Shikhar Insurance
National Life

बजेटमा हानका यस्ता माग, मन्त्री भन्छन्ः होटलका पिडा बुझेको छु, सक्दो सहयोग गर्छु

सिंहदरबार संवाददाता
२०७८ भाद्र १६, बुधबार १६:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । होटल संघ नेपाल (हान)की अध्यक्ष सृजना रणाले अर्थमन्त्री जनार्दन शर्मासँग भेटी होटल उद्योगले भोगिरहेको समस्या र अति प्रभावित यस उद्योगलाई संरक्षण गर्न सुझाव प्रस्तुत गरेकी छन् । अध्यक्ष राणाले कोभिड–१९ का कारण पर्यटन उद्योग विशेष गरी होटल उद्योग नराम्रोसँग थला परी व्यवसाय पलायन हुन थालेको बताइन् ।

राणाले होटल उद्योगमा खरबौंको लगानी रही बढी भन्दा बढी रोजगारी उपलब्ध गराउने र राज्यको कानुनी दायराभित्र रहेर सञ्चालनमा रहेका होटल उद्योगको संरक्षण तथा सम्बद्र्धन गर्नु राज्यको पनि उत्तिकै दायित्व रहेको हुँदा आर्थिक वर्ष २०७८/७९ को बजेटले सम्बोधन गरेका विषयहरु साथै मौद्रिक नीतिले सम्बोधन गरेका विषय कार्यान्वयनका लागि अनुरोध गरिन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हानले आव २०७८/७९ को बजेटमा होटल उद्योगलाई प्रदान गरेको उत्पादनमूलक उद्योग सरहको सुविधा प्रदान गर्ने गरी कार्यान्वयन गर्ने र औद्योगिक व्यवसाय ऐन २०७६ तथा आयकर ऐन २०५८ को ११(३) को परिभाषामा समेत राखी कार्यान्वयन गरिदिन माग गरेको छ । यस्तै होटल उद्योगलाई उत्पादनमूलक उद्योग सरहको विद्युत महसुल दर कायम गरी उपलब्ध गराउनुपर्ने, होटल उद्योगलाई उपलब्ध गराएको विद्युत डिमान्ड शुल्क छुट कार्यान्वनयमा आउन ढिलाई भएकोले अविलम्ब कार्यान्वयन गरिदिन हानको माग छ ।

सामाजिक सुरक्षा कोषमा सरकारको तर्फबाट सहुलियत योगदान रकम जम्मा भएकोमा राहत भएकोले यसलाई कम्तिमा १ वर्षसम्म निरन्तरता दिन हानले सुझाव दिएको छ । साथै, यो समयमा होटलहरुको तर्फबाट निरन्तरता हुन नसकेको हुँदा सामाजिक सुरक्षा ऐन र नियमावलीमा संशोधन गरी कोभिड महामारीको समयमा योगदानकर्ताले समयमा योगदान नगरेकै कारणले स्वास्थ्य लगायतका आपतकालीन सेवा लिनबाट बञ्चित नहुने गरी व्यवस्था गरिदिन हानले मन्त्री शर्मा समक्ष माग राखेको छ ।

निवर्तमान सरकारले ल्याएको अध्यादेश बजेट विस्थापित गरी अर्को बजेट ल्याउन गरी सरकारले प्रतिस्थापन विधेयकको तयारी गरिरहेको छ ।

हानले मौद्रिक नीतिका विषयमा पनि केही माग गरेको छ । आव २०७८/७९ को मौद्रिक नीतिमार्फत घोषणा गरिएको कार्यक्रमहरुको कार्यान्वयन, सहुलियत कर्जा प्रवाह, पुनर्तालिकीकरण लगायतका व्यवस्थाहरु होटल तथा पर्यटन उद्योगमा सहज र सरल रुपमा वितरण गर्दै कार्यान्वयन पक्षमा जोड दिनुपर्ने सुझाव संघको छ । होटल क्षेत्रको लागि लागू गरिएको सहुलियतपूर्ण १ प्रतिशत कर ५ वर्षको लागि लागू गरिनुपर्ने, यो समयमा अधिकांश होटलहरु पुनःनिर्माणको क्रममा रहेको हुँदा होटलमा आयात गरिने सामग्रीहरुमा विशेष भन्सार छुटको व्यवस्था गरिनुपर्ने माग संघको छ ।

साथै पर्यटन पुनरुत्थानको लागि विशेष आर्थिक योजना बनाई होटल उद्योगलाई फरक समूहमा राखी कार्यान्वयन पक्षलाई जोड दिई नियमित अनुगमन संयन्त्रको विकास गरिनुपर्ने पनि अध्यक्ष राणाले बताइन् ।

उक्त अवसरमा अर्थमन्त्री शर्माले कोभिड १९ बाट पर्यटन तथा होटल उद्योग अति प्रभावित भई धान्नै नसक्ने अवस्थामा पुगेको आफूले महसुस गरेको र यस उद्योगको संरक्षण गर्न राज्यले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

भेटघाट कार्यक्रममा होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाह, कार्यसमिति सदस्य राजन श्रेष्ठ तथा प्रमुख सञ्चालन अधिकृत टेकबहादुर महतको पनि उपस्थिति रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्