काठमाडौं । प्रणालीमा लगानी योग्य रकम प्रयाप्त नहुदाँ बैंकहरुले नियमकको निर्देशन विपरित गएर आपसमा सापटी कारोबार गरेका छन् । तरलता अभाव बढ्दै गएपछि राष्ट्र बैंकले व्यवस्था गरेको ब्याजदर करिडोरको निर्देशन विपरित गएर अन्तर बैंक कारोबार गरेका हुन् ।
राष्ट्र बैंकको ब्याजदर करिडोरको व्यवस्थाअनुसार अन्तर बैंक सापटी कारोबारको ब्याजदर ५ प्रतिशत माथि जान नहुने उल्लेख छ । राष्ट्र बैंकबाट प्राप्त तथ्यांकअनुसार बैंकहरुले गत शुक्रबार हालसम्मकै उच्च ब्याजदर ५.२४ प्रतिशतमा आपसी सापटी कारोबार गरेका थिए ।
निर्देशन विपरित समय समयमा ५ प्रतिशत माथि अन्तर बैंक सापटी लिने गरेका छन् । गत काक्तिक १ गतेदेखि ५ प्रतिशत माथि यस्तो कारोबार गर्न थालेका बैंकहरुले हालसम्म पाँचौं पटकसम्म ब्याजदर कारिडोरले उल्लेख गरेको व्यवस्थाको उल्लंघन भएको छ । माघ महिनामात्र बैंकहरुले ४ पटक ५ प्रतिशतभन्दा माथि ब्याजदरमा अन्तर बैंक सापटी कारोबार गरेका हुन् ।
बैंकहरुले माघको १० गते ५.००१४ प्रतिशत, माघ १२ गते ५.००६१ प्रतिशत, माघ २१ गते ५.०३१ प्रतिशत र माघ २८ गते ५.०२४ प्रतिशत ब्याजदरमा अन्तर बैंक सापटी कारोबार गरेका हुन् । माघ महिनामा मात्रै १ खर्ब ८४ अर्ब ६३ करोड २० लाख रुपैयाँ बराबरको अन्तर बैंक सापटी कारोबार भएको छ । यस्तो सापटी माघ महिनामा मात्रै ३७५ वटा अन्तर बैंक सापटी कारोबार उच्च ब्याजदरमा भएको छ ।
पछिल्लो समय बैंकिङ प्रणालीमा तरलताको समस्या बढ्दो छ । राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आव लागेपछि नै प्रणालीबाट १ खर्ब १० अर्ब ९१ करोड रुपैयाँ बढी लगानी योग्य रकम घटिसकेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । गत साउन १ गते बैंकिङ प्रणालीमा १ खर्ब २५ अर्ब ७७ करोड रुपैयाँ तरलता मौज्दात थियो । माघ २९ गते आइपुग्दा १४ अर्ब ८५ करोड रुपैयाँमा सिमित भएको छ ।
यसरी अधिक तरलता घट्दै जाँदा कर्जाको माग अनुसार संस्थामा प्रयाप्त रकम नहुँदा बैंकहरुले अन्तर बैंक सापटी उच्च ब्याजदरमा लिएको राष्ट्र बैंकका सह–प्रवक्ता नारायण प्रसाद पोखरेलले बताए ।
‘आवश्यकता अनुसार राष्ट्र स्थायी तरलता सुविधा (एसएलएफ) लिन पाउँछन्, यसका लागि प्रकृया पुरा गर्न समय लाग्छ सक्छ । तर तत्कालै पूरा गर्नु पर्ने माग बढ्दा उच्च ब्याजदरमा सापटी कारोबार गरेका हुन्,’–पोखरेलले सिंहदरबारसँग भने ।
बैंकहरुले महंंगो ब्याजदरमा सापटी कारोबार गर्दा ऋणको ब्याजदर बढेर जाने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्