मंसिर २३ गते नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५ औं वार्षिक साधारणसभामार्फत् नयाँ नेतृत्व चयन हुँदैछ । नेतृत्वका लागि सवारी व्यवसायीहरु २ समूहमा बाँडिएका छन् ।
एउटा प्यानलको नेतृत्व सुजुकी गाडी व्यापारी करण चौधरीले गरेका छन् भने अर्को समूहको नेतृत्व माफसलका व्यापारी ध्रुब थापाले गरेका छन् ।
अटोमोबाइल्स हुँदै अन्य क्षेत्रका व्यवसायमा पनि संलग्न थापा नाडाको नेतृत्व गर्न तम्सिएका छन् ।
थापा प्यानलका ‘कि–प्लेयर’ दीपक कुमार अग्रवाल हुन् । अग्रवाल पनि चुनावी मैदानमा छन् । उनी तेस्रो कार्यकाल नाडा कार्यसमिति सदस्य बन्ने दौडमा छन् ।
थापा प्यानलले चुनाव जितेको खण्डमा नाडाको महत्त्वपूर्ण पदाधिकारीको भुमिकामा उनी रहने छन् ।
उपाध्यक्ष तथा निर्देशकको रुपमा उनले जगदम्बा मोटर्सलाई एउटा उचाईमा पुर्याएर निकट भविष्यमै ‘नम्बर वान ब्राण्ड’ बनाउने लक्ष्य लिएका छन् ।
उनी भन्छन् ‘मैले मेरो लिडरसिपको क्षमता जगदम्बा मोटर्समा देखाइसकेको छु । त्यसकारण पनि नाडामा म सहभागी भएको टिमले जितेर काम गर्ने अवसर पाउनु पर्छ ।’
प्रस्तुत छ, आफ्नो टिम सहित चुनावी मैदानमा उत्रिएका थापा प्यानका एक प्रतिस्पर्धी र पायोनियर व्यावसायिक ग्रुपमा आवद्ध अग्रवालसँग सिंहदरबार डटकमले गरेको अन्तरवार्ताको सम्पादित अंशः
नाडाको निर्वाचन संघारमा छ । तर, इतिहासमै पहिलो पटक होला नाडालाई चुनाव लागेको । यस्तो चुनावी आकर्षण कसरी पैदा भयो ?
तपाईंले भन्नु भएको ठीक हो । मैले पनि पहिलो पटक चुनाव लागेको महसुस गरेको हुँ । यसको श्रेय कहीँकतै ध्रुव थापालाई नै जान्छ ।
यसअघिसम्म नाडा एकातिरमात्र ‘कन्सन्ट्रेटेड’ थियो । ध्रुव थापाले नाडालाई भनेको राष्ट्रिय संस्था बनाउनुभयो । यसमा हामी सबैको संलग्नता हुनुपर्छ भन्ने भावना जागरुक गराउनुभयो । त्यसले गर्दा देशभरीकै अटोमोबाइल्स व्यवसायी प्रतिस्पर्धामा आउनु भयो । जसको अनुभुति हामी चुनावी माहोलबाट गर्न सक्छौं ।
तपाईंले ध्रुब थापाको प्यानल किन रोज्नु भयो ? यो बाध्यता हो वा स्वतःस्फुर्त रोजाइ हो ?
