काठमाडौं । नेपाली काँग्रेसका केन्द्रिय सदस्य महेश आचार्यले मुलुकलाई तिब्र आर्थिक रूपान्तरणको दिशामा अघि बढाउन सक्षम र प्रतिबद्ध नेतृत्वको आवश्यकता रहेको बताएका छन् । बुधवार पार्टी पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको १०२ औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।
अहिले देशलाई दैनिक १८ घण्टा काम गर्ने प्रधानमन्त्रीको खाँचो रहेको उनको टिप्पणी छ । उनले देशमा लोकतन्त्रको लडाइँ बाँकी नरहेकोले आर्थिक एजेण्डालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।
विश्व अर्थतन्त्रको हिसावले छिमेकी देशहरु चीन र भारत क्रमश: दोस्रो र तेस्रो स्थानमा रहेको उल्लेख गर्दै नेपालले अनावश्यक बहसमा अल्झिनु नहुने बताए ।
उनले भने, ‘अहिले देशलाई दैनिक १८ घण्टा काम गर्ने प्रधानमन्त्री चाहिएको छ । आर्थिक एजेण्डामा काम गर्ने प्रधानमन्त्री चाहिन्छ । नेपालमा अब लोकतन्त्रको लडाईको मुद्दा छैन । अब एउटै मुद्दा छ–यो देशलाई तिब्र गतिले विकासमामा लैजाने । यो किन पनि जरुरी थियो भने राष्ट्रियतासँग पनि जोडिएको छ ।’
‘छिमेकी देश भारत विश्वकै तेस्रो ठुलो अर्थतन्त्र भएको देश बन्ने प्रक्रियामा पुगेको छ । दोस्रो ठुलो अर्थतन्त्र छिमेकी मुलुक चीन छ । यी दुई देशहरुलाई एकीकृत गर्न छाडेर अनावश्यक टिप्पणी र बहस गर्नमा बस्यौं भने कसरी हामीले हाम्रो देशको अस्मिताको रक्षा गर्न सक्छौं ? देशको राष्ट्रियतालाई बलियो बनाउनका लागि पनि हामीले उर्जावान युवाहरुको उपयोग गर्न जरुरी छ । यसरी युवाहरुलाई विदेशमा प्रयोग हुन बाध्य पार्ने जुन काम भएको छ यसले देश कसरी अगाडि बढ्छ ?’ उनले उल्लेख गरे ।
आर्थिक सुधार र रोजगारी सिर्जना सरकारको प्रमुख प्राथमिकता हुनुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्