काठमाडौं । संसदीय समितिमा चाँदी अस्वभाविक आयातबारे प्रश्न उठेको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग गरिएको छलफलमा समितिका सभापति भरत कुमार शाहले चाँदी खाटमा सुत्न त्यत्रो दरमा चाँदी गरिएको हो र ? भन्ने प्रश्न गरे ।
चालु आर्थिक वर्षको ४ महिनामै ९ अर्ब रूपैयाँको चाँदी आयात भएपछि राष्ट्र बैंकले चाँदी आयातमा सटही सीमा लगाएको छ । सभापति शाहले भने, “यति धेरै चाँदी किन आयात भएको छ, चाँदीकै खाट बनाएर सुतिरहेका छन् ?”
सभापति शाहले सुन चाँदी, गाडी, पेट्रोलियम पदार्थ, साथै कच्चा पाम र सोयाबिन तेलको आयात बढ्दा तरलतामा चाप परेको जिकिर गरे । उनले आयातीत चाँदीको उपयोगको बारेमा सरकार र सम्बन्धि निकायले अध्ययन गर्नु पर्ने बताए ।
शाहले भ्यालु एड भएर मुलुकको अर्थतन्त्रमा योगदान दिन नसक्ने पाम तेल र सोयाविन तेल आयात बढ्नु अर्थतन्त्रको लागि उपयुक्त नभएको बताए ।
आयात बढेकैले तरलता अभाव भएको हुँदा यसमा नियन्त्रण आवश्यक रहेको उनको भनाइ छ । ब्याजदर लगायतका क्षेत्रमा नियामकीय निकायको हस्तक्षेपकारी भुमिका सकारात्मक भएको भन्दै नियामक निकायको काम नै आवश्यक ठाउँमा हस्तक्षेप गर्नुपर्ने भएको उनले बताए ।
सभापति शाहले ४ महिनामा नै ४ खर्ब कर्जा प्रवाह भएको भन्दै एक वर्षमा १२ खर्ब कर्जा दिने ? भनेर प्रश्न गरे ।
उनले ठेक्काको धरौटी वापत १ खर्ब रहेको भन्दै त्यसलाई वाणिज्य बैंकमा पठाएर उपयोग गरिनु पर्ने बताए । सभापति शाहले तरलता अभाव भएको बेलामा धरौटीमै खर्ब रुपैयाँ रहेकोमा आश्चर्य व्यक्त गरे ।
समितिले देशको वर्तमान आर्थिक स्थितिबारे छलफल गर्न अर्थ सचिब मधु मरासिनी र गभर्नर महाप्रसाद अधिकारीलाई बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस्