काठमाडाैं । आइसिसी पुरूष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को खेल भोलिदेखि ओमानमा हुने भएको छ ।
ओमानको एकेडेमी १ मा हुने खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ शुक्रबार ओमानको सामना गर्नेछ ।
विश्वकप ग्लोबल छनोटको तयारीस्वरुप नेपालले यसअघि चार देश सम्मिलित टि ट्वान्टी सिरिज खेलेको थियो ।
यसमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो । सोही सिरिजको अन्य खेलमा संयुक्त अरब इरिमेटसँग (युएई) २५ रन र आयरल्यान्डसँग १६ रनले पराजित भएको थियो ।
त्यसअघि नेपालले ओमानसँग टी–ट्वान्टीमा पछिल्लो पटक सन् २०१९ मा खेलेको थियो । जसमा ओमानले नेपाललाई ६ विकेटले पराजित गरेको थियो । विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ मा विभिन्न आठ राष्ट्र सहभागी छन् ।
जसमा आयोजक ओमानसहित नेपाल, बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र संयुक्त अरब इमिरेट्स (युएई) छन् । ती आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ ।
समूह १ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान छन् भने समूह दुईमा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् । प्रतियोगिता फाइनल पुग्ने दुई टोलीले आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुने टि २० विश्वकपमा स्थान बनाउनेछन् ।
नेपाली टोलीमा सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, जीतेन्द्र मुखिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, लोकेश बम र गुलशन झा छन् । वैकल्पिकमा भने कुशल मल्ल, साहब आलम र प्रदीप ऐरी छन् ।
प्रतिक्रिया दिनुहोस्