Shikhar Insurance
National Life

सुपारी-केराउ-मरिच-छोकडा आयात खुला, देउवाले भनेका व्यापारीलाई अनुमति दिन ‘माथिको’ निर्देशन

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन १५, आईतवार १८:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । सडकमा एमसीसीविरूद्ध सडक र सदन तातेका बेला सरकारले सुपारी, मरिच र छोकडाको आयात सुटुक्क खुला गरेको छ । मन्त्रिपरिषदले केही समय अगाडि नै यी वस्तुको आयात खुला गरि व्यापारीलाई धमाधम अनुमति दिने प्रक्रिया थालेको हो ।

लामो समयदेखि चर्चाको विषय रहेको सुपारी, मरिच र छोकडा आयात अरूले थाहा नपाउने गरी खुला गरिएको हो । यसबारे गरिएको निर्णय सरकारका प्रवक्ताले निर्णय सार्वजनिक गर्ने बेला उल्लेख गरेका छैनन् । न त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग यसको जवाफ नै छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

व्यापारीसँगको मिलेमतोमा प्रधानमन्त्री शेरबहादुर देउवा नै लागि परेर सुपारी आयात खुलाएका हुन् । देउवाले आफूले चुनेका व्यापारीलाई आयातको अनुमति दिँदा राजपत्रमा सूचना प्रकाशन हुने प्रतिक्षा गरेर बसिरहेका अन्य व्यापारी भने ठगिएका छन् । क-कसलाई आयात अनुमति दिने भन्ने टुंगो पनि देउवाले लगाइसकेको स्रोत बताउँछ ।

सामान्यताः वाणिज्य विभागले सूचना प्रकाशन गरी आयातका लागि आवेदन माग गर्छ र सोहीअनुसार अनुमति दिइन्छ । तर, क-कसले आयात गर्ने टुंगो लागिसकेका हुनाले सीधा मन्त्रिपरिषदको निर्णय कार्यान्वयन हुने क्रममा छ ।

सिंहदरबारलाई प्राप्त जानकारी अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभागलाई मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न पत्र तयार पारिसकेको छ । जसअनुसार आवेदन मागै नगरी सुटुक्क आयातको अनुमति दिन थालिएको हो ।

झापामै फल्छ नेपालको माग धान्ने सुपारी, आयात खोलेर किसानमारा काम गर्दै सरकार

केही दिनपछि यही टिप्पणीका आधारमा वाणिज्य विभागले आयातकर्ता फर्मलाई बोलाएर अनुमति दिनेछ ।

अनुमतिसम्बन्धि मन्त्रालयको लेटर हेडमा उठेको टिप्पणीमा मन्त्रिपरिषदको निर्णय भएको मिति उल्लेख गरिएको छ । यता, मन्त्रालयले भने आयात खुला सत्य नभएको बताएको छ ।

स्रोतका अनुसार गत माघ १० गते नै मन्त्रिपरिषदमा आयात खोल्ने प्रस्ताव पुगेको थियो जुन १७ गते पास भइसकेको छ । यो निर्णय कार्यान्वयनमा नसघाएपछि देउवाले वाणिज्य सचिव दिनेश भट्टराईको सरूवा गरिदिएका छन् । वाणिज्यमा अहिले नयाँ सचिव छन् ।

डा. गणेशप्रसाद पाण्डेयलाई मन्त्रिपरिषदको निर्णयबारे जानकारी गराएर कार्यान्वयनमा पठाइसकिएको छ । पाण्डेयलाई सुपारी, मरिच र छोकडाबारे निर्णय कार्यान्वयन गर्न मन्त्रालय ल्याइएको बताइन्छ ।

एक वर्ष अघि तत्कालीन वाणिज्य सचिव वैकुण्ठ अर्यालको पनि यसरी नै सरूवा भएको थियो ।

सुपारी आयात खुल्ने भएपछि व्यापारी रिझ्याउन बैंकहरुको दौडधुप, शून्य जोखिममा कमिसनको दाउ

सुपारीमा देश आत्मनिर्भर भइसकेको छ । मरिच र छोकडाको आयात पनि सिमित गरे यहाँका लागि पर्याप्त छ ।

