काठमाडौं । मौद्रिक नीतिको अद्र्धवार्षिक समीक्षामार्फत् गरेको व्यवस्था कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकले सेयर बजारका लागि थप घातक सर्कुलर ल्याएको छ । केन्द्रीय बैंकले बुधबार एकीकृत निर्देशिकामा संशोधन गर्दै मार्जिन प्रकृतिको सेयर धितो कर्जाको जोखिम भारित १ सय ५० प्रतिशत बनाएको हो ।
राष्ट्र बैंकमा गभर्नर नियुक्त भएपछिको पहिलो मौद्रिक नीतिमार्फत् महाप्रसाद अधिकारीले जोखिम भारित १५० बाट १०० मा झारेका थिए । जुन व्यवस्थाबाट अधिकारी आफैं ब्याक भएका हुन् ।
यसअघि नै मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा ४/१२ करोडको सीमा लगाएको थियो ।
४/१२ को सीमामाथि जोखिम भारित बढाउँदा सेयर बजारप्रति राष्ट्र बैंक थप नेगेटिभ देखिएको बुझाइ नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालको छ । “४/१२ नीतिले बजारमा निकै ठूलो धङधङती ल्याएको थियो । जसप्रति हाम्रो बिमति थियो । ४/१२ नै हटाउनुपर्छ र यसबारे निर्णय गर्न बैंकलाई नै खुला छाड्नुपर्छ भन्ने माग थियो,” ढकालले सिंहदरबारसँग भने, “कुनै बेलामा जोखिम भारित १५० नै थियो आज फेरि हामी ३ वर्ष अघिकै स्थितिमा फर्कियौं ।” आफूहरुले धेरै लबिङ गरेर जोखिम भारितलाई १०० मा झारेकामा फेरि १५० बनाइउनु दुःखद भएको उनको तर्क छ ।
“जोखिम भारित बढ्नु भनेको हाम्रो लागत बढ्नु हो । अब त सेयर धितोमा राखेर बैंकले कर्जा नै दिँदैन,” उनले भने । ढकालले अब यो नीतिले बजारलाई कालान्तरमा असर गर्ने अनुमान गरे ।
उनले जोखिम भारित घटाउनुको विकल्प नभएको बताए । “यसमा हाम्रो सहमती छैन,” उनले भने, “हिजोसम्म सर्कुलर आएको थिएन, त्यसैले हामी चुप थियौं । १५० प्रतिशतलाई १०० मा फर्काउन लबिङ गर्छौं ।”
४÷१२ ले हिट गरिरहेका बेला सेयर बजारलाई सम्बोधन गर्दै केही सुविधा दिनुपर्ने अपेक्षा आम लगानीकर्ताको थियो । तर, राष्ट्र बैंकले त्यो गर्न आवश्यक नठानेर सेयर बजारका लागि यो थप घातक व्यवस्था गरेको उनले दाबी गरे ।
सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले पनि यस्तो भारितलाई फेरि १०० बनाउन राष्ट्र बैंकसमक्ष आग्रह गर्ने बताए । उनले असार मसान्तसम्म बैंकहरुलाई अझै केही स्पेस भएकाले यसबीचमा लबिङ गरिरहने बताए ।
यद्यपी सेयर धितो कर्जा अरुभन्दा निकै कम जोखिम भएको उनको बुझाइ छ । यस्तो कर्जालाई बैंकले आवश्यकता अनुसार लिक्विडाइज गर्न सक्नेमा झन् कडाइ गर्ने नीतिको औचित्यमाथी उनको प्रश्न छ । यद्यपी यही विषलाई इस्यु बनाएर बजारमा खेल्नेविरुद्ध आफूहरु लाग्ने पनि उनले बताए ।
लगानीकर्ताहरुले बजारको मनोबल गिराउन सबै निकायबाट कुनै कसरत बाँकी नराखेको टिप्पणी गरेका छन् । यस्तै व्यवस्था हुने अनुमानसाथ पछिल्लो समय सेयर बजार घटिरहेको छ । राष्ट्र बैंक समेत सेयर बजारको पक्षमा पछिल्लो समय सकारात्मक देखिएको छैन ।
नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले नयाँ व्यवस्था लगानीकर्ताका लागि दुःखद भएको बताइन् । सेयर बजारलाई चारैतिरबाट च्याप्ने काम भएकामा अहिले थप प्रहार भएको तर्क उनले गरिन् ।
यसबारे लगानीकर्ताबीच छलफल गरेर राष्ट्र बैंकसामु पुनरावलोकनको माग गरिने उनले बताइन् ।
“राष्ट्र बैंक त सेयर बजार र लगानीकर्ताको पछाडि नै लागेको छ,” उनले भनिन्, “मार्जिन पनि लगाएको छ, ४/१२ को क्याप छँदैछ, ब्याज पनि महंगो छ । फेरि अहिले जोखिम भारित पनि बढाइनु भनेको सेयर बजार बिरुद्ध जानुको सीमा नाघेको भन्ने बुझेका छौं ।”
लगानीकर्ता हरि ढकालले पुँजी बजार सुधारका लागि ल्याइएको ५८ बुँदा कार्यान्वयन गर्नुअघि १५० रहेकामा आफूहरुले आन्दोलन गरेर १०० मा झारेको र अहिले फेरि १५० बनाइएको जिकिर गरे । उनले तरलताको माझ जोखिम भारित बढाउन बजारलाई खासै फरक नपार्ने तर्क गरे ।
“बैंकबाट कर्जाबाट नै नलिएका लगानीकर्ता किन डराउनुपर्यो ?” उनले प्रश्न गरे । धेरै लगानीकर्ताको कर्जा नवीकरण हुन नसकेको अवस्थामा धेरै ठूला लगानीकर्ताले आफ्नो लोन सेटल गरिसकेकाले आफूले यसलाई ठूलो इस्यु नमानेको उनले बताए ।
“नयाँ आर्थिक वर्षयता राष्ट्र बैंकले सेयर बजारमैत्री नीति ल्याएको छैन, यसपाली पनि नेगेटिभ नै आउला भन्ने थियो,” उनले थपे, “जोखिम भारित बढाउने कुरालाई पनि लगानीकर्ताले इग्नोर गर्नुपर्छ ।”
प्रतिक्रिया दिनुहोस्