काठमाडौं । प्रभु बैंकको सञ्चालक समितिले पूर्णता पाएको छ । बिहिबार बसेको सञ्चालक समिति बैठकले अध्यक्षमा किशोर जंग कार्कीलाई चयन गर्दै स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याललाई मनोनित गरको हो । अध्यक्ष र स्वतन्त्र सञ्चालक मनोनित भएसँगै प्रभु बैंकको सात सदस्यीय सञ्चालक समितिले पूर्णता पाएको हो ।
बैंक सञ्चालक समितिको अध्यक्ष बनेको कार्की पब्लिक सेयर होल्डरका तर्फबाट सञ्चालक समितिमा थिए । अब कार्की अध्यक्षसँगै संस्थापक सेयरधनीहरुका तर्फबाट अंगिर मान सिहं, ब्रिख बहादुर बस्नेत र अम्बिका शर्मा सञ्चालक छन् । त्यस्तै, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सुरज कुमार श्रेष्ठ र राजु पौडेल सञ्चालक छन् ।
स्वतन्त्र विज्ञ सञ्चालकका रुपमा अर्याललाई बिहिबार नै नियुक्त गरिएको हो । अर्यालले यसअघि तत्कालिन एनसीसी बैंक र कुमारी बैंकको सीईओको जिम्मेवारी सम्हालेका थिए ।
बैंकको अध्यक्ष नियुक्त भएका कार्की नेपाल सरकारको सहसचिवबाट अवकास प्राप्त पूर्व कर्मचारी हुन् । सहसचिवका रुपमा उनले सम्पति शुद्धीकरण विभाग, आन्तरिक राजश्व विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अर्थमन्त्रालय लगाएका ठाउँमा काम गरेका थिए । ओखलढुंगामा जन्मिएका कार्कीले जन प्रशासनमा स्नातकोत्तर गरेका छन् ।
कार्कीले निजामति प्रशासनमा अब्बल र अनुशासित प्रकाशक मानिन्छ । कार्कीको अध्यक्षतामा बैंकको व्यवसायीक यात्रा अझै अब्बल बन्ने विश्वास सञ्चालक समितिले गरेको छ ।
स्वतन्त्र सञ्चालक बनेका रमेश राज अर्याल भने पूर्व बैंकर हुन् । उनीसँग तीन दशक भन्दा बढी बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । पछिल्लो समय अर्यालले एनसीसी बैंक र कुमारी बैंकको सफल मर्जरको नेतृत्व गरेका थिए । मर्जरपछि बनेको कुमारी बैंकमा उनले केहि समय सीईओको जिम्मेवारी सम्हालेका थिए । अर्यालले शंकरदेव क्याम्पसबाट प्रथम श्रेणीमा एमबिए गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्