काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले देशमा सुशासन बिग्रिएको बताएका छन् । बुधबार राज्य व्यवस्था समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
उनले जनतामा विश्वास डग्मगाएको बताउँदै भातको गाँस खाँदा पनि सुरक्षा निकायको आवश्यकता महशुस गरिएको ठाउँमा सुरक्षाका निकायप्रति जनताले विश्वास गुमाउँदै जाने परिस्थिति निर्माण हुनु दु:खद् भएको बताए ।
संघीयताको आधारमा देश नचल्ने हो भने अहिलेका विकृति नहट्ने बताउँदै सांसद अधिकारीले भने, ‘देशमा सुशासन बिग्रिएको छ । जनतामा विश्वास डग्मगाएको छ । प्रहरी आज, सुरक्षा निकायको आवश्यकता भातको गाँस खाँदा पनि प्रहरीको आवश्यकता छ । हाम्रो जीवन त्यस्तो भएको छ । घरमा श्रीमान श्रीमतीको झगडामा पनि प्रहरीको आवश्यकता छ । सामाजिक अवस्था यसरी विकास भएको छ । ढिलो गरी विधेयक आयो तर आएकोमा राम्रो भएको छ । अब ढिलाइ हुनु हुँदैन । हामी संघीय लोकतान्त्रिक पद्धतिमा प्रवेश गरेका छौँ । संघीयताको आधारमा नचल्ने हो भने अहिलेका बेथिति हट्दैनन् । यि बेथितिहरु सिर्जना भएको यसै कारणले हो ।’
सांसद अधिकारीले कानूनको अभावले प्रहरी निकाय नै चेपुवामा परेको बताउँदै जनतामा विश्वास पैदा गराउनु आवश्यक रहेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्