तर, व्यापारीहरूले तेस्रो मुलुकबाट यी उत्पादन आयात गरी भारत निर्यात गरेर फाइदा लिने गरेका छन् । उनीहरूले राजनीतिक नेतृत्वलाई आर्थिक प्रलोभनमा पारी मनग्य नाफा लिने गरेका हुन् ।

भारतमा यस्ता उत्पादन अरू देशबाट आयात गर्दा उच्च भन्सार महसुल बुझाउनुपर्छ । नेपालबाट आयात गर्दा भने साफ्टा र डब्लुटीओ सुविधा अनुसार ट्यारिफ लाग्दैन । यसकारण नेपालबाट निर्यात हुने यी सामाग्री ती व्यापारीले अन्य देशबाट ल्याउने भन्दा सस्तो पर्न जान्छ । त्यसैले नेपाली व्यापारीहरू भारतीयसँगको मिलेमतोमा नेपाल आयात गरी बिना प्रशोधन भारत निर्यात गर्छन् ।

यसबाट अर्बौ रूपैयाँ लाभ लिइने गरेको छ ।

सामान्यतयाः अन्य वस्तुमा (मानौः भटमास र पाम तेल) विदेशबाट कच्चा सामाग्री ल्याएर प्रशोधन गरी निर्यात गरिने गरेको छ ।

वाणिज्य मन्त्री समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले व्यापारीको प्रलोभनमा सुपारी आयात खुलाएका हुन् ।  निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी केराउ, सुपारी, छोकडा र मरिचको  आयात खुला गरिएको बताइएको छ ।

दिनेश भट्टराई वाणिज्य सचिव रहेका बेला सुपारी आयात खोल्ने काममा नसघाएको भन्दै उनको सरूवा भएको थियो । उनले उद्योगीलाई मात्र आयात गर्न दिनेगरी बन्देज खुलाउने कार्यविधि बनाएर तयारी गरेकामा वाणिज्य मन्त्री देउवाले रूचाएका थिएनन् ।

तीन गुणासम्म माग आएपछि हटाइयो आयात कोटा

मन्त्रिपरिषदको निर्णय अनुसार ८० हजार मेट्रिक टन केराउ, २५ हजार मेट्रिक टन सुपारी र १५/१५ हजार मेट्रिक टन मरिच र छोकडाको आयात खुल्ला भएको हो । २०७६ सालमै यी वस्तु आयातको कोटा तोकिएको थियो । त्यसबेला मागभन्दा बढी आवेदन परेपछि आयात रोकिएको थियो ।

स्रोतका अनुसार प्रधानमन्त्री देउवाले काँग्रेस महाधिवेसनताका नै व्यापारीबाट पैसा उठाएका थिए । व्यापारीले सुपारीमा प्रतिकिलो ५० रूपैयाँ कमिसन बुझाएको बताउँदै आएका छन् । उनीहरू ‘पैसा बुझाइसक्यौं, आयात खुला १०० प्रतिशत खुल्छ’ भन्दै ढुक्क भएर बसेका थिए ।

जसमध्ये सुपारीको पैसा गुट्खा उद्योगी कमलाकिशोर मालपानीले संकलन गरेको बताइएको छ । केराउको जिम्मा भने अनिल रूंगटाले लिएका छन् । मरिच भने डाबर नेपाललाई आवश्यक परेर आयात खुलाउन लागिएको हो ।

सरकारले गत आर्थिक वर्षको चैतदेखि सुपारी, छोकडा, केराउ, मरिच र विदेशी मदिराको आयातमा बन्देज लगाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले ‘उत्पादन मुलक उद्योग प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउन मरिच र छोकडाको पैठारीलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि, २०७८’ कार्यविधि तयार गरी गत माघ ९ गते नै मन्त्रिपरिषदमा पेश गरेको थियो ।

आन्तरिक उत्पादन पर्याप्त हुँदाहुँदै सुपारी आयात गरिँदा मुलुकको विदेशी सञ्चितीमा चाप पर्नुको साथै शोधान्तर घाटा बढेको निक्यौल गर्दै सरकारले सोमा बन्देज लगाएको थियो ।

व्यापारीहरू आयात खुला सम्बन्धि व्यवस्था राजपत्रमा प्रकाशित हुने प्रतिक्षामा छन् ।

आयात बन्द गर्न सुपारी जोनको मागः बन्द नगरे आन्दोलनकाे चेतावनी

GBIME

प्रतिक्रिया दिनुहोस्