Shikhar Insurance
National Life

ब्याजदरभन्दा विश्वसनीयता नै नबिल बैंकको ‘ब्रान्ड भ्यालु’

कृष्णप्रसाद सुवेदी
२०७८ कार्तिक १७, बुधबार १३:४७
Hyundai
NCELL
NIMB

बैंकिङ प्रोडक्ट भन्नाले निक्षेप खाताका प्रकार भन्ने बुझ्नुपर्छ । निक्षेप योजनाहरूमा मुद्दती, बचत र चल्ती खाता पर्छन् । बैंकहरूले धेरै प्रोडक्ट देखाउन र ग्राहकलाई आकर्षण गर्न एकै प्रकारका निक्षेपभित्र अनेक नामका खाता सञ्चालनमा ल्याउने गरेका हुन्छन् ।

धेरै नामका खाता राख्नुको उद्देश्य सबै प्रकारका ग्राहकलाई उनीहरूको आवश्यकता बमोजिमको योजना तयार पार्नु हो । बैंकहरूले ‘आफू अरूभन्दा पृथक छु’ भन्ने देखाउन पनि प्रोडक्टहरू बढी डिजाइन गर्ने गर्छन् । तर, पछिल्लो समय यसले ग्राहकहरूमा अन्योलता सिर्जना गर्ने गरेको पाइन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एउटै उमेर, वर्ग, क्षेत्रका ग्राहकहरूका लागि फरक–फरक प्रकारका प्रोडक्ट बनाउनु आवश्यक हुँदैन । जस्तो कि, महिला लक्षित एकभन्दा बढी प्रोडक्ट बनाउनु उचित छैन । निश्चित वर्ग, उमेर वा पेशाका महिलालाई त्यही अनुसार प्रोडक्ट बनाउँदा उनीहरूभित्रकै एउटा तप्का सुविधाबाट बञ्चित हुन सक्छ । ‘महिलाहरूका लागि एउटा मात्र खाता बनाउनुपर्छ’ भन्नुको कारण यही हो । एउटा मात्र खाता हुँदा सबैको समान सहभागिता हुन सक्छ ।

कुन खाता कस्ता ?
बचत खाता लाभग्राहीको हित हेरेर डिजाइन गरिएको हुन्छ । यसमा ग्राहकहरूले चाहेको बेला रकम थप्न र झिक्न सक्छन् । मुद्दती खाताहरू आवधिक हुन्छन् । यिनका नाम र समय–चक्र फरक हुन्छन्् । तर, सबैमा तोकेको समयमा सोही अनुसार उच्च ब्याजदरको प्रत्याभूति गरिएको हुन्छ ।

चल्ती संस्था/कम्पनी/संघ/संगठनले खोल्ने खाता हो । यसमा ब्याज दिइँदैन । प्रतिफलको स्रोत ‘व्यापारमात्र होस्’ भनेर पक्का गर्न त्यसो गरिएको हुन्छ । यस्तो खातामा ब्याज दिँदा ‘व्यवसायीहरूले व्यवसाय विस्तारमा अल्छि गर्न सक्छन्’ भन्ने सैद्धान्तिक धारणा छ । बैंकमा यस प्रकारको खातामा भएको पैसा नै ‘वर्किङ क्यापिटल’ हो । संघ–संस्थाले मागेको जुनसुकै बेला यो रकम फिर्ता दिनुपर्छ । यसको मुख्य उद्देश्य ‘बैंकले पैसाको सुरक्षा गर्छ’ भन्ने नै हो ।

बैंक–वित्तीय संस्थाले प्रवद्र्धन गर्नुपर्ने भनेकै बचत खाता हो । यो एउटा व्यक्तिको ‘सञ्चालन खाता’ हो । कसैको घरमा आम्दानीको स्रोत एक जना मात्र रहेको अवस्थामा उसको तलबले घरखर्च चलेको हुन्छ । त्यतिबेला, बचत गर्नु पनि आवश्यक हुन्छ । बचत खाताबाट जति कम खर्च भयो त्यति धेरै बचत हुन्छ । अर्को अर्थमा, कम खर्च गर्नु भनेकै बचत हो ।

सामान्यतयाः बैंकिङ अभ्यासमा बचतमा सबैभन्दा कम ब्याज दिने प्रचलन छ ।

बचतकर्ताको स–सानो रकम बैंकमा जम्मा हुँदा ठूलो परिमाणमा निक्षेप संकलन हुन्छ । यस्तो खातामा बजारले जति माग गर्छ, बैंकले त्यति नै ब्याज प्रदान गर्न सक्नुपर्छ । बचतको न्यूनतम र मुद्दतीमा दिइने अधिकतम ब्याजदरको अन्तर ५ प्रतिशत कायम गर्नुपर्ने नियामकीय व्यवस्था छ । यो पालना गर्न जरुरी छ ।

नेपाल राष्ट्र बैंकले बचतकर्ताको हितलाई सबैभन्दा पहिले सम्बोधन गरेको हुन्छ । बैंकहरूले पनि बचतकर्ताको हित प्रवद्र्धन गर्नुपर्छ । कसैको निक्षेप सानो र कसैको ठूलो भए पनि बचत खाता नै ‘मास बैंकिङ’ हो । यही पक्षलाई मनन् गरी आम–बचतकर्ताको हित प्रवद्र्धनमा समग्र बैंकिङ क्षेत्र अग्रसर हुनुपर्छ ।

हरेक बैंकले नयाँ योजना ल्याउनुपूर्व यसको प्रभावकारिता मूल्यांकन गर्नुपर्छ । बचत प्रोडक्ट बनाइसकेपछि मोनिटरिङ, सेल्स, ग्राहकसमक्ष पु¥याउन जरुरी छ । र, सीमित संख्यामा पुगेपछि स्वचालित (अटो मोड) रूपमा छाड्नुपर्छ । यस्तो खाता अद्यावधिक (रिभ्यु) पनि गर्नुपर्छ । नबिलले यही पक्षलाई अवलम्बन गर्ने प्रयास गरेका छ ।

अध्ययन वा सर्वेक्षणमार्फत् ग्राहकलाई सो खाता आवश्यकता भए/नभएको निक्र्योल गर्न जरुरी छ । ग्राहकको मुभमेन्ट कता छ ? लाभान्वितको संख्या कति हुनेछ ? बैंकले अफर गरे अनुसारको लाभ ग्राहकले पाउँछन्/पाउँदैनन् ? यस्ता विषय सुनिश्चित गरेर तयार पारिएका योजनाहरूको माग नै बढी हुने गरेको पाइएको छ । त्यस्तै खाताहरू ग्राहकको रोजाइमा पर्ने गरेको देखिन्छ । अन्यथा, एउटै नाम, उस्तै सुविधाका खाताहरू बन्न जान्छन् । जसले ग्राहकहरूमा दुविधा उत्पन्न गराउँछ । अन्ततः बैंकहरूको लक्ष्य पूर्ति हुन सक्दैन न त ग्राहकले उचित प्रतिफल नै पाउँछन् ।

बचत प्रोडक्ट (खाता) को आफ्नै चक्र हुन्छ । यो चार वटा चरणबाट पार भएर जान्छ । जस्तो, इनिसिएल (प्रारम्भिक), ग्रोथ (वृद्धि चरण), पिक (उच्चतम विन्दु) र डिक्लाइन फेज (ओरालो लाग्ने चरण) । यसको प्रभावकारिताको राम्रो अध्ययन गरेरमात्र समयअनुसारका योजना सञ्चालनमा ल्याउन सकिन्छ ।

बैंकिङ प्रणाली र गुणस्तर
हरेक बैंकले नयाँ बचत खाता डिजाइन गरिरहँदा ग्राहकका रोजाइका विविध विषयमा ध्यान दिनुपर्छ । बजारको तत्कालको माग, मूल्यदर, लाइक/डिसलाइकलगायत पक्षको गहन अध्ययन र मूल्यांकन गरी त्यो भन्दा उत्कृष्ट प्रोडक्ट ल्याउनुपर्ने अपरिहार्यता हुन्छ । योसँगै सामाजिक र पारिवारिक आवश्यकता पनि मूल्यांकन गरेर सोही अनुसारको खाता निर्माण गर्न सक्नुपर्छ ।

