काठमाडौं । नेपाल स्कुल खेलकुद महासंघ र निजी तथा आवासीय विद्यालय संगठन नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच महासंघ र प्याब्सनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा महासंघका अध्यक्ष विनोद श्रेष्ठ, प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी र अन्तर्राष्ट्रिय स्कुल खेल महासंघका प्रतिनिधि राजकुमार कार्कीले हस्ताक्षर गरे । समझदारीसँगै निजी तथा आवासीय विद्यालयहरुमा खेलकुद कार्यक्रमको विकास, प्रवर्द्धन र समन्वयका लागि संयुक्त कार्य संरचना स्थापना गर्ने उद्देश्य लिइएको छ ।
विद्यार्थीमा शारीरिक स्वास्थ्य, सामुहिक भावना, अनुशासन र समग्र व्यक्तित्व विकासको लागि खेलकुदको महत्त्व महत्त्वपूर्ण रहेको प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए । सम्झौताअन्तर्गत पूर्वाधार विकास, प्रतियोगिता आयोजना, प्रतिभा पहिचान तथा शारीरिक शिक्षाको प्रवर्द्धनमा सहकार्य गरिने बताए ।
निजी तथा आवासीय विद्यालयहरुमा विद्यार्थीको खेलकुद तथा शारीरिक गतिविधिमा सक्रिय सहभागिता बढाउने, जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरमा एनएसएसएफ प्याब्सन कप, आइएसएफ प्याब्सन कप, आइएसएफ प्याब्सन कमब्याट गेम्स, आइएसएफ प्याब्सन गेम्स र स्कुल प्राइमर लिग लगायतका प्रतियोगिताहरु संयुक्त रुपमा आयोजना गरिने बताए।
निजी तथा आवासीय विद्यालयहरुमा खेलकुद उपकरण र संरचना सुधारमा सहयोग गर्ने, युवा खेलाडीलाई पहिचान गरी उनीहरुलाई विशेष तालिम र प्रतिष्पर्धामार्फत विकास गर्न आवश्यक अवसरहरु प्रदान गर्ने उद्देश्य राखिएको छ । सम्बन्धित पक्षहरुले खेलकुद कार्यक्रमहरुको लागि आवश्यक आर्थिक तथा भौतिक श्रोतहरुको परिचालनमा सहकार्य गर्नेछन् ।
सरकारी निकाय, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय निकायहरुसँग सहकार्य गरी श्रोत जुटाउने काम गरिने उनको भनाइ छ । कार्यक्रमहरुको प्रभावकारिता सुनिश्चित गर्न नियमित रुपमा संयुक्त अनुगमन तथा मूल्यांकन प्रणाली लागू गर्ने पनि जानकारी दिए । आवश्यक सुधार र रणनीतिहरुको पुनरावलोकन समय समयमा गरिने बताए ।
सम्झौता आजैबाट प्रारम्भ हुने र तीन वर्षको लागि मान्य हुने बताइएको छ । पक्षहरुको पारस्परिक सहमतिमा यसको अवधि नविकरण गर्न सकिने र कुनैपनि पक्षले सम्झौता समाप्त गर्न चाहे कम्तीमा ३० दिन अगाडि लिखित सूचना दिनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्