Skip to content
Shikhar Insurance
National Life

काभ्रेमा पनौतीबाहेक सबै स्थानीय तहले ल्याए बजेट तथा कार्यक्रम

Hyundai
NCELL
NIMB

काभ्रेपलाञ्चोक । यहाँका १३ स्थानीय तहमध्ये १२ ले तोकिएको समयभित्र नै आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । पनौती नगरपालिकाले भने स्थानीय तह सञ्चालन ऐनमा भएको व्यवस्थाअनुसार तोकिएको समय असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेन ।

पनौतीमा समानीकरण सङ्ख्या नपुग्दाका कारण असार ९ गते नै सुरु भएको नगरसभा स्थगन गरिएको छ । सोमबार निर्धारित समयभन्दा करिब पाँच घण्टा ढिला सुरु गरिएको बजेट अधिवेशन राष्ट्रिय गानलगत्तै नगरप्रमुख रामशरण भण्डारीबाट स्थगित गरिएको हो । नगर उपप्रमुख गीता बञ्जारा, वडा नं ७ का वडाध्यक्ष तथा नगरसभा सदस्य अनुपस्थित भएपछि बैठक स्थगित गरेको घोषणा गरिएको थियो । कार्यपालिकामार्फत विधि र प्रक्रिया सबै पूरा गरिए पनि अन्तिम समयमा अनुपस्थित भएकाले बैठक स्थगित गर्न बाध्य भएको भण्डारीले बताए ।

बञ्जाराले कार्यपालिकामा भएको सहमतिभन्दा विपरित करिब रु पाँच करोड बजेट थप भएर आएकाले बैठकमा सहभागी नभएको बताए । जम्मा ६२ सदस्यीय नगरसभामा नगर प्रमुख, वडा नं ४ का वडाध्यक्षसहित २१ जना नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) बाट एक वडाध्यक्ष छन् । उपप्रमुखसहित ४० जना एमालेबाट निर्वाचित छन् ।

धुलिखेल नगरपालिकाले असार ५ गते नै अर्ब १८ करोड ४८ लाख ५० हजार, असार ६ गते बनेपा नगरपालिकाले रु एक अर्ब २४ करोड ६५ लाख १३ हजार २८६, असार ९ गते नमोबुद्ध नगरपालिकाले ८० करोड ७३ लाख २३ हजार १६० तथा महाभारत गाउँपालिकाले ६० करोड १३ लाख एक हजारको बजेट गाउँसभामा प्रस्तुत गर्‍यो ।

मङ्गलबार एकै दिन जिल्लाका दुई नगरपालिका र छ गाउँपालिका गरी आठ स्थानीय तहले नीति तथा कार्यक्रमसहित बजेट ल्याएका हुन् । पाँचखाल नगरपालिकाले ८२ करोड ५१ लाख ८४ हजार ८०२ र मण्डनदेउपुर नगरपालिकाले रु एक अर्ब १० करोड ७५ लाख ४५ हजार ५५९ को बजेट प्रस्तुत गरे ।

यस्तै रोशी गाउँपालिकाले ७२ करोड चार लाख ३७ हजार, बेथानचोकले ६४ करोड ७३ लाख पाँच हजार २४३, भुम्लुले ६२ करोड ९१ लाख ३९ हजार र चौरीदेउरालीले रु ६९ करोड पाँच लाख पाँच हजारको बजेट आगामी आर्थिक वर्षको लागि प्रस्ताव गरेका हुन् ।

यसैगरी तेमाल गाउँपालिकाले ५३ करोड १२ लाख ६४ हजार ६४० र खानीखोलाले रु ५२ करोड २३ लाख ३२ हजार ३५३ को बजेट प्रस्ताव गरेका छन् । आन्तरिक आय कमजोर भएका जिल्लाका स्थानीय तहले भने सङ्घीय समपूरक र विशेष अनुदानकै आधारमा बजेट निर्माण गरेको जनाएका छन् ।

केही तहले भने नयाँ कार्यक्रम समावेश गरेको पाइएको छ । नमोबुद्ध नगरपालिकाले नमोबुद्ध मन्दिर परिसरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक पहल गर्ने र मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोगी, मेरुदण्ड पक्षघातका बिरामीका लागि औषधी उपचार खर्चबापत मासिक रु पाँच हजारका दरले प्रदान गर्ने, बनेपाले सहकारी सुधारदेखि रात्रिकालीन व्यवसाय सञ्चालन, खानीखोलाले गर्भवतीलाई ‘झण्डा र अण्डा’, रोशीमा एकल पुरुषलाई मासिक भत्ता दिन प्रस्ताव गरिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE