काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता माधव सापकोटाले मुलुकमा सबैभन्दा ठूलो खाँचो सिस्टमको भएको बताएका छन् । आएतबार ललतिपुरमा आयोजित सद्गमय सिजन–२ समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सार्वजनिक यातायातदेखि अस्पतालदेखि सिंहदरबारभित्रै विभिन्न जटिलता, समस्या र चुनौतीहरूको रहेको बताउँदै मुलुकमा सिस्टमको खाँचो रहेको बताए । उनले विदेशी राष्ट्रहरूले गरेका प्रगति र उन्नतिसँग तुलना गर्दा धेरै निराश हुनुपर्ने स्थिति नरहे पनि सिस्टम भने नभएको जिकिर गरे ।
उनले एउटा नागरिकले सहजतापूर्वक अस्पतालमा गएर उपचार गर्न सक्ने अवस्था बनाउन नसकिएको बताए । उनले नेपालमा केही नभएको भन्ने बुझाइ गलत भएको बताउँदै पछिल्लो १० वर्षको अवधिको पूर्वाधार निर्माणदेखि मानव विकास सूचकाङ्कसम्म हेरेको खण्डमा फरक पाउने बताए ।
उनले बिस्तारै क्रमिक रूपमा विकासहरू हुँदै गएको दाबी गर्दै भने, ‘नेपालमा केही नभएको त्यस्तो कुरा पनि होइन । हिजो भर्खरै प्रधानमन्त्री ज्यूको उपस्थितिमा नयाँ संरचनाको उद्घाटन भएको छ । यसले हाम्रो समाजमा नयाँ रक्तसञ्चार गरेको छ । हामीले १० वर्षको बिचको समग्र पूर्वाधार निर्माण, मानव विकास सूचकाङ्कसहित अरू सबै कुराको हेर्यौ भने फरक पाउँछौँ । बिस्तारै क्रमिक रूपमा विकास सुधार हुँदै गएका छन् । तर, आजको समस्या के हो भने सार्वजनिक यातायात चढ्यो भने त्यो चढी साध्य छैन ।’
‘त्यसको जटिलता, समस्या र चुनौतीहरूको बारेमा, हस्पिटल गयो भने अरू प्रकारका चुनौतीहरू छन् । सिंहदरबारभित्रकै कुरा गर्ने हो भने अरू चुनौतीहरू छन्, सबै भन्दा ठुलो खाँचो भनेको हाम्रा देशमा सिस्टमको हो । विदेशी राष्ट्रहरूले गरेका प्रगति र उन्नतिसँग हामीलाई तुलना गर्दा धेरै निराश हुनुपर्ने स्थिति छैन । तर, हामीकहाँ सिस्टम छैन । एउटा नागरिकले सहजतापूर्वक अस्पतालमा गएर लाइन बसी कुपन लिएर उपचार गर्न सक्ने अवस्था हामीले बनाउन सकिरहेका छैनौँ । यहीँबाट हाम्रो कमजोरी छ’ उनले भने ।
उनले कसरी विधिमा बस्ने र विधिको विकासलाई संस्थागत गराउने विषयमा बहस हुनु जरुरी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्