काभ्रेपलाञ्चोक । स्तरोन्नती भइरहेको अरनिको राजमार्गअन्र्तगत साँगा–धुलिखेल सडकखण्डको काम वर्षाका कारण रोकिएको छ । मनसुन बाहिरिएपछि पुन: काम सुचारु हुने आयोजनाले जनाएको छ ।
उक्त सडकखण्डको पुलबजार क्षेत्रमा भने स्थानीयको अवरोधका कारण चार महिनादेखि काम ठप्प अवस्थामा छ । उक्त क्षेत्रको करिब २ सय मिटर क्षेत्रमा विस्तारकार्य रोकिएको सडक विभागको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । कार्यालयका अनुसार धुलिखेलमा एक किलोमिटर मुख्य सडक पक्की गरिएपनि मनसुनका कारण थप पक्की गर्न सकिएको छैन ।
सबै सामग्री तयारी अवस्थामा रहेपनि वर्षाका कारण धुलिखेलबाट बनेपातर्फको सडक तथा बनेपास्थित जनागाल क्षेत्रमा एक किमी सडक पक्की नगरिएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले जानकारी दिए ।
खनालका अनुसार सडक बिस्तारसँगै बनेपा क्षेत्रमा करिब ५० वटा विजुलीका पोल हटाउनुपर्ने तथा २८ किलोमा एक घर हटाउने कामसमेत रोकिएको हो । बनेपा सहरको पूर्वीतर्फ चण्डेश्वरी खोलादेखि बनेपा चारदोबाटोसम्म करिब एक किमी सडकको डल निर्माणकार्य भइरहेपनि बर्षाका कारण काम नै ठप्प अवस्थामा रहेको छ ।
पुलबजार क्षेत्रमा भने ‘सेन्टर लाइन’को विषयलाई लिएर स्थानीयले अबरोध जनाएपछि चार महिनादेखि बिस्तारकार्यनै रोकिएको थियो । सेन्टर लाइनबाट दायाँबायाँ ७५/७५ फिट ९एक सय ५० फिट०मध्ये पनि एक सय ४० फिटमा काम भइरहेकोमा स्थानीयले दुवै तर्फका घरमा बराबर छुट्याउनुपर्ने विषयमा विवाद निकालेर निर्माणकार्य अबरुद्ध पारेका हुन् ।
सडकको डिजाइन अनुसारनै सडकको बीचबाट बराबर छुट्याउने भएकाले स्थानीयले घरको दुरीमा बराबर गर्नुपर्छ भन्दै विवाद सिर्जना गरेपछि निर्माणकार्य रोकिएको खनालले बताउन्भयो । उहाँका अनुसार पटकपटक गरिएको सरोकारवालासहित बनेपा नगरपालिकाका जनप्रतिनिधि र स्थानीयबीचको छलफलले कुनै निष्कर्ष निकाल्न सकेको छैन ।
स्थानीयको अवरोधसँगै मापदण्डभित्रका घर–टहरा हटाउनुपर्ने, बिजुलीको पोल बिस्तार, अप्टिकल फाइबर, हाइटेन्सनका पोल हटाउनुपर्ने काम रोकिएको जनाइएको छ । पुलबजार क्षेत्रमा अवरोधका कारण बनेपाको मुख्य सहर क्षेत्रमासमेत निर्माण कार्य रोकिँदै आएको थियो ।
यसैबीच अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यबिनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा बिस्तारको काम समयमै नसकिने भएको छ । आयोजनाले बाँकी करिब छ महिनाको अवधिमा बिस्तारको काम नसकिने जनाएको हो ।
विसं २०७९ पुस २४ बाट सुरु गरिएको १६ किलोमिटर लम्बाईको यस सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । उक्त सडकखण्ड सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरी सोहीअनुसार ठेक्का सम्झौता भई विस्तार भइरहेको थियो ।
हाल दुई खण्डको बिस्तारको काम ५० प्रतिशतको हाराहारीमा काम भएको आयोजनाले जनाएको हो । उक्त आयोजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव ४ किमी सडकखण्ड बिस्तारकार्यका लागि रु चार अर्ब पाँच करोड ६४ लाखका तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड रु तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको थियो ।
आयोजनाको सिनियर डिभिजनल इञ्जिनियर एवं सूचना अधिकारी सजना अधिकारीका अनुसार निर्धारित समयभित्र बिस्तारको काम नसकिने भएकाले समय थप्नुपर्ने देखिएको छ । उहाँका अनुसार मापदण्डभित्रका घर–ठहरा भत्काउन, रुख, विजुलीका पोल तथा अप्टिकल फाइबरको केबल प्रतिस्थापन गर्दा समयमा काम सुरु हुन सकको थिएन ।
यस्तै साँगाँ–धुलिखेल खण्डमा बनेपाको सहरी क्षेत्रमा पुललगायत व्यक्तिगत घरको विवाद तथा मापदण्डभित्रका घर भत्काउन नसक्दा ढिलाई भएको अधिकारीको भनाई छ । समयसीमासम्म करिब ६५ प्रतिशत भौतिक निर्माण हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्