।
लगानीकर्ताको लागि वा पुँजी बजारको लागि १२ करोड रुपैयाँ भनेको केही होइन । त्यस बाहेक बैंकहरुले लघुवित्तको सेयर राख्न नपाउने नीति आयो । यसले गर्दा सबै बैंकहरुले लघुवित्तको सेयर बिक्री गर्दा मूल्यमा धेरै नकारात्मक असर पुगेको छ । यस्तै, लघुवित्तहरुले २० प्रतिशतभन्दा बढी बोनश दिन नपाउने, त्यो भन्दा बढी दिन परेमा ५० प्रतिशत रिजर्भमा राख्नु पर्ने व्यवस्था गरियो । त्यसपछि सेयर बजारमा जाने कर्जाको जोखिम भारित औषत बढाएर पनि यसतर्फ नकारात्मक नीति नै ल्याइएको हो । यी सबै कारणले राष्ट्र बैंकलाई सेयर बजार घटाउन सहज भइरहेको समयमै बोर्डका निवर्तमान अध्यक्ष पनि आर्थिक हिनामिनाको काण्डमा निलम्बित हुनु भयो । नेप्सेका सीइओ पनि कान्डमै परेर घर जानु पर्यो । यसबीच बोर्ड र नेप्सेले करिब ६ महिना नै अध्यक्ष र सीइओ विहिन हुनु पर्यो । यसरी पुँजी बजारलाई नियमन र नियन्त्रण गर्ने दुवै निकाय प्रमुख विहिन हुनु पर्दा बजारलाई धेरै नोक्सानी भएका छ । यस्ता कुरामा अर्थमन्त्रालय पनि कानमा तेल हालेर नै बसेको हो । अहिले बोर्ड र नेप्सले नेतृत्व पाईसकेका छन् । अब यी दुबै निकायहरुले सेयर बजारको दिगो विकास र हितका लागि आवश्यक लबिङ गर्नुपर्छ ।
नियामकहरुले विभिन्न चलखेल गर्दै जबरजस्ती घटाएर २३ सयसम्म पुर्याएका थिए । तर, बजार भने घट्न मानिरहेको छैन । अहिले केही अंकले घट्ने बढ्ने भइरहेको छ । समग्रमा बजार बढ्ने बाटोतर्फ लागि सकेको छ ।
बजार २३ सय सम्म पुगेर पनि २९ सय सम्म पुगेको थियो । अहिले केही घटेको छ । तर बजार अब पहिलेकै रेसीयोमा भने घट्दैन । बजार बढ्न नै खोजिरहेको छ तर जबरजस्ती यसलाई घट्ने बाटोतर्फ नियामकले धकेलिरहेका छन् ।
अहिले हामीले पहिले जस्तो ११ सय वा २ सयमा झर्ला भनेर कल्पना पनि गर्नु पदैन । आजको दिनमा ५२ लाख जति डिम्याट खाता, ४२ लाख मेरो सेयर खाता छ भने २६ लाखले आइपीओ भरिरहेका छन् ।
साथै, १२ लाखले अनलाईन टीएमएस लिएका छन् भने विदेशमा बस्ने ६० लाख यूवाहरु पनि विस्तारै सेयर बजारमा प्रवेश गरिरहेका छन् ।
सेयर बजार भनेको ‘घर/घर की काहानी’ भईसकेको छ । गृहणीदेखि लिएर, विद्यार्थी, आर्मी पुलिस, साना तथा ठुला व्यापारीहरु सबैले सेयर बजारमा लगानी गर्न थालेका छन् ।
त्यसकारण पुँजी बजार पहिलेको जस्तो ११ सयसम्म पुग्छ भनेर नसोच्दा हुन्छ । तर, यसलाई नियामकको न्यानो मायाको खाँचो छ ।
पुँजी बजारले सोझै हेर्ने भनेको सेबोन हो । त्यसपछि नेप्से, उहाँहरुमार्फत् पुँजी बजारले न्यानो मायाको महशुस गर्न पाउनु पर्यो ।
