Skip to content
Shikhar Insurance
National Life

वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा ८ घण्टा लोड सेडिङ, उद्योगी आक्रोशित

Hyundai
NCELL
NIMB

वीरगञ्ज । वीरगञ्जका उद्योगी/व्यवसायीले अघोषित विद्युत् भार कटौती र विद्युत् कटौतीको समस्याले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योगधन्दा समस्यामा परेको गुनासो गरेका छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले औद्योगिक करिडोरमा दैनिक औषतमा आठ घण्टाभन्दा धेरै विद्युत् कटौती हुँदै आएको आरोप लगाए ।

‘बारा पर्सा औद्योगिक करिडोरमा विद्युत् आपूर्तिमा समस्या छ । औसत दिनको आठ घण्टा अघोषित विद्युत् भार कटौतीको सामना गर्दै आएका छौँ”, उनले भने, ँयहाँ दिनको १०–१२ पटक ट्रिपिङ हुन्छ । जसले गर्दा यस क्षेत्रका उद्योगले आफ्नो क्षमताको ३०/३५ प्रतिशत उत्पादनमात्र गर्न सकेका छन् ।”

अध्यक्ष गौतमले २०७५ सालमा औद्योगिक क्षेत्रको विद्युत् भार कटौतीमुक्तको घोषणा गरी नेपालभरि हर्षोल्लास मनाइएको छ–सात वर्ष नबित्दै पुन:पूर्ववत् अवस्था झैँ विद्युत् भार कटौती हुन थालेपछि उद्योगी/व्यवसायीलगायत सर्वसाधारणमाझ चिन्ता बढेको प्रेस विज्ञप्तिमा उल्लेख गरे ।

‘यस क्षेत्रमा सिमेन्ट, फलाम र स्टिल, पशुदाना, खाद्यान्न, औषधि, चुरोट आदिसहित करिब एक हजार २०० उद्योग छन् । उद्योगका लागि विद्युत् कच्चा पदार्थ हो । विद्युत् नभई उद्योग सञ्चालन हुन सक्दैन । यस क्षेत्रमा सहज विद्युत् आपूर्ति नभएकाले त्यसको असर मुलुकको अर्थतन्त्रमा नै नकारात्मक रुपमा परिरहेको छ”, अध्यक्ष गौतमले भने । सङ्घले विद्युत् आपूर्तिमा भएको हेलचेक्र्याइँका कारण उद्योग प्रतिष्ठानको करोडौँ रकमको औद्योगिक उपकरण खराब भइरहेको दाबी गरेको छ ।

नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेश दुबेले माग र आपूर्तिबीच सन्तुलन नहुँदा केही समय कटौती भए पनि उद्योगी/व्यवसायीले भनेजस्तो आठ घण्टा नै विद्युत् भार कटौती नभएको दाबी गरे । ँअत्यधिक गर्मीले माग र आपूर्तिबीच ताममेलमा केही समस्या छ”, उनले भने, ँसो समस्या समाधानका लागि आवश्यक प्रयास गरिरहेका छौँ ।” यो करिडोरमा दैनिक औषतमा ३०० मेगावाट विद्युत् आवश्यकपर्ने बताइन्छ ।

सङ्घमा महिला उद्यमशीलता सहायता कक्ष

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आजदेखि आफ्नो कार्यालयमा महिला उद्यमशीलता सहायता कक्षको शुभारम्भ गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले महिला सशक्तीकरण र आत्मनