काठमाडौं । वाणिज्य बैंकहरुले सेयर बजारमा लगानी गरेपछि तुरुन्तै बिक्री गर्न पाउने माग राखेका छन् । वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृत (सिइओहरु) ले राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसँग यस्तो प्रस्ताव गरेका हुन् ।
आगामी आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति तयारीका क्रममा गभर्नर पौडेलले क, ख, ग र घ वर्गका बैंकहरुका सिइओहरुलाई बोलाएर तीन घण्टासम्म बैंक तथा वित्तिय संस्थाको समस्याहरु सुनेका थिए ।
सो क्रममा वाणिज्य बैंकहरुका सिइओहरुले सेयर खरिद गरेर बिक्री गर्ने समय अवधि हटाउन माग गरेका हुन् ।
छलफलमा सहभागी भएका एक वाणिज्य बैंकका सिइओले भने, “बैंकहरुको कोर क्यापिटलको १ प्रतिशत सेयर खरिद गर्न पाउने कानुन छ, तर सेयर किनेपछि बिक्री गर्न ३६५ दिन कुर्नुपर्छ, यसबाट बैंकहरुलाई अन्याय भएको महसुस गरेका छौं, यसकारण यो सिमा परिमार्जन हुनुपर्छ ।”
बैंकहरुलाई १ वर्षे लकइन पिरियड हटाउँदा सेयर बजार चलायमान हुने ती सिइओको भनाई छ । राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिबाट बैंक तथा वित्तीय संस्थाहरुले सेयर बजारमा गर्ने लगानी सम्बन्धी कडाइ हटाइने ती सिइओले आशा राखेका छन् ।
राष्ट्र बैंकले २०७८ सालको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंकहरुलाई सेयर र डिबेञ्चरमा लगानी गरेपछि बिक्री गर्न एक वर्षको समयावधि तोकेको थियो । यसले बैंकहरुलाई सेयर बजारमा अल्पकालीन लगानी गर्न गर्न अवरोध सिर्जना गर्नुका साथै यसै व्यवस्थाले सेयर बजार समेत चलायमान नभएको बैंकहरुको गुनासो लगानीकर्ताहरुको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले उक्त नीतिले बजारको तरलता र सेयर बजारलाई नै प्रभाव पारेको आलोचना गर्दै आएका छन् । बैंकहरुले यस व्यवस्था खारेज गरी बैंकहरुले सेयर बजारमा अल्पकालीन कारोबार गर्न पाउँने नीति अपनाउन राष्ट्र बैंकसमक्ष माग गरेका छन् ।
सेयर धितो कर्जामा बैंकहरुको हिस्सा
राष्ट्र बैंकले सार्वजनिक गरेको बैशाख मसान्तसम्मको विवरण अनुसार २० वाणिज्य बैंकले १ खर्ब ३ अर्ब १३ करोड ७७ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् ।
बैशाख मसान्तसम्म नबिल बैंकले १४ अर्ब ५९ करोड ३५ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकले ११ अर्ब ५९ करोड १४ लाख रुपैयाँ, कुमारी बैंकले ९ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ, नेपाल बैंकले ७ अर्ब ७७ करोड १९ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् ।
त्यस्तै, चालु आवको १० महिनामा राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब ७३ करोड ३९ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब २७ करोड ४४ लाख रुपैयाँ, हिमालयन बैंकले २ अर्ब ४४ करोड ८९ लाख रुपैयाँ नेपाल एसबीआई बैंकले ६१ करोड ४३ लाख रुपैयाँ, एभरेष्ट बैंकले २ अर्ब ९० करोड ८८ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार एनआइसी एशिया बैंकको २ अर्ब १७ करोड ६१ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको १ अर्ब ८९ करोड ६४ लाख रुपैयाँ, लाक्ष्मी सनराइज बैंकको ५ अर्ब ४५ करोड १६ लाख रुपैयाँ, सिद्धार्थ बैंकको ७ अर्ब ८६ करोड १० लाख रुपैयाँ लगानी गरेका छन् ।
यसैगरी, कृषि विकास बैंकको ३ अर्ब ३९ करोड ७९ लाख रुपैयाँ, सिटिजन्स बैंकको ६ अर्ब ७९ करोड ९६ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकको ७ अर्ब ८२ करोड १४ लाख रुपैयाँ, एनएमबी बैंकको २ अर्ब २ करोड ९१ लख रुपैयाँ, प्रभु बैंकको ४ अर्ब ७० करोड ३१ लाख रुपैयाँ र सानिमा बैंकको २ अर्ब ४८ करोड ९२ लाख रुपैयाँ रकम सेयर धितो कर्जामा प्रभाव भएको छ ।
प्रोभिजनले थलिदै बैंकहरु, साढे २ खर्ब बढी रकम फ्रिज, मौद्रिक नीतिबाट समय परिमार्जन गर्न दबाब
डिजिटल बैंकिङ बढेसँगै शाखा घटाउने योजनामा बैंकर, ‘इन्डष्ट्रीको २ अर्ब जोगिन्छ, कर्मचारी हटाउदैनौं’
प्रतिक्रिया दिनुहोस्