Shikhar Insurance
National Life

घाटाको व्यापारः बैंकमा राखेको निक्षेप महिनैपिच्छे ५–५ अर्ब रुपैयाँ झिकेर तेल किन्दै निगम

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १२, शुक्रबार १६:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल आयल निगम घाटामा गएसँगै बैंकिङ प्रणालीबाट अर्बौं रुपैयाँको निक्षेप खोसिने भएको छ । बैंकिङ प्रणालीमा चरम तरलता संकट रहेका बेला निगमल आफूले राखेको संस्थागत निक्षेप झिक्न बाध्य भएसँगै यो विषय बैंकहरूका लागि टाउको दुखाई बनेको हो ।

निगमले गत आर्थिक वर्षसम्म वाणिज्य बैंकहरुमा कुल ३० अर्ब रुपैयाँ संस्थागत मुद्दती खातामा जम्मा गरेको थियो । चालु आर्थिक वर्ष लागेसँगै निगमले तेल किन्न १० अर्ब रुपैयाँ बैंकबाट झिकिसकेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

निगमले १० अर्ब रुपैयाँ ‘म्याच्युअर्ड’ भइसकेको मुद्दतीको पैसा झिकेर तेल खरिद गरेको हो । अब भने म्याच्युरिटीको समय नै नपुगेको मुद्दती खाताको पैसा निगमले झिक्ने भएको हो ।

अहिले निगमको तेल व्यापारमा २० प्रतिशत घाटा छ । अर्थात् २५ अर्बको पेट्रोलियम पदार्थ किनेर बेच्दा निगमले ५ अर्ब रुपैयाँ आफ्नो खल्तीबाट झिकेर हाल्नुपर्छ ।

यसअघि आर्थिक वर्ष २०७१/७२ देखि गर्दै आएको नाफा बचाएर राखेको सञ्चिति मुनाफाको रकम निगमले खर्च गर्न थालेको छ ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलका अनुसार २७ वटा वाणिज्य बैंकमा निगमको कुल १८ अर्ब रुपैयाँ निक्षेप बाँकी छ । निगम विगत १ वर्षदेखि घाटामा छ । चालु आर्थिक वर्षको ३ महिनामा मात्रै १० अर्ब रुपैयाँ बैंकबाट झिक्नुपरेको छ ।

‘यदी अहिलेकै घाटादर कायम रहने हो भने बैंकमा रहेको हाम्रो बाँकी पैसाले ४ महिनामात्र तेल किन्न पुग्छ,’ कार्यकारी निर्देशक पौडेलले सिंहदरबारसँग भने, ‘हामीले मासिक करिब ५ अर्ब रुपैयाँका दरले बैंकमा राखिएको पैसा नकाल्ने छौं ।’ त्यसका लागि बैंकहरुलाई मुद्दती निक्षेप नवीकरण नगर्न भनिसकेको पनि उनले जानकारी दिए ।

निगमले नेपाल बैंकर्स संघमै आफू घाटामा गएको हुँदा बाँकी रकम पैसा समयनै नपुगी झिक्ने हुँदा ‘प्रिम्याच्योर लिक्विडेसन’का लागि आग्रह गरेको हो ।

बैंकर्स संघका उपाध्यक्ष अनिल उपाध्यायले निगमले तेल खरिद गर्न भुक्तानीमा समस्या भएपछि बैंकमा राखेको पैसा समयभन्दा अगावै झिक्न लागेको बताए । ‘निक्षेपकर्ताले केही प्रतिशत चार्ज तिरेर समयभन्दा अघि निक्षेप झिक्न पाउँछन्,’ संघका उपाध्यक्ष उपाध्ययले भने, ‘अहिलेको अवस्थामा बैंकबाट पैसा झिक्दा समस्या होला भनेर उहाँहरुले पूर्व जानकारी संघमार्फत् गराउनु भएको छ ।’

२७ वटा वाणिज्य बैंकमा निगमको कुल १८ अर्ब रुपैयाँ निक्षेप बाँकी छ । जसमध्ये ३ सरकारी बैंकमा ८ अर्ब रुपैयाँ र अन्य निजी क्षेत्रका बैंकहरुमा १० अर्ब रुपैयाँ मुद्दती छ ।

निगमले राष्ट्रिय वाणिज्य बैंकमा ४ अर्ब रुपैयाँ, कृषि विकास बैंकमा २ अर्ब र नेपाल बैंकमा २ अर्ब रुपैयाँ मुद्दती खातामा जम्मा गरेको छ । साथै, अन्य २४ वटा निजी क्षेत्रका बैंकमा २५ करोड रुपैयाँदेखि १ अर्ब रुपैयाँसम्म संस्थागत मुद्दती निक्षेपमा पैसा जम्मा गरेको छ ।

बैंकमा रहेको १८ अर्ब रुपैयाँ रित्तिएपछि निगमसँग तेल किन्ने पैसा नै हुँदैन । त्यसपछि सरकारले तेल किन्न निगमलाई पैसा दिनु पर्छ वा लगानीकर्ताले पैसाको जोहो गरिदिनुपर्छ । निगमले प्रणालीबाट अर्बौ रुपैयाँ झिक्ने भएपछि वाणिज्य बैंकहरुले राष्ट्र बैंकसँग तरलता व्यवस्थापनको लागि छलफल गरिसकेका छन् ।

यता केन्द्रीय बैंक भने निगमले क्रमिक रुपमा त्यतिको रकम झिक्ने बताउँछ । नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल भन्छन्, ‘क्रमिक रुपमा पैसा प्रणालीबाट पैसा बाहिरिने हो । यदी समस्यै परे मौद्रिक उपकरण प्रयोग गरी लगानीयोग्य रकम अभाव हुन दिइने छैन ।’

GBIME

प्रतिक्रिया दिनुहोस्