काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत काठमाडौं किङ्स इलाभेन र विराटनगर वारियर्सबीचको आज (सोमबार) को पहिलो खेल स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विहान ९:३० बजे हुने खेल आइतबार परेको पानीले मैदान ओसिलो भएका कारण स्थगित भएको हो ।
यसअघि निर्धारित समयमा खेल सुरु नभएपछि ओभर समेत घटाएर खेलाउने जनाइएको थियो । तर, अन्तिमसम्मै मैदान खेल्नलायक नभएपछि रद्द गरिएको हो ।
काठमाडौंले पहिलो खेलमा साबिक विजेता ललितपुर प्याट्रियट्सलाई हराएको थियो । यता, विराटनगर भने चितवनसँग पहिलो खेलमा पराजित भएको थियो ।
जारी इपिएलको मुख्य आकर्षक बनेका पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीको आज अन्तिम खेल थियो । पाकिस्तानका पूर्व कप्तान समेत रहेका अफ्रिदी इपिएलमा दुई खेल खेल्न काठमाडौं आएका थिए । शनिवारको पहिलो खेलमा उनले तीन ओभर बलिङ गरेका थिए ।
त्यस दिनको खेलमा उनले ब्याटिङ गर्न पाएका थिएनन् । आज हुने भनिएको दोस्रो खेल पनि रद्द भएसँगै उनी इपिएलमा ब्याट नै नछोइ स्वदेश फर्कने भएका छन् । उनी आजै पाकिस्तान जाँदैछन् ।
प्रतिक्रिया दिनुहोस्