काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ५ रुपैयाँसम्मले बढाएको छ । नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको हो ।
मूल्य बढेपछि पेट्रोल प्रतिलिटर १ सय ५० रुपैयाँ, डिजल प्रतिलिटर १ सय ३३ रुपैयाँ, मट्टितेल प्रतिलिटर १ सय ३३ रुपैयाँ कायम भएको छ ।
निगमले खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत गरेको छ । यद्यपी एलपी ग्यासमा प्रतिसिलिण्डर ६ सय ६५ रुपैयाँ ३४ रुपैयाँ घाटा भए पनि खरिद मूल्य प्रतिसिलिण्डर १५ सय ७५ रुपैयाँ तोकेको छ ।
यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय ३६ रुपैयाँ र बाह्यतर्फको मूल्य प्रतिलिटर १.२९५ डलर कायम गरेको छ ।
मूल्य बढाए पनि निगमलाई अझै १५ दिनमा २ अर्ब ५० करोड रुपैयाँ घाटा र चालु आर्थिक वर्षको फागुन मसान्तसम्म २८ अर्ब रुपैयाँ घाटा भएको उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्