अवश्य नै यो मेरो रोजाइ हो । म आफैंपनि कार्यसमितिमा भएको कारणले गर्दा धेरै कारणले मैले भावी नेतृत्व उहाँले नै लिनुपर्छ भन्ने महसुस गरेको छु । उहाँसँग मेरो भेट धेरै समय अघिबाट भएको त हैन । उहाँसँग नाडाकै कार्यसमितिमा हुँदाको निकटता हो जित
कार्यसमितिमै रहँदा नेतृत्वको ‘क्वालिटी’ देखियो । उहाँले देशका सबै ठाँउमा गएर विभिन्न क्षेत्रबाट टिम छनौट गरेर ल्याउनु भएको छ । समष्टिगत रुपमा सबै क्षेत्रबाट छनौट भएर आएका टिमले नै वास्तिवक नाडाको आवधारणा उजागर गरेको छ ।
नाडा अध्यक्षका प्रत्यासी ध्रुब थापाको प्यानल घोषणा, यी व्यवसायीको साथ
पहिला नाडा (नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन) मात्र थियो । यसको नाम परिवर्तन गरेर नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल राखेर सम्पूर्णलाई समेट्ने प्रयास भएको । पहिले अटोमोबाइल्स डिलर्सहरुको मात्र संस्था थियो भने अहिले सम्पूर्ण अटोमोबाइल्स क्षेत्रलाई नै समेट्ने उद्देश्यले नाम परिवर्तन गरिएको थियो ।
जुन उद्देश्यले नाम परिवर्तन गरिएको थियो, त्यसलाई पूरा गर्न सक्ने क्षमता भएको समूहको नेतृत्वलाई मैले रोजेको छु ।
यो समूहले डिलर, स्प्रेयर्स, ब्याट्री, टायर, लुब्रिकेन्ट व्यापारी, वर्कसप/रिकन्डिसन व्यापारीलाई समेत जोडेर ल्याएको छ । म पनि यही मध्यबाट हुँ जस्तो लागेर यो टिमले मलाई आकर्षित गरेको हो ।
राजस्वमा ठूलो हिस्सा ओगट्ने अटोमोबाइल्स क्षेत्रको काम सरकारसँग ‘डे–टु–डे’ लबिङ गर्नुपर्ने नै हुन्छ । तर, तपाईंहरु आफैं चुनावको नाममा दुई पक्षमा विभाजित भएर आपसमै लड्दा एकीकृत लबिङको क्षमतामा क्षयीकरणको चिन्ता छैन ?
तपाईंले भनेको कुरा सान्दर्भिक हो र भइरहेको छ पनि । विगतमा पनि संस्थागत चुनावको बेला धेरै कुरा हुन्छन् । तर, चुनाव सकिने वित्तीकै हामीसँगै चित्रहार जस्तै एउटै एजेण्डा लिएर अघि बढ्छौं । एकमत एकजुट भएर हिजोको दिनमा पनि काम गरिएको हो । र, चुनाव हुँदैमा भोलिको दिनमा एजेण्डाहरुमा काम गर्न नसकिने अवस्था मैले देखेको छैन ।
हिजोको दिनमा साढे ९ सयको सदस्यतालाई बढाएर ३१ सय पुर्याइएको छ । यसलाई संगठन विस्तार भन्दा चुनावी प्रयोजनको लागि मात्र भन्ने कुरा आएको छ । समग्र नाडाको विकास विस्तारलाई नै समस्या हुने आशंका गरिएको छ नि !
हामी उपत्यका बाहिर धेरै जिल्लाहरुमा वर्कसपका लागि गइरहेका छौं । हिजोको दिनसम्म नाडाको महत्व सम्बन्धिको जागरुकता अटोमोबाइल्स क्षेत्रका प्रायः व्यापारीहरुलाई थाहा नै थिएन । अहिले नेपालभरमै त्यो जागरुकता, चासो भएको छ ।
अबको दिनमा अटो मोबाइल व्यवसायीमा नेपाल उद्योग वाणिज्य महासंघमा हुने जस्तै उत्साह नाडामा हुने महसुस गरेका छौं ।
केही हदसम्म यो जागरुकता चुनावको कारणले पनि हुनसक्छ । तर, नाडाले अटोमोबाइल्स व्यवसायीलाई राख्ने महत्वबारे जागरुकता दुवै समूहका नेतृत्वले सिर्जना गर्नुभएको छ । यो जागरुकता, चासो आजको दिनमा मात्र सीमित नरहला भन्ने विश्वास छ ।
नाडाको चुनाव एफएनसीसीआईको भावी चुनावको रिहर्सल हो पनि भनिएको छ, साँच्चै त्यस्तै हो त ?
ठ्याकै यही हो भन्न सकिन्न । एफएनसीसीआइले सबै क्षेत्रलाई समेटेको छ । हामी भनेको विशुद्ध अटोमोबाइल्स मात्र हौं । एफएनसीसीआइसँग हामीलाई तुलना गर्न मिल्दैन । तर पनि आजको दिनमा देशको राजस्व, मानवीय गतिविधिदेखि हरेक हिसाबमा अटो मोबाइल भनेको अभिन्न अंग हो ।
अटोमोबाइल्स बिनाको जीवन हामी सोच्न पनि सक्दैनौं । घरबाट बाहिर निस्किएदेखि घरमा पस्दासम्म हरेक गतिविधिमा हरेक तरिकाले गाडीको आवश्यकता पर्छ । अटोमोबाइल्स हाम्रो अभिन्न अंग बनिसकेको छ ।
नाडामा चुनावी सरगर्मीः अञ्जन श्रेष्ठ सक्रिय, शेखर गोल्छा कता ?
