काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारी कर्मचारीहरुमा समर्पित भएर काम गर्ने प्रवृत्ति नरहेको बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा सांसदहरुलै उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । सांसदहरुले निजी एयरलाइन्सहरुले कम जनशक्तिमै नाफामा एयरलाइन्स सञ्चालन गर्ने तर नेपाल एयरलाइन्सले धेरै जनशक्ति राख्दा पनि किन सुधार र नाफामा लैजान नसकेको भन्दै प्रश्न गरेका थिए ।
मन्त्री पाण्डेले ग्राउण्ड ह्याण्डलिङको काम नेपाल एयरलाइन्सले नै गर्नुपर्ने भएकाले बढी जनशक्ति लागेको बताए । तर सरकारी कर्मचारीहरुमा समर्पित भएर काम गर्ने भावनामा कमी रहेको बताए । सुशासनको यस पाटोलाई सच्याउन जरुरी रहेको उनको भनाइ छ ।
मन्त्री पाण्डेले भने, ‘हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सको कुरा पनि गर्नुभयो । ग्राउण्ड ह्याण्डलिङको काम नेपाल एयरलाइन्सले गर्नुपर्छ । ग्राउण्ड ह्याण्डलिङको काम गर्दा निकै ठूलो जनशक्ति चाहिन्छ । जस्तो हाम्रो यहीँ टिआइएमा ९५ लाख लगभग ओहोरदोहोर भयो, यात्रुहरु । ग्राउण्ड ह्याण्डलिङ नेपाल एयरलाइन्सले आफ्नो मात्रै होइन, हिमालयनदेखि अधिकांशका गर्नुपर्छ । सरकारी काम र गैरसकारी वा निजी काममा फरक छ । सरकारी काममा मान्छेहरु यसैपनि भनेजस्तो समर्पित भएर काम नगर्ने । कम भन्दा कम म्यानपावरले निजी क्षेत्रले त्यसलाई सदुपयोग गरेको देखिन्छ । यो सुशासनकै पाटो हो । सुशासनमा सुधार गर्नुपर्ने नै पाटो हो ।’
मन्त्री पाण्डेले कर्मचारीको सेवा, शर्तसम्बन्धी नेपाल एयरलाइन्सको विनियमावली बनिरहेको बताए । आवश्यकता भन्दा बढी जनशक्ति राखेर नेपाल एयरलाइन्सलाई थप आर्थिक भार गर्नुहुँदैन भन्नेमा सरकारले गृहकार्य गरिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्