बजारको विकास र विस्तार तथा लगानीकर्ताहरुको हक हितको सुनिश्चिता सेबोन र नेप्सेले नै गर्न सक्नु पर्छ । यही कुरालाई ध्यानमा राख्दै राष्ट्र बैंकले पनि मौद्रिक नीति निर्माण गर्दा होस् या अन्य नीतिगत परिवर्तन गर्दा सेबोन र नेप्सेसँग पनि संमन्वय गर्नु पर्छ । उहाँहरुले ४२ खर्बको पुँजी बजारलाई हामी हेर्दैनौं, हामीले समग्र अर्थतनत्रलाई मात्र हेरेर नीति बनाउँछौँ भन्न मिल्दैन ।
राष्ट्र बैंकले प्रत्येक त्रैमासमा नीति परिवर्तन गर्नु पुँजी बजारको लागि राम्रो होइन । विदेशमा कस्तो अभ्यास छ ? त्यसको अध्ययन गरेर पुँजी बजारका लागि दिर्घकालिन नीतिहरु ल्याउनु पर्छ ।
अर्थतन्त्रको मेरुदण्ड तथा ऐना भनेकै पुँजी बजार हो । यसका लागि अल्पकालिन नभएर दिर्घकालिन नीतिको आवश्यकता हुन्छ । नेपालको जीडीपी ४६ खर्ब हो भने पुँजी बजार नै ४२ खर्ब रुपैयाँको पुँजीकरणमा थियो र अहिले बजार ३२÷३३ खर्बमा आइसकेको छ ।
लगानीकर्ता १०÷१२ खर्ब रुपैयाँ त गुमाइसके, यो भनेको नेपालीकै पैसा हो । यो कुरा राष्ट्र बैंकले पनि बुझ्नु पर्यो हचुवाको भरमा नियम बनाएर लागू गर्दा कुन क्षेत्रमा कस्तो असर पर्छ भन्ने कुराको पनि हेक्का राख्नु पर्छ ।
लगानीकर्ताको लागि सुनौलो दिन आउँदै
नियामकहरुले जबरजस्ती बजार घटाउन खोजिरहेको भएपनि अब केही समयमै बजार अवश्य बढ्छ । स्थानीय तहको चुनावको माहोल शुरु हुँदैछ । यसले विस्तारै खर्चपनि बढ्छ र बैंकको ब्याजदर समेत घट्छ ।
बजार घटेपनि राम्रो पीए रेसीयो भएका कम्पनीहरु छानेर लगानी गर्नेहरुले केही समय पछि नै राम्रो लाभ लिन सक्छन् । राम्रो कम्पनहिरुको पनि सेयर मूल्य धेरै घटिसकेको छ । त्यस्ता कम्पनीहरुको अन्य सुचांक मूल्यांकन गरेर लामो समयको लगानी गरे केही फरक पदैन ।
‘फन्डामेन्टल स्ट्रोङ्ग’ भएपनि धेरै भाउ घटिरकेका कम्पनीहरु छन् । त्यस्ता कम्पनीहरु चिनेर लामो समय होल्ड गर्ने सक्ने लगानीकर्ताले बैंक, बीमा कम्पनीहरु र माइक्रोफाइनान्स कम्पनीहरुको सेयर खरिद गर्दा हुन्छ । हाइड्रोपावर कम्पनीहरुमा पनि राम्रो व्यवसायीक फाइदा लिएका कम्पनीहरुको पनि सेयर मूल्य घटेको छ । त्यस्ता कम्पनीहरु छानेर अहिले लगानीक गर्दा हुन्छ ।
बैंकबाट वा अरुबाट कर्जा लिएर होइन, आफैसँग पैसा छ भने अहिले सेयर बजारमा लगानी गर्ने उचित समय हो । राम्रो राम्रो कम्पनी सस्तोका किनेर राख्दा लाभांश आउँदा पनि त्यसबाट धेरै फाइदा हुन्छ ।
अहिले किनेको सेयरमा ३० प्रतिशत ट्रेडिङ गरेर अरु लामो समयलाई होल्ड गर्ने हो भने दोब्बर फाइदा लिन सकिन्छ । (नेपाल इन्भेष्टर्स फोरमका निर्वतमान अध्यक्ष समेत रहेका रौनियारसँग गरिएको कुराकानीमा आधारित)
प्रतिक्रिया दिनुहोस्