Shikhar Insurance
National Life

लाभांश घोषणा गर्न ५ बैंक बाँकी, क्षमता र इतिहास कस्तो ? (तथ्यांकसहित)

सिंहदरबार संवाददाता
२०७८ मंसिर ६, सोमबार ०८:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । हालसम्म २१ वटा बैंकहरुले आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा गरिसकेका छन् । चालु आर्थिक वर्ष सुरु भएको ४ महिना बितिसक्दा पनि बाँकी ६ वटा बैंकहरुले भने लाभांश घोषणा गर्न आनाकानी गरिरहेका छन् ।

५ वटाले साधारणसभा सम्पन्न गरी लगानीकर्ताको खातामा लाभांश पठाइसक्दा आधा दर्जनले सुरसारै नगरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

माछापुच्छ्रे बैंकबाट सुरु भएको लाभांश घोषणा गर्ने क्रम लक्ष्मी बैंक सम्म आइपुगेको छ । अहिलेसम्म लाभांश घोषणा गर्ने बैंकहरु मध्ये नबिल बैंकले सर्वाधिक ३८ प्रतिशत गरेको छ भने सनराइज बैंकले सबैभन्दा कम ७ प्रतिशत लाभांश घोषणा गरेको छ ।

आर्थिक वर्ष सुरु भएको ४ महिना बितिसक्दा पनि आन्तरिक अस्तव्यवस्तामा रुमल्लिँदा उनीहरु लाभांश वितरण गर्न पछि परेका हुन् । ती बैंकहरु सिभिल, एनसीसी, नेपाल एसबीआई, सेञ्चुरी कमर्सियल, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य हुन् ।

राष्ट्रिय वाणिज्य बैंक नेप्सेमा सूचीकृत नभएकाले यसको लाभांश बारे खासै चासो रहँदैन ।

लाभांश घोषणा गरेका सानिमा, कुमारी, सिटिजन्स इन्टरनेशनल, माछापुच्छ्रे बैंक र नेपाल बंगलादेश बैंकले साधारणसभाबाट लाभांश पारित गरि सेयरधनीको खातामा समेत पठाइसकेका छन् भने अधिकांश बैंकहरुले साधारणसभाको मिति समेत तय गरिसकेका छन् ।

तर, ६ वटा बैंकहरुले भने अझै लाभांश घोषणा गर्न ढिलाइ गरिरहँदा लगानीकर्तामा कुन बैंकले कति लाभांश दिन्छन् भन्ने चासो बढेको छ ।

यही चासोलाई चिर्न सिंहदरबारले उनीहरुको पछिल्लो ५ वर्षको लाभांश इतिहास र पछिल्लो आर्थिक वर्षको वितरणयोग्य नाफाको आधारमा लाभांश क्षमता केलाएको छ ।

हेरौं, कसको क्षमता कति ?

गत ५ वर्षको लाभांश वितरणको विवरण र गत आर्थिक वर्षको वितरणयोग्य नाफा हेर्दा सिभिल बैंकले निम्न दरको लाभांश दिने अनुमान लगाउन सकिन्छ । आर्थिक वर्ष २०७२/७३ देखि आर्थिक वर्ष २०७६/७७ सम्म बैंकले क्रमशः ३.०३ प्रतिशत, १०.१९ प्रतिशत, ४.०५ प्रतिशत, ६.५७ प्रतिशत र ८.४२ प्रतिशत लाभांश दिएको थियो ।

बैंकले गत आवमा ४९ करोड ८५ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको थियो । असार मसान्तमा बैंकको कायम चुक्तापुँजी ८ अर्ब ६४ करोड ३६ लाख रुपैयाँ हो । जस अनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ५.७७ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

कृषि विकास बैंकको लाभांश इतिहास र गत आवको नाफाको आधारमा मध्यम दरको लाभांश घोषणा गर्ने अनुमान लगाउन सकिन्छ । आर्थिक वर्ष २०७२/७३ मा बोनस सेयर सहित ३० प्रतिशत घोषणा गरेको बैंकले त्यसयता क्रमशः २१.०५३ प्रतिशत, २१.०५३ प्रतिशत, ३० प्रतिशत र १५.७८९५ प्रतिशत लाभांश दिएको थियो ।

बैंकले गत आवमा १ अर्ब ७३ करोड ५० लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको थियो । बैंकको चुक्तापुँजी असार मसान्तमा १६ अर्ब ४२ करोड २६ लाख रुपैयाँ थियो । जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १०.५६ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

सेन्चुरी कमर्सियल बैंकले आर्थिक वर्ष २०७२/७३ मा बोनस सेयर सहित १० प्रतिशत लाभांश दिएको थियो । त्यसयता आर्थिक वर्ष २०७३/७४ मा १० प्रतिशत, आव २०७४/७५ मा ६.५ प्रतिशत, आव २०७५/७६ मा ६.७५ प्रतिशत र आव २०७६/७७ मा ७.५ प्रतिशत लाभांश दिएको थियो ।

बैंकले गत आवमा ५९ करोड ४६ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको थियो । असार मसान्तसम्म कायम बैंकको चुक्ता पुँजी ९ अर्ब ३ करोड ४४ लाख रुपैयाँ हो । जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ६.५८ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

नेपाल एसबीआई बैंकले आर्थिक वर्ष २०७२/७३ देखि आर्थिक वर्ष २०७६/७७ सम्म बोनस सहित क्रमशः ९.४७ प्रतिशत, १६.२३ प्रतिशत, १५.७९ प्रतिशत, १६.८४ प्रतिशत र ९.४७ प्रतिशत लाभांश दिएको थियो ।

बैंकले गत आवमा ३३ करोड ९२ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको थियो । बैंकको कायम चुक्तापुँजी ९ अर्ब ४९ करोड ३५ लाख रुपैयाँ हो । जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ३.५७ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

आर्थिक वर्ष २०७४/७५ मा १६.७२ प्रतिशत लाभांश दिएको नेपाल क्रेडिट एण्ड कमर्स बैंकले आव २०७५/७६ मा १८.७८ प्रतिशत र आव २०७६/७७ मा १०.८१ प्रतिशत लाभांश दिएको थियो ।

बैंकले गत आवमा ७१ करोड ४७ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । बैंकको चुक्तापुँजी १० अर्ब ३१ करोड ४५ लाख रुपैयाँमा आधारमा बैंकले सेयरधनीलाई ६.९३ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्