काठमाडौं । स्वास्थ्यमन्त्री बिरोध खतिवडाले २४ लाख डोज खोपबारे अध्ययन तथा छानबिन समिति बनाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव गुणराज लोहनीको संयोजकत्वमा मन्त्री खतिवडाले अध्ययन समिति गठन गरेका हुन् ।
“मन्त्री ज्यूले हराएका २४ लाख डोज खोपबारे अध्ययन गर्ने समिति बनाउन निर्देशन दिनुभएको छ,” मन्त्रालयसम्बद्ध स्रोतले सिंहदरबारसँग भन्यो, “चाँडोभन्दा चाँडो हराएका खोपबारे सही जानकारी बाहिर ल्याउनु भन्ने निर्देशन छ ।” यद्यपि कतिमात्रामा खोप हराएको हो भन्ने अध्ययन प्रतिवेदन तयार भएपछि मात्र थाहा हुने स्रोतको दाबी छ ।
स्रोतका अनुसार नीति तथा योजना तथा अनुमगन महाशाखा प्रमुख लोहनीको नेतृत्वमा समिति बन्नेछ ।
आइतबार बसेको महाशाखा प्रमुख हरूको वैठकमा स्वास्थ्य मन्त्री खतिवडाले सत्थतथ्य माग गरेका थिए । “मन्त्री ज्यूले कहाँ इरर भएछ हेरौं भन्नु भएको छ । उहाँले विज्ञ लोहनीको नेतृत्वको संयोजकत्वमा विवेक कुमार लाल र संगीता कौशल मिश्रलगायतलाई अध्ययनको जिम्मा दिनु भएको छ,” स्रोतले भन्यो ।
तत्कालीन केपी ओली सरकार छँदा खोप हराएको अनुमान गरिएको छ । त्यतिबेलै खोपको उपलब्ध कम हुँदा पहुँचको भरमा घरघरमा लगेर खोप लगाइएको समाचार बाहिरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्