आजको दिनमा नाडामै ३ हजार सदस्य भइसकेपछि एनएनसीसीआईको चुनावसँग तुलना गर्नु स्वभाविक हो । हिजोको दिनमा नाडाले ७/८ सय जनाको सदस्यहरुबीच चुनाव गराइरहेको हो । अहिले ३ हजार सदस्यमाझ चुनाव हुन गइरहेको छ । यसले चुनौती पनि थपिएको छ । तर, नाडालाई एफएनसीसीआईसँग दाँज्न सक्ने अवस्था आइसकेको छैन ।
अबको दिनमा मोफसलमा भएका साथीहरुसँगै नाडा प्रदेशिक संरचनामा पनि पुगेको छ । सातै प्रदेशका प्रतिनिधि हुन्छन् ।
उहाँहरुले माग पनि नाडालाई महासंघ बनाउनु पर्छ भन्ने माग छ । जुन अहिलेको अवस्थामा नराम्रो हो भन्न पनि मिल्दैन । त्यसमा हामी तयार छैनौं तर यो सोच आउनु भनेको हामी महासंघमा जानुपर्ने अवस्था आयो भन्ने महसुस धेरै साथीहरुले गरेका छौं ।
अब नाडामा ठूला व्यवसायी घरानाहरुको हालीमुहाली अब सकिएको हो त ?
हामी नाडालाई सबैको साझा बनाउनमै हिडेका हौं । तर, विगतको नाडादेखि आजसम्म हेर्दा पनि ठूला व्यवसायीक घरनाको हालीमुहालीमा मात्र नाडा चलेको होइन । अटोमोबाइल्सका सबै प्रकारका व्यवसायी नाडा छन् ।
अहिलेको अध्यक्ष कृष्ण दुलाल पनि लुब्रिकेन्ट व्यवसायबाट हुनुहुन्छ, उहाँको ब्याकग्राउड सामान्य नै छ । त्यसकारणले हालीमुहाली हिजोको दिनमा पनि थियो जस्तो लाग्दैन । अहिलेको बोर्डमा पनि त्यो बर्चस्व छ जस्तो लाग्दैन । हामी नाडालाई सबैको साझा बनाउने प्रयास गर्दै गर्छौं । भोलिका दिनमा तल्लो तहसम्मका समस्यालाई समेट्ने प्रयास गर्नेछौं ।
आयातमा हुने समस्यामात्र अडोमोबाइल्स क्षेत्रको समस्या होइन । आजको दिनमा बिक्री प्रबन्धमा हुने सामान्य पसलेलाई के समस्या छ ? त्यो समस्या पनि नाडाले बुझिदिनु पर्छ । यो सोचाइले हामी काम गर्न खोजिरहेका छौं । यसलाई हामी आधुनिकीकरण गर्नु पनि छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै ‘एफलिएसन’ बढाउनु पर्नेछ । अन्तर्राष्ट्रिय रुपमा केही कुराहरु ल्याउनु पूर्व हामीले आफ्नै क्षेत्रमा केही साना कुराहरुलाई पनि समेट्न नसकेको अवस्था छ । त्यसलाई पनि समेट्नलाई हामी अभियानमा लागेका छौं ।
अटोमोबाइल्स क्षेत्रका सबै व्यवसायी एक अर्कोसँग जोडिएका छौं । घरानीय र सामान्य परिवारभन्दा पनि हाम्रो काम एक अर्कासँग जोडिएको छ । खुद्रा व्यापारी छैन भने डिलरको काम छैन, डिलर छैन भने वितरकको काम छैन । यसलाई ठूला घरानीय सानो घरानीय भनेर एक अर्कामा भेदभावको वातावरण मैले देखेको छैन ।
दुवै समूहको दावी समान जस्तै छ ‘हामी अटोमोबाइल्स क्षेत्रका लागि खेल्नुपर्ने आवश्यक भूमिका खेल्छौं’ । तपाईं सम्मिलित थापाको टिमलाई मतदाताले के अपेक्षाले मत दिएर जिताउने ?
