Skip to content
Shikhar Insurance
National Life

प्रोभिजनले थलिदै बैंकहरु, साढे २ खर्ब बढी रकम फ्रिज, मौद्रिक नीतिबाट समय परिमार्जन गर्न दबाब

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्र बैंकले लोन लस प्रोभिजनिङमा कडाई गर्दा वाणिज्य बैंकहरु अप्ठ्यारोमा पर्न थालेका छन् । नाफा गरेको ठूलो रकम प्रोभिजनमा छुट्याउनु पर्दा बैंकहरु अप्ठ्यारोमा पर्दै गएका हुन् ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको चैत मसान्तसम्ममा २० वटा वाणिज्य बैंकहरूले कर्जा नोक्सानीको लागि छुट्याइएको कुल लोन लस प्रोभिजन २ खर्ब ५४ अर्ब ४१ करोड २५ लाख रुपैयाँ पुगेको छ ।

वाणिज्य बैंकहरूले राष्ट्र बैंकसँग लोन लस प्रोभिजनको समयावधिमा लचीलोपन ल्याउन माग गरेका छन् ।

हाल लागू नीति अनुसार बैंकहरूले कर्जाको वर्गीकरण अनुसार २ महिनामा ५ प्रतिशत, ३ महिनामा २५ प्रतिशत, ६ महिनामा ५० प्रतिशत र १ वर्षमा १०० प्रतिशत प्रोभिजन राख्नुपर्छ । तर, बैंकहरूले उक्त अवधिमा संशोधन गर्दै समयावधिमा लचीलोपन ल्याउन माग गरेका हुन् ।

असार ३ गते नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले क ख ग र घ वर्गका सबै बैंक तथा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरुलाई बोलाएर आगामी मौद्रिक नीतिका बारेमा ३ घण्टा बहस गरेका थिए ।

बहसका क्रममा वाणिज्य बैंकका सिइओहरुले लोन लस प्रभिजनको समयवधिको विषयमा लचकता अपनाउन गभर्नर समक्ष आग्रह गरेका थिए ।

छलफलमा सहभागी एक सिइओले भने सिंहदरबारसँग भने, “हामीले लोन लस प्रभिजनिङमा विश्वमै सबैभन्दा कठिन नियम मानिरहेका छौं, छिमेकी देश भारतमा नै प्रोभिजनिङ सम्बन्धि निकै सजिलो व्यवस्था छ, यसकारण हामीले राष्ट्र बैंक समक्ष प्रभिजनिङमा परिमार्जन गर्न भनेका छौं।”

ती सिइओका अनुसार नेपाली बैंकहरुले दिएको ऋणमा धितोले लोनको अधिक भार थेग्छ । यसकारण प्रभिजनिङमा राष्ट्र बैंकले समय तालिका फेर्नुपर्ने ती सिइओको भनाई छ ।

बैंकहरुको प्रभिजनिङमा ठूलो रकम फस्दा बैंकको लाभासंमा समेत अस्वाभाविक फेरबदल हुने गरेको छ । कुनै वर्ष १५ देखि ४० प्रतिशतसम्म पुग्ने र कुनै वर्ष लाभांस दिनै नसक्ने अवस्था सृजना भैरहेको छ ।

बैंकहरूको प्रस्ताव अनुसार अब लस प्रोभिजनको समयावधि ६ महिनामा २५ प्रतिशत, १ वर्षमा ५० प्रतिशत र २ वर्षमा १०० प्रतिशत प्रोभिजनिङ गर्ने व्यवस्था हुनुपर्ने माग छ ।

कुन बैंकको कति छ प्रोभिजनिङ 

चैत मसान्तसम्म सबैभन्दा धेरै कुमारी बैंकले लोन लस प्रोभिजनका लागि रकम छुट्याएको छ । बैंकले २६ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ लोन लस प्रोभिजनको लागि छुट्याएको छ ।

त्यस्तै, नेपाल बैंकले ११ अर्ब २७ करोड ९६ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १३ अर्ब ८० करोड २३ लाख रुपैयाँ, नबिल बैंकले २० अर्ब १९ करोड ७८ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २२ अर्ब २२ करोड रुपैयाँ, स्टान्डर्ड चार्टर्ड बैंकले २ अर्ब ३२ करोड ६३ लाख रुपैयाँ लोन लस प्रोभिजनको लागि रकम छुट्याएका छन् ।

त्यसैगरी, लोन लस प्रोभिजनमा हिमालयन बैंकको १९ अर्ब ६१ करोड ९३ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकको ५ अर्ब २६ करोड ९३ लाख रुपैयाँ, एभरेष्ट बैंकको ३ अर्ब ७२ करोड ८७ लाख रुपैयाँ, एनआइसी एसिया बैंकको १२ अर्ब ७४ करोड ३० लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको ६ अर्ब १२ करोड ६९ लाख रुपैयाँ र लक्ष्मी सनराईज बैंकको १५ अर्ब ४८ करोड २१ लख रुपैयाँ जम्मा रहेको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार चैतमा सिद्धार्थ बैंकले ८ अर्ब २३ करोड ७५ लाख रुपैयाँ, कृषि विकास बैंकले १० अर्ब १५ करोड ३९ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकले २ अर्ब ८३ करोड ४४ लाख रुपैयाँ, सिटिजन्स बैंकले ८ अर्ब ६६ करोड २८ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकले १२ अर्ब ५५ करोड ३४ लाख रुपैयाँ, एनएमबी बैंकले ९ अर्ब ४९ करोड, प्रभु बैंकले १८ अर्ब ९० करोड ७५ लाख रुपैयाँ र सानिमा बैंकले ६ अर्ब ३१ करोड ७२ लाख रुपैयाँ लोन लस प्रोभिजनको लागि छुट्याएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्