जनकपुर । राष्ट्रिय धान दिवसको अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सम्पूर्ण मधेशवासी र देशभरका किसानहरुलाई शुभकामना व्यक्त गरेका छन् । उनले आधुनिकखेती प्रणालीमार्फत किसानको जीवनस्तर उकास्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
मुख्यमन्त्री सिंहले कृषिलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा लिँदै खाद्यान्नमा आत्मनिर्भरता हासिल गर्न प्रदेश सरकारले ‘मधेशले देशलाई खुवाउने’ दीर्घकालीन अभियान अघि बढाएको बताएका हुन् । ‘उत्पादन मधेशमा, विस्तार देशमा’ भन्ने मूल नारालाई आधार मानेर कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्दै कृषिजन्य वस्तुको आयात घटाउने र निर्यात प्रवर्द्धन गर्ने सरकारको स्पष्ट रणनीति रहेको उनले उल्लेख गरे ।
उनका अनुसार धान उत्पादनलाई सुदृढ बनाउने लक्ष्यका साथ ‘दुई धान बाली प्रवर्द्धन कार्यक्रम’ कार्यान्वयनमा ल्याइएको छ । साथै माटोको उर्वरता सुधार, सिँचाइमा आत्मनिर्भरता, यान्त्रीकरण, विद्युतीकरण र व्यवसायीकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेको उनले जानकारी दिए ।
मुख्यमन्त्री सिंहले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्दै जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रवर्द्धनमार्फत धान बालीको दिगो विकास सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए । आधुनिक खेती प्रणालीको विस्तार, उन्नत बीउ, मल तथा सिँचाइ सुविधाको सहज पहुँचमा पुर्याउँदै किसानको जीवनस्तर उकास्न सरकार निरन्तर सक्रिय रहेको उनले उल्लेख गरे ।
‘राष्ट्रिय धान दिवसले हामी सबैलाई खाद्य सुरक्षामा आत्मनिर्भर बन्ने साझा सङ्कल्प र प्रेरणा मिलोस्’, उनले भने, ‘सम्पूर्ण किसान दाजुभाइ दिदीबहिनीप्रति सम्मानसहित शुभकामना व्यक्त गर्दछु ।’
प्रतिक्रिया दिनुहोस्