काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न रुपन्देही–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा उम्मेदवार छनोट विधि अगामी आईतवारको सचिवालयबाट टुंग्याउने निर्णय गरेको छ ।
बिहीबार पार्टी कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । उनले उपनिर्वाचनका लागि योग्य उम्मेदवार छनोट गर्ने प्रस्तावमाथि व्यापक छलफल भएको बताए । बैठकमा प्राप्त सुझावका आधारमा उम्मेदवार छनोट कार्यविधि टुंग्याइने उनले जानकारी दिए । उनकाअनुसार बैठकले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनको माग कायमै राख्ने निर्णय पनि गरेको छ ।
उनले बैठकले छानबिन प्रक्रियालाई निष्पक्ष र विश्वसनीय बनाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान पुन: दोहोर्याएको बताए ।
बैठकका निर्णय सुनाउँदै उनले भने, ‘अगामी कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट योग्य उम्मेदवार छनोट गर्नको लागि आजको सचिवालय बैठकमा पेस भएको उम्मेदवार छनोट विधिमा व्यापक छलफल भयो । बैठकमा प्राप्त सुझावहरुलाई समेत समेटेर अगामी आईतवार हुने बैठकमा उम्मेदवार छनोट कार्यविधि अनुमोदनको लागि प्रश्तुत गर्ने निर्णय भएको छ ।’
बैठकले संसदको राज्य व्यवस्था समितिबाट पारित सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी प्रक्रियामा भएको हेरफेरलाई बदमासीपूर्ण र संसदको सार्वभौमिकतामाथि गम्भीर प्रहार भएको टिप्पणी पनि गरेको छ । पार्टीले विधेयकको कुलिङ अफ पिरियडमा गरिएको हेरफेरप्रति आपत्ति जनाउँदै सो प्रक्रियामा संलग्नहरूमाथि छानबिन गरी कारबाही गर्न संसदीय छानबिन समिति गठनको माग पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्