हामी नाडालाई सबै अटोमोबाइल्स व्यवसायीको साझा संस्था बनाउने भन्ने अभियानमै लागेका छौं । यो संस्था राजधानीमा मात्र केन्द्रित भयो र तल्लो तहका गुनासोहरु माथिल्लो तहसम्म पुग्न नसक्दा नीतिगत रुपमै समेटिन सकेन भनेर विगतमा धेरै जना साथीहरुबाट गुनासो आयो । हाम्रो पहिलो प्राथमिकता नै यही गुनासो र समस्यालाई समेटर सम्बन्धित निकायसम्म पुर्याएर समाधानको बाटो खोज्ने हो ।
अटोमोबाइल्स भनेको यस्तो व्यवसाय हो जसको पर्याप्त डाटाबेस हुनुपर्छ । तर, अहिलेसम्म हामी छाता संगठन भएर सबै डाटाको अपडेट छैन । हाम्रो टिमले डाटा अपडेट, हेल्प सेन्टरको लागि काम गर्छ । नाडाले अहिलेसम्म अटो शो देखि के गरेको छ र ? भन्ने आरोप आगामी दिनमा आउने बाटो नदिने प्रयास गर्नेछौं ।
अटो एक्स्पोलाई नै हामीले विभाजन गरेर अटो एसेसोरिज, लुब्रिकेन्टस् र पार्टससँग सम्बन्धित छुट्टै एक्पो गर्न सक्छौं । हामी ‘डिफरेन्ट एक्पर्टिज’ मा काम गर्ने योजनामा छौं ।
अहिलेको समयमा हामीसँग आफ्नै टेक्नोलोजी छैन । हामी ‘एडाप्टेड’ टेक्नोलाजीबाट काम गरिहेका छौं । हामीले केही साथीहरुले विद्युतीय गाडी, मोटरसाइकल पनि बनाएका देखेका छौं ।
नेपाल सरकारले एसेम्बल उद्योगहरु खोल्नुपर्ने बाध्यता सिर्जना गरिरहेको छ । त्यसमा सीप र सहयोगको वातावरण हामी सिर्जना गर्ने काम गछौं ।
हामी ठूला एजेण्डा लिएर हिँडेका छैनौं । तल्लो तहका सामान्य समस्याहरुलाई पोलिसी मेकिङमा कसरी इन्कर्पोरेट (नीतिमा सामेल) गराउने, सबै क्षेत्रलाई समेट्ने गरी आफ्नो टिमलाई खडा गर्ने, नाडाको मुल मन्त्रलाई सबैको साझा बनाउन अटोमोबाइल्स व्यवसायीको हक हितका लागि काम गरेर व्यक्तिगत स्वार्थ भन्दा पनि संस्थागत (समस्त अटोमोबाइल्सको हीत) स्वार्थलाई परिपुर्तिका लागि काम गर्ने योजना बनाएका छौं । यसका लागि टिमका सबैले समान तबरले काम गर्नेछौं ।
यसबीच हामीले ध्रुव थापाको ‘लाइभ लिडरसिप’ को महसुस गरिसकेका छौं । हामीलाई देशभरीबाटै सपोर्ट आइरहेको छ । यसबाट पनि हामी नै अवश्य जित्ने छौं र हाम्रो सोचलाई सकारात्मक रुपमा कार्यान्यवन गछौं भन्ने विस्वास छ ।
नाडाले अहिलेसम्म बजेटमा २ खेस्रो सुझाव बुझाउने बाहेक नेपालमा अटोमोबाइलका लागि कर नीतिदेखि एसेम्बल उद्योगका आवश्यकता, सडक पुर्वाधार, प्रदुषण न्यूनीकरण लगायत ट्राफिक सचेतनाका विषय कहिले धारणा राखेको पाइँदैन किन ?
