कञ्चनपुर । खेलमैदान, कभर्ड हल र बस्ती जोगाउनका लागि शुक्लाफाँटा नगरपालिका–१० स्थित सनवोरा नदीमा जैविक तटबन्ध निर्माणको कार्य गरिएको छ । बाँसको प्रयोग गरी नदीले भू–क्षय गर्दै आएको ३०० मिटर क्षेत्रमा जैविक तटबन्ध निर्माणको कार्य गरिएको छ ।
उपकरणको सहायताले नदीमा बाँस गाडेर त्यसमा बाँसकै छेस्काले बुनेर जैविक तटबन्ध निर्माण गर्ने कार्य गरिएको नगरपालिकाको पूर्वाधार विकास शाखा प्रमुख दीपक धामीले बताए । जैविक तटबन्ध निर्माणका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सूचीकृत भई १०० दिनको रोजगारीका लागि छनोट भएका व्यक्तिहरुलाई परिचालन गरिएको उनले बताए ।
दक्ष कामदार, मेसिनरीको भाडा, इन्धन खर्च, बाँस खरिदलगायतका लागि नगरपालिकाले ५ लाख बजेट खर्च गरेको छ । नदीमा जैविक तटबन्ध निर्माण भएपछि खेलमैदानको सुरक्षासँगै हालै निर्माण भएको कभर्ड हल क्षेत्रको जग्गा भूक्षय हुनबाट रोकिने उनले विश्वास व्यक्त गरे । नदी छेउमै रहेको खल्ला बस्तीका बासिन्दालाई पनि नदीको बाढीबाट सुरक्षा हुने शाखा प्रमुख धामी बताए ।
‘बाँसको जैविक तटबन्ध उपयोगी, वातावरणमैत्री र कम लागतमै निर्माण हुन्छ’, उनले भने,‘कटान रोक्न, नदी तटीय क्षेत्रको प्राकृतिक पुन:स्थापना गर्न सहायक हुन्छ ।’ जैविक तटबन्ध निर्माण भएको क्षेत्रको तटीय क्षेत्रमा बोट बिरुवा, घाँसपात रोप्ने तयारी भइरहेको शाखा प्रमुख धामीले उल्लेख गरे । घाँस र बोटबिरुवाको जराले माटोलाई बाँधेर राख्ने कार्य गर्छ, भूक्षय हुन नदिने भएकाले त्यसका लागि कार्य अगाडि बढाइने उनले बताए ।
सस्तो र स्थानीय साधनस्रोतमै निर्माण हुने जैविक तटबन्ध वातावरणमैत्री र दीर्घकालीन संरक्षणको उपायका रुपमा रहेको शाखा प्रमुख धामीको भनाइ छ । सो क्षेत्रको भूक्षयको उच्च जोखिममा रहेको ठाउमा भने जलस्रोत तथा सिँचाइ विभागको १५ लाखको लागतमा ९० मिटर तारजाली र ढुङ्गाको तटबन्ध निर्माण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्