काठमाडौं । नेपाल राष्ट्र बैंकले भारतबाट हुने आयातमा थप कडाई गरेको छ । केन्द्रीय बैंकले शुक्रबार एक परिपत्र जारी गर्दै ३ करोड रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा भारतबाट आयात गर्दा अनिवार्य एलसी खोल्नु पर्ने व्यवस्था गरेको हो ।
यसअघिसम्म ५ करोड रुपैयाँसम्मको आयात गर्न भारतीय रुपैयाँ सटही गर्न एलसी खोल्नु पर्दैन थियो । भारतबाट सामान आयात गर्दा दुवानी, क्लियरिङ्ग लगायतका कागजात देखाएपछि पाइने ५ करोड रुपैयाँसम्मको सटही सुविधालाई ३ करोड रुपैयाँमा सीमित गरिएको हो ।
साथै, राष्ट्र बैंकले भुक्तानी नेपालका संघ संस्था तथा कम्पनीहरुका लागि वाणिज्य बैंकहरुले गर्ने सेवा भुक्तानी सुविधाको सीमा भने बढाउको छ । यसअघिसम्म १ लाख रुपैयाँसम्म सेवा भुक्तानीलाई ३ लाख रुपैयाँसम्म बनाएको हो ।
यसैगरी, राष्ट्र बैंकले विद्युतिय माध्यमबाट भन्सार राजश्व बुझाएमा चेक जारी गर्नु नपर्ने व्यवस्था गरेको छ । विद्युतिय माध्यमबाट भन्सार राजश्व लिने कार्यालयहरुमार्फत् हुने आयातको हकमा चेक जारी गर्नु नपर्ने तर उल्लेखित धरौटी रकम भने लिनु पर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको हो ।
हालसम्म वीरगञ्ज सुख्खा बन्दरगाहामा मात्र विद्युतिय माध्यमबाट भन्सार राजश्व बुझाउने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्