Shikhar Insurance
National Life

यी ३ गम्भीर आरोपमा युवा परिषद, खेलकुद परिषद र स्वरोजगार कोषका प्रमुखहरु हटाइँदै

सिंहदरबार संवाददाता
२०७८ आश्विन २२, शुक्रबार १८:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले राष्ट्रिय युवा परिषद, राष्ट्रिय खेलकुद परिषद र युवा तथा साना व्यवसायी स्वरोजगार कोषका प्रमुखहरुलाई हटाउने तयारी थालेको छ । कार्य सम्पादन सम्झौता अनुसार काम नगरेको, आर्थिक अपलचलन गरेको तथा आफ्ना क्षेत्रमा मात्रै कार्यक्रम थुपारेको आरोप लगाउँदै सरकारले यी तीन निकायका प्रमुखहरुसँग स्पष्टीकरण सोधेको हो । पहिलो चरणको स्पष्टीकरण चित्त बुझ्दो नभएपछि सरकारले पुनः जवाफ मागिसकेको छ ।

सो जवाफ समेत चित्त नबुझेमा उनीहरुलाई बर्खास्त गर्न सकिने प्रावधान छ । केपी ओली सरकारले नियुक्त गरेका राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल र युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. कल्याण रोक्कालाई देउवा सरकारले हटाउने निधो गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनीहरुलाई असोज १४ गतेको मन्त्रिपरिषद बैठकले ३ दिन भित्र स्पष्टीकरण पेश गर्न भनेको थियो । उनीहरुले असोज १८ गतेको मन्त्रिपरिषद बैठकमा स्पष्टिकरण पेश गरेका थिए । सो स्पष्टीकरणमा चित्त नबुझेपछि सरकारले सोही दिन पुनः स्पष्टीकरण मागेको थियो ।

श्रोतका अनुसार अब बस्ने मन्त्रीपरिषद बैठकले यी तिनै संस्थाका प्रमुखहरुलाई बर्खास्त गर्नेछ । ‘उहाँहरुलाई हटाउने निश्चित जस्तै भैसकेको छ, औपचारिकताका लागि प्रक्रिया पुरा गरिएको मात्रै हो, ओलीको पार्टीका कार्यकर्ताहरुलाई मात्रै पोस्ने काम गरेका तथ्यहरु भेटेपछि नयाँ सरकार त्यस्तो निचोडमा पुगेको हो,’ उच्च श्रोतले सिंहदरबारलाई भन्यो ।

यी तीन संस्था ओलीका कार्यकर्तालाई श्रोत साधन उपलब्ध गराउने अखडा बनेको भन्दै विगतदेखि नै आलोचनाको केन्द्रमा रहँदै आएका थिए । ‘ती संस्थामा श्रोत साधनको यस्तो दुरुपयोग भएको रहेछ की प्रारम्भिक प्रतिवेदनले नै सबै चकित भएका छन्’, श्रोतले भन्यो ।

यी तिनै संस्थाका प्रमुखहरुले कार्य सम्पादन सम्झौताको ५० प्रतिशत भन्दा कम काम हुनुमा कोरोना महामारीलाई कारण देखाएर जोगिने प्रयास गरेका छन् । आर्थिक अपलचनका विषयमा सोधिएको प्रश्नमा भने तीनै जनाले कुनै जवाफ पेश गरेका छैनन् ।

सरकारको बिशेष अनुरोधमा महालेखा परिक्षकको कार्यालयबाट यी तीनै संस्थामा असोज ८ देखि ११ गतेसम्म लेखा सम्बन्धी जाँच गरेको थियो । सो जाँचका क्रममा ढुंगेल, सिलवाल र रोक्काले व्यापक मात्रामा आर्थिक अनुशासन उल्लंघन गरेको प्रारम्भिक तथ्य उजागर गरि महालेखाले सरकारलाई जानकारी गराएको थियो ।

ढुंगेलले एमाले भित्र पनि देशभरका ओली गुटका कार्यकर्तालाई समेट्ने गरि कार्यक्रम गरेका थिए । त्यस्तै सिलवालले पनि ओली गुटलाई प्रश्रय पुग्ने गरि कार्यक्रमहरु अघि सार्दै आएका थिए । सिलवाल माथि दक्षिण एसियाली खेलकुद प्रतियोगीता(साग) र राष्ट्रिय खेलकुदमा समेत आर्थिक अनियमिता गरेको आरोप लाग्दै आएको छ ।

खोटाङका डा. रोक्काले नियम मिचेरै दर्जनौं कार्यक्रम गृहजिल्लामा लगेका छन् । खोटाङका प्रतिनिधी सभा सदस्य विशाल भट्टराईलाई सहयोग पुग्ने गरि सैयौं कार्यकर्तालाई ऋण दिएको तर असुलीका लागि कुनै चासो नदेखाएको तथ्य फेला परेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्