Shikhar Insurance
National Life

मकैको बीउमा पनि विदेशकै भर, चार महिनामै ७ अर्बको मकै आयात

सिंहदरबार संवाददाता
२०७८ पुष १६, शुक्रबार १२:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा विभिन्न जातका एक लाख ९६ हजार ४५ मेट्रिक टन मकै आयात भएको छ ।

मकै खेती गर्ने मौसम सुरु हुनै लाग्दा सो परिमाणको मकै र मकैका बीउ आयात भएका हुन् । केही वर्षदेखि मकैको बीउको आयात बढ्दै गएको तथ्याङ्क छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मकै र मकैका बीउमा परनिर्भरता बढ्दै जान थालेपछि बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका वरिष्ठ बालीविज्ञ एवं सूचना अधिकारी प्रकाश आचार्यले तीन तहका सरकारबीच समन्वय हुन नसक्दा बीउको आयात बढेकोमा चिन्ता व्यक्त गरे ।

मकैको मूल बीउ अर्थात् प्रजनन बीउ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र उन्नत बीउको उत्पादन निजी तथा सामुदायिक क्षेत्रमा हुने गरेका थिए । मुलुक सङ्घीयतामा प्रवेश गरेसँगै तीन तहका सरकारबीच समन्वय र सहकार्य हुन नसकेकाले सामुदायिक क्षेत्रमा उन्नत जात (हाइब्रिड) मकैका बीउ उत्पादन हुन लगभग बन्द भएकाले बीउमा परनिर्भरता ह्वात्तै बढेको हो ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा अर्जेन्टिना, ब्राजिल, भारत, क्यानडा दक्षिण अफ्रिका, टर्की, र अमेरिकाबाट रु छ अर्ब ९१ करोड ९८ लाख ६६ हजार मूल्य बराबरका एक लाख ९६ हजार ४५ मेट्रिक टन मकै आयात भएका छन् ।

त्यसमा ४७ करोड रूपैयाँ बराबरको मकैको बिउमात्र छ भने बाँकी ६ अर्ब ४४ करोड रूपैयाँको मकैका दाना आयात भएको भन्सार विभागको तथ्यांक छ ।

तीमध्ये सबैभन्दा बढी भारतबाट रु छ अर्ब २५ करोड ५७ लाख चार हजार मूल्य बराबरका १८ करोड ५५ लाख ८५ हजार ९५० किलोग्राम मकै आयात भएको छ । त्यसपछि सबैभन्दा बढी मकै आयात हुने मुलुकमा अर्जेनटिना हो । सोही अवधिमा सो मुलुकबाट रु ६५ करोड ४१ लाख ३४ हजार मूल्य बराबरका ७७ लाख ३२ हजार ५० केजी मकै आयात भएको छ ।

तेस्रो धेरै मकै आयात दक्षिण अफ्रिकाबाट हुन्छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा सो मुलुकबाट रु १० करोड ९७ लाख ७० हजार मूल्य बराबरका १२ लाख ७४ हजार केजी मकै आयात भएको छ । यसैगरी सो अवधिमा ब्राजिलबाट सात लाख ९२ हजार २४० केजी, टर्कीबाट तीन लाख ४५ हजार केजी, अमेरिकाबाट तीन लाख आठ हजार ४२० केजी र क्यानडाबाट सात हजार ८०० केजी मकै आयात भएको भन्सार विभागले जनाएको छ ।

आयात भएको मकै खरिद गर्दा नेपालले ब्राजिललाई रु छ करोड ४३ लाख ७० हजार, टर्की र अमेरिकालाई रु दुइ करोड ९६ लाख ९७ हजार र क्यानडालाई रु ६६ लाख २४ हजार भुक्तानी दिनुपरेको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मकै आयातबाट राज्यले रु ३७ करोड चार लाख ४२ हजार भन्सार असुली गरेको छ ।

नेपालीका प्रमुख आहार धान पछि मकै हो । पहाडी क्षेत्रमा बसोबास गर्ने अधिकांश ग्रामीण जनताको दैनिक खाद्यान्न बाली मकै हो । मकैको बीउ आयातले स्थानीय जातको लोकल बीउलाई बहुर्राष्ट्रिय कम्पनीका बहुजातीय बीउले विस्थापित गर्ने सम्भावना बढेर गएको छ । मकैबाट पिठो बनाएर ढिडो, रोटी, पुवा एवं अन्य परिकार खाने चलन छ । मकै पोलेर, उसिनेर र कलिलो मकै तरकारी बनाएर खाने चलन छ तर, पछिल्लो समय पशुपन्छीको दाना बनाउन मकै धेरै प्रयोग हुन थालेको छ । नेपालले वार्षिक झण्डै पशुपन्छीको दानाको लागि चार लाख मेट्रिक टन मकै आयात गर्दै आएको छ ।

किसानले सहजरुपमा अझैसम्म गुणस्तरीय बीउ पाउन सकेका छैनन् । उनीहरुले उन्नत जातका बीउ सरलरुपमा प्राप्त गर्ने हो भने उत्पादन बढाउन सकिने विभिन्न अनुसन्धानले देखाएको छ । पछिल्लोपटक प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले मकै उत्पादनलाई प्राथमिकता दिएको छ । यो परियोजना आर्थिक वर्ष २०७४/७५ बाट सुरु भएको हो । नेपालमा झण्डै नौ लाख हेक्टर जमीनमा मकै खेती गरिन्छ । उच्च पहाडमा ११, मध्य पहाडमा ७१ र तराईमा १८ प्रतिशत जमिनमा मकै खेती गरिन्छ । नेपालमा मकैको उत्पादन झण्डै २२ लाख मेट्रिक टन छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्