समस्या कहाँनेर हो भन्दा हामी अहिलेसम्म डेटामा स्ट्रोङ्ग छैनौं । कुनै विषयमा अध्ययन गर्दा तथ्यांकको आवश्यकता हुन्छ । तपाईंले भन्नुभएको विषयका समस्याहरु हामीले सरकारसँग उपयुक्त कारण देखाएर राख्न नसक्ने होइन तर हामीसँग तथ्यांक नहुँदा प्रमाणित गर्न सक्दैनौं ।
नाडासँग सरकारलाई जोडेर हेर्दा, स्थायी सरकार नहुँदा हाम्रो लोकतन्त्रिक नेतृत्व पनि मजबुत छैन । त्यसले गर्दा पनि हामीले राखेका अटोमोबाइल्स क्षेत्रका समस्याहरुको आवश्यक समाधान हुन सकेको छैन ।
देशको राजस्व केही हदसम्म ओटामोबाइल्समा निर्भर छ । पहिलेको कुरा गर्ने हो भने हामीले जहिले पनि सरकारसँग करको दायरा घटाउनु पर्छ भनेर कुरा गरेका छौं । तर, कर घटाएर के कुरामा जोड्दा राम्रो हुन्छ ? सरकारको आम्दानी नघट्ने गरी हामी कसरी ‘सुपरसेट’ गर्न सक्छौं ? त्यसमा हामीले सही तबरले प्रस्तुत गर्न सक्यौं भने दीर्घकालीन नीतिमा जान सक्छौं । यो कुरा हामी भविष्यमा गर्न सक्छौं ।
कार्यसमितिमै भएका कारणले यसअघि लागेका आरोपको जवाफ मैले अवश्य नै दिनुपर्छ । यो विषयमा हामीले काम गर्न पनि खोजेका हौं । केही हदसम्म यी विषय सम्बोधन पनि भएका छन् भने तर हामीले केही हदसम्म गर्न नसकेका अवश्य हौं ।
यसो हुनुको सामान्य कारण भनेकै हामीसँग उचीत अध्ययन, खोज र तथ्यांक सहितको प्रस्तुतिकरण नभएरै हो ।
बजेटले एसेम्बल क्षेत्रलाई प्रोत्साहन गर्दा व्यवसायीहरुबीच नै पक्ष र विपक्ष खडा भएर एकले अर्कालाई हिलो छ्याप्ने काम भएको थियो । नाडा प्रारम्भिक चरणको एसेम्बल उद्योग राख्ने मामिलामा पनि एक जुट हुन नसकेको हो ?
यो पनि अध्ययन र बुझाइको विषय हो । आजको दिनसम्म एसेम्बल उद्योगमा जानुपर्छ, यो देशको लागि आवश्यक छ भन्ने सबैले बुझेका छन् । तर, यसको औचित्य के हो ? एसेम्बल उद्योग भनेको के हो ? यसका फाइदा के छन् ? बुझ्नु पर्छ ।
हामीले अहिले भारतबाट एक ढिक्का (सिंगो गाडी) ल्याउछौं भने त्यो सय वटा ढिक्कामा (पार्टपुर्जा) ल्याएर यहाँ जोड्नुलाई एसेम्बल भनिएको छ । एसेम्बल उद्योग आउँदा रोजगारीमा हुने योगदान, टेक्नोलोजीमा सहुलियत दिने कुरा अहिलेको नयाँ सरकारले गरेको छ । ‘इन्डस्ट्रियल रिभोल्युसन’ अर्थात् औद्योगिक क्रान्तिको सोच अहिलेको सरकारमा आएको छ ।
तर, अटो मोबाइल्समा मात्र नभएर लुब्रकेन्ट लगायत अवयवमा पनि हामी सेल्फ–सफिसियन्ट (आत्मानिर्भर) हुनु पर्छ । अहिले सेल्फ–सफिसियन्ट हुने कुरा गरिएको छ तर, वेल्ङिग गरेर कच्चा पदार्थ ल्याएर, घोलेर, पठाइदिएर भएन । केमिकल, कच्चा पदार्थ सबै बाहिरबाटै आउने हो ।
यसमा अवश्यपनि अध्ययन गरेर त्यसमा साँच्चै देशलाई फाइदा पुग्ने हो भने मात्र समष्टिगत रुपमा सरकार र व्यवसायीले काम अघि बढाउनु पर्छ ।
यसका लागि गर्नुपर्ने काम सबै पक्षले बराबर दायित्व बुझेर गर्नुपर्छ । त्यसका लागि बाहिरबाट विशेषज्ञ ल्याउनुपर्ने आवश्यकता भए त्यसो पनि गर्नुपर्छ ।
‘गर्दिनु पर्यो’ भनेर उर्दी जारी गरेर मात्र भएन । धेरै निर्णयहरु आज हुन्छन्, भोलि फेरि फर्किने आवस्था आउँछ । त्यस्तो अवस्था आउन दिनु भएन ।
त्यसैले विशेषज्ञको सुझाव लिएर निर्णय गरियो भने अविश्वासको वातावरण सिर्जना हुँदैन । हाम्रो टिमले नेतृत्व गर्न पाएमा यसमा काम गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्