काठमाडौं । यही सोमबार बैंकिङ प्रणालीबाट १६ अर्ब रुपैयाँ बाहिरिने भएको छ । नेपाल आयल निगमले इन्धन खरिद गरेवापतको पैसा वाणिज्य बैंकहरुमा राखिएकोबाट झिकेर इन्डियन आयल कर्पोरेसन ( आईओसी) लाई भुक्तानी गर्न लागेको हो ।
निगमले यही जनवरी १० तारिखका दिन पेट्रोलियम पदार्थ खरिद गरेको १६ अर्ब रुपैयाँ भुक्तान गर्ने नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले सिंहदरबारलाई जानकारी दिए ।
उनका अनुसार विभिन्न बैंकमा रहेको पैसाबाट सो रकम भुक्तान गरिन लागिएको हो । हाल निगमले विभिन्न बैंकहरुका रहेको पैसा सानिमा बैंकमा ट्रान्स्फर गर्दैछ । जुन पैसा यही सोमबार आरटीजीएस प्रणालीमार्फत् आईओसीलाई भुक्तानी गरिनेछ ।
“अहिले विभिन्न बैंकमा भएको पैसा सानिमा बैंकमा पठाउने क्रम जारी छ,” नायव कार्यकारी निर्देशक साहले भने, “सोमबार सानिमा बैंकबाट आरटीजीएस प्रणालीमार्फत् भारत पठाउने छौं ।”
निगमले आइओसीलाई प्रत्येक अंग्रेजी महिनाको ८ र २३ तारिखमा तेल खरिदको भुक्तानी गर्ने गरेको छ । जनवरी ८ तारिख नेपालमा सार्वजनिक बिदा (शनिबार) परेको छ भने भारतमा जनवरी ९ तारिख सार्वजनिक बिदा (आइतबार) भएकाले १० तारिखमा भुक्तानी गर्न लागिएको हो ।
नेपाल आयल निगमले जनवरीमा ३० अर्ब रुपैयाँको तेल खरिद गर्नेछ । जसमध्ये १६ अर्ब रुपैयाँको भुक्तानी अहिले गर्न लागेको हो । जनवरीमा खरिद गर्न लागेको ३० अर्ब रुपैयाँमा निगमले २५ अर्ब रुपैयाँ तेल बिक्री गरी संकलन गर्ने र बाँकी ५ अर्ब रुपैयाँ संचित मुनाफाबाट झिक्ने साह बताउँछन् ।
“अहिले हामी घाटा बेहोरिरहेका छौं । निगमले कलेक्सन गरेको पैसा आईओसीलाई बुझाउँछ र नपुगेको पैसा मुद्दती निक्षेपबाट झिक्ने गरेको छ,” उनले भने ।
बजारमा तेल बिक्री गरी संकलित पैसा निगमले वाणिज्य बैंकहरुमा निक्षेपको रुपमा राख्ने गरेको छ । जसमा सबैभन्दा बढी सरकारी स्वामित्वका बैंकहरुका राख्ने गरिएको निगमले जानकारी दिएको छ ।
चालु आर्थिक वर्षमा निगमले १८ अर्ब रुपैयाँ घाटा बेहोरिसकेको छ । जुन निगमको संचित मुनाफाबाट व्यहोरिएको हो ।
निगमले मासिक ३ अर्ब रुपैयाँ घाटा बेहोरिरहेको छ । अर्थात् महिनैपिच्छे वाणिज्य बैंकबाट ३ अर्ब रुपैयाँ झिकेर तेल खरिदको भुक्तानी गर्ने गरेको छ ।
वाणिज्य बैंकमा रहेको निक्षेप झिक्नुपर्ने भएकाले अहिले तरलता अभावको प्रमुख कारक निगम बनेको छ ।
प्रतिक्रिया दिनुहोस्