बैंकले नयाँ प्रोडक्ट ल्याउने बित्तिकै ‘चर्चा पाइहाल्छ’ भन्ने हुँदैन । त्यसलाई लामो समयसम्म सहयोगको खाँचो पर्छ । त्यसको उपयोगीताको बारेमा ग्राहकलाई बुझाउन र विश्वास आर्जन गर्न समय लाग्छ । त्यतिञ्जेल धैर्यताका साथ ब्रान्डिङमा लागिरहनुपर्छ ।

नयाँ प्रोडक्ट लञ्च गरेर चलेन भन्दै ३/४ महिनामै बन्द गर्ने बैंकहरू धेरै छन् । तर, ग्राकहले नयाँ प्रोडक्टलाई पूर्ण विश्वास गर्न नै १/२ वर्ष लाग्छ । यदि, त्यो समयसम्म पनि बजारबाट राम्रो प्रतिक्रिया आएन भने समय सान्दर्भिक र ग्राहकको मागअनुसार परिवर्तन गर्न सक्नुपर्छ ।

केही बैंकहरूले ‘बजार नै कब्जा गर्छौं’ भन्ने शैलीका केही खाता ल्याउने गर्छन् । तत्काल नजिता नआएपछि केही समयभित्रै बन्द गर्ने पनि गरेका छन् । बैंकले त हल्लामा चमत्कार गर्ने भन्दा पनि गुणस्तरमा चमत्कार गर्ने प्रोडक्ट बनाउनुपर्छ ।

तिर्खा लागेको व्यक्तिलाई कोल्ड ड्रिङ्स होइन पानीको आवश्यकता पर्छ । कोल्ड ड्रिङ्स शोखका लागि हो, पानीले मात्र प्यास मेट्न सक्छ । तर, यहाँ केही बैंकहरूले तिर्खाएकालाई कोल्ड ड्रिङ्स दिएकै हुनाले ग्राहकहरूको प्यास मेटाउन सकेका छैनन् । बैंकको सेवाले आवश्यकता कति पूरा भएको छ ? त्यो ग्राहकले भन्ने हो । बैंकले ग्राहकका लागि यो नै उत्कृष्ट सेवा हो भनेर दाबी गर्न मिल्दैन ।

बैंकले हरेक व्यक्ति, वर्ग, क्षेत्रका समूह र समुदायलाई समेट्ने निक्षेपका प्रोडक्ट पस्किन सक्नुपर्छ । बचत खाता निर्माण गर्दा निश्चित वर्ग, समुदाय र क्षेत्र समेट्ने प्रकारको पनि हुनुपर्छ ।

निक्षेपकर्ताले हेर्ने रेट आफ्नो ठाँउमा छ । सुरक्षाका दृष्टिकोणले आफ्नो बचत कहाँ राख्ने भन्ने निर्णय निक्षेपकर्ताले गर्छन् । रेटकै कारण ग्राहकले अविश्वास गरी निक्षेप जम्मा नगर्ने हो भने कम ब्याजदर भएका नेपालका २/४ वटा बैंक टाट पल्टिनुपर्ने हो । हालसम्म त्यस्तो भएको छैन ।

पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको तरलता संकुचनमा बैंकहरूले निक्षेपकर्तालाई आकर्षित गर्ने ब्याजदर बढाउँदै विभिन्न प्रकारका निक्षेप खाताहरू ल्याएका छन् । बैंकले क्षणिक आकर्षण भन्दा दीर्घकालीन गुणस्तरमा ध्यान दिनु टड्कारो भइसकेको छ ।

अरू र बैंकिङ व्यापारमा फरक भनेकै मूल्य र रेटमात्र नभएर सुरक्षा तथा विश्वास पनि हेरिन्छ ।

निक्षेपकर्ताले पनि आकर्षक दरभन्दा बैंकको विश्वसनीयता हेर्छन् । आज महँगो दरमा राखेर भोलि मागेको समयमै फिर्ता दिन नसक्ने बैंकमा पैसा थुपारी निक्षेपकर्ता निराश हुने परिस्थिति सिर्जना हुनु हुँदैन ।

बैंकिङ बजारमा नबिल
नबिल पुरानो मध्येको निजी क्षेत्रको अग्रणी बैंक हो । यो नेपालको बैंकिङ इतिहासमा एउटा ‘ट्रेन्ड सेटर’ पनि हो ।

खाताहरू डिजाइन गर्दा पनि हामीले अरूभन्दा फरक मोडेल स्थापित गर्दै आएका छौं । हिजोका दिनमा बनाएका खाता कति सबल छन् ? कति डिक्लाइन फेजमा छन् ? भन्ने तथ्य राम्रोसँग हेर्ने गरिएको छ ।

डिक्लाइन फेजमा छन् भने त्यसलाई जीवित अर्थात् सञ्चालनयोग्य बनाइन्छ । रि–लन्च (पुनः सञ्चालन) र रिप्याकेजिङ गरी समयसापेक्ष बनाइन्छ । बजारको माग र आवश्यकतालाई आत्मबोध एवं सम्बोधन गरी सुविधाहरू थप गर्ने गरिएको छ ।

पछिल्लो समय बैंकले ल्याएको निक्षेपको रिटेल प्रोडक्टमध्ये पुस्तान्तर वा जेनेरेसन नेक्स्ट (जेन–एन) विशेष हो । यो युवाहरू अर्थात् १८ वर्षदेखि ४० वर्ष उमेर समूहलाई लक्षित गरी डिजाइन गरिएको छ । नबिलले ‘बैंकेबल पपुलेसन’लाई युवा भन्ने गरेको छ । अर्थात्, शारीरिकभन्दा मानसिकरूपमा सशक्त वर्गलाई युवा मानिएको छ । बैंकिङ कारोबार, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ गर्न सक्षम ७० वर्ष नाघेकै व्यक्तिहरू भए पनि बैंकका लागि युवा मानिन्छन् ।

यही र यस्तै समूहलाई लक्षित गरेर बैंकले जेन–एन एकाउन्ट सञ्चालनमा ल्याएको थियो । यसको नतिजालाई मूल्यांकन गर्दा त्यसले उद्देश्य हासिल गरिरहेको छ । जेन–एन एकाउन्ट सुरु गरेको एक वर्ष नपुग्दै १ लाख ग्राहकले ४ अर्ब रुपैयाँ निक्षेप जम्मा गरेका छन् । यो बैंकिङ क्षेत्रकै सबैभन्दा उत्कृष्ट निक्षेप खाता सावित भएको बैंकको अनुमान छ । सञ्चालनमा ल्याएको डेढ वर्षमा २ लाख जनाले जेन–एन खाता खोलेका छन् ।

अहिले बैंकसँग ३–४ वटा नयाँ बचत खाता पाइपलाइनमा छन् । यसबारे अध्ययन (सर्भे) भइरहेको छ ।

हाल बैंकको कूल ८ लाख ५० हजार निक्षेप खातामा १ खर्ब २९ अर्ब रुपैयाँ रकम संकलन भएको छ । कूल निक्षेप खातामा ‘जेन–एन एकाउन्टकै’ २५ प्रतिशत र कूल निक्षेपमा ७ प्रतिशत हिस्सा छ । यसलाई बैंकिङ क्षेत्रमा आएका अन्य निक्षेप खाताहरूले दिएको नतिजामा सर्वाेत्कृष्ट मान्न सकिन्छ ।

हिजोका दिनमा बचत होस् या मुद्दती अरू बैंकहरूको भन्दा नबिलको ब्याजदर २/३ प्रतिशत कम नै हुन्थ्यो । आफ्नो स्थायी ग्रोथ लिएकै थियो । वाणिज्य बैंकहरूका १२ वटा सूचकांकमा नबिल अगाडि देखिन्छ । गत आर्थिक वर्षसम्मको मुनाफाबाट हामीले ३८ प्रतिशत लाभांश घोषणा गरिसकेका छौं । सायद, यो वाणिज्य बैंकहरूले हालसम्म घोषणा गरेको मध्ये सर्वाधिक हो ।

अहिले राष्ट्र बैंकले दिएको १० प्रतिशत ‘ग्याप’ नीतिमा नबिलले अरू बैंकसरह ब्याज कायम गरेको छ ।

भोलि देशको आर्थिक, राजनीतिक अवस्था कस्तो रहन्छ ? बजारमा ब्याजदरको उतार चढाव के होला ? त्यसमा पनि बैंकले गर्ने व्यवसायमा प्रभाव पर्छ । यद्यपि, आजकै अवस्थालाई विश्लेषण गर्दा भोलिका दिनमा नबिल १२ बाट बढेर २४ वटा सूचकमा उत्कृष्ट बन्न सक्ने सम्भावना देखिन्छ ।

सुरक्षाको प्रत्याभूति
हामीले कसैलाई सापटी दिँदैछौं भने त्यो मानिसको आम्दानी, व्यवहार, सम्पत्ति र पारिवारिक/सामाजिक जिम्मेवारी तथा परिवेशको पनि ख्याल गर्छौं ।

नबिलले देशको समग्र परिवेश समेट्ने गरी आफ्ना प्रोडक्टहरू निर्माण तथा डिजाइन गरेर सञ्चालनमा ल्याएको छ । बाल बचतदेखि सिनियर सिटिजन्स, ठूला, साना व्यापार व्यवसायदेखि आम्दानी सीमित भएका तलब खाता लगायत प्रोडक्टहरू ल्याइसकेको छ ।

नबिलले ग्राहक तिर्खाएको हो या शोखका लागि पेय पदार्थ पिउन खोजेको हो ? भन्ने बुझेर मात्र प्रोडक्ट पस्किने गरेको छ । सुरक्षा र विश्वासको सन्र्दभमा नबिल उत्कृष्ट ठहरिएको छ । रेटमा प्रतिस्पर्धा नगरी सुरक्षा र विश्वसनीयताका लागि काम गरिरहेको छ । आजको दिनमा पनि एकै पटक ८/१० अर्ब रुपैयाँ निक्षेप फिर्ता दिइरहेको छ । आवश्यक परेको बेलामा सोही परिमाणमा सहजै निक्षेप संकलन पनि गर्न सक्छ । भोलिका दिनमा पनि बैंकसँग यो क्षमता रहिरहनेमा द्विविधा देखिँदैन ।

बैंकबाट २/४ करोड रुपैयाँ निक्षेप फिर्ता दिनुपर्दा ट्रेजरीले नै सबै डिल गर्छ । एउटा बलियो प्रणालीमा सञ्चालन भएको हुँदा सबै अधिकार ग्राहकमा छोडिएको छ । ठूला बैंक भएकै कारण आज समग्र बैंकिङ प्रणालीमै तरलता समस्या भइरहँदा नबिलको हकमा १५/२० अर्ब रुपैयाँ निक्षेप घट्दा त्यस्तो देखिएको छैन ।

बैंकको पहिलो प्राथमिकता निक्षेपकर्ताको निक्षेपलाई सुरक्षित राख्ने र माग भएको समयमै फिर्ता दिने हो । नबिलले यसैलाई मुल मन्त्र मानेको छ ।

अहिलेको अवस्थामा बैंकमा रकम जम्मा गर्दा ‘माग गरेको समयमा बैंकले फिर्ता दिन सक्ला/नसक्ला ?’ भन्ने अधिकांश ठूला निक्षेपकर्तामा संकोच रहेको देखिन्छ । तर, नबिलका जुनसुकै निक्षेपकर्ताले त्यो संकोच मान्नुपर्ने अवस्था छैन । नबिलले निक्षेपकर्तालाई विश्वास दिलाउने भनेकै यसैमा हो । हामीले त्यसैलाई बजारमा ‘ब्रान्ड भ्यालु’ बनाएका छौं ।

GBIME

प्रतिक्रिया दिनुहोस्