Shikhar Insurance
National Life

शुक्रबार श्रीमतीको नाममा एनबी बैंकको सेयर किन्दै बिनोद चौधरी, एकसाताभित्र मर्जर सम्झौता

सिंहदरबार संवाददाता
२०७८ पुष १५, बिहीबार १९:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । अन्ततः नेपाल बंगलादेश (एनबी) र नबिल बैंकबीच मर्जर हुने पक्का भएको छ । नबिल बैंकको सबैभन्दा ठूलो लगानीकर्ता चौधरी ग्रुपले एनबी बैंकमा रहेको बंगलादेशी बैंक आईएफआईसीको सेयर खरिद गरी आधिकारिक रुपमा मर्जरको प्रक्रिया अघि बढाउने भएको हो ।

आईएफआईसीको सेयर खरिद गरेपछि नबिल र एनबीबीच मर्जरको प्रारम्भिक सम्झौता गर्ने नबिल बैंक संवद्ध स्रोतले बताएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘सारिका चौधरीको नाममा एनबी बैंकमा रहेको बंगलादेशी बैंक स्वामित्वको सेयर खरिद गर्ने सहमति भइसकेको छ,’ स्रोतले सिंहदरबारसँग भन्यो, ‘सम्भवतः भोलि शुक्रबार आधिकारिक रुपमा सेयर खरिद गरिएको सूचना सार्वजनिक हुन सक्छ । नबिलको ठूलो लगानीकर्ता चौधरी ग्रुपको परिवारको नाममा एनबी बैंकको सेयर किनेपछि मर्जरको प्रारम्भिक सहमतिको प्रक्रिया अघि बढ्छ ।’

आईएफआईसीको स्वामित्वमा रहेको सेयर चौधरी गु्रपले खरिद गर्ने सहमति भएपछि नबिल बैंकको मर्जर कमिटीले सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) को आवश्यक तयारी गरिसकेको स्रोतले जानकारी दियो । एनबी बैंकसँग मर्जरको लागि नबिल बैंकले सञ्चालक उदयकृष्ण उपाध्ययको संयोजकत्वमा मर्जर कमिटी समेत गठन गरिसकेको स्रोतले जानकारी दिएको छ ।

आईएफआईसीले गत असारमै एनबी बैंकमा भएको ४०.८९ प्रतिशत सेयर बिक्री गर्ने तयारी गरेको थियो । सो सेयर खरिदका लागि एनबी बैंकले संस्थापकहरुका लागि बोलकबोल आह्वान समेत गरेको थियो । तर, बैंकका संस्थापकहरुले तोकिएको समयमा आईएफआईसीको सेयर खरिद गरेनन् । अहिले सो सबै सेयर बिनोद चौधरीकी श्रीमती सारिकाको नाममा खरिद गरिने भएको हो ।

एनबी बैंकमा भएको आईएफआईसी कुल ३ करोड ६८ लाख २७ हजार ४ सय २६ कित्ता संस्थापक सेयर चौधरी ग्रुपको तर्फबाट सारिका चौधरीको नाममा प्रतिकित्ता १ सय ५० रुपैयाँमा बिक्री गर्ने सहमति भएको एनबी बैंकका एक सञ्चालकले बताए ।

‘चौधरी ग्रुपका अध्यक्ष बिनोद जीको श्रीमतीको नाममा आईएफआईसी सेयर आधिकारीक रुपमा सेयर खरिद गर्ने तय गरिएको छ,’ ती सञ्चालकले सिंहदरबारसँग भने, ‘राष्ट्र बैंकमा समेत जानकारी गराइसकेका छौं, फिट एण्ड प्रपर टेस्ट पनि भइसकेको छ । सेयर ट्रान्स्फर भएपछि मर्जरको लागि प्रक्रिया अघि बढ्छ ।’

बैंकका अन्य संस्थापकहरुले आईएफआईसीको सेयर खरिदका लागि पैसा जुटाउन नसकेकै कारणले बाहिरका लगानीकर्तालाई सो सेयर खरिद गर्ने मौका मिलेको हो । सारिका चौधरीको नाममा एनबी बैंकको ४०.८९ प्रतिशत सेयर ट्रान्स्फर भएपछि नबिलले एक्वायर गर्ने सम्झौता यही साता भित्रै गर्ने ती सञ्चालकले जानकारी दिए ।

यसअघि एनबी बैंकमा रहेको आईएफआईसीको सेयर किन्ने इच्छा एमभी दुगड ग्रुपले समेत देखाएको थिए । दुगड ग्रुपले आईएफआईसीका प्रतिनिधिहरुसँग सेयर खरिदमा राम्रै मोलमोल्याईं गरेको थियो । दुगड ग्रुप सनराइज बैंकको सबैभन्दा ठूलो लगानीकर्ता हो । आईएफआईसीको सेयर खरिद गरी सनराइज बैंकमा एनबीलाई एक्वायर गराउने योजना दुगड ग्रुपको थियो । तर, एनबीका नेपाली लगानीकर्ताले आईएफआईसीलाई दुगडको हातमा एनबीलाई सुम्पन नहुने सल्लाह दिएपछि एक लेभलमा पुगेको सहमति तोडिएको थियो । बेच्ने सहमति भइसकेकामा आईएफआईसीले अन्तिमा नबेचेको हो ।

एनबी बैंकका नेपाली लगानीकर्ताकै सल्लाहमा आईएफआईसीले प्रतिकित्ता १ सय ५० रुपैयाँमा चौधरी ग्रुपलाई एनबीको सेयर बिक्री गर्ने सम्झौता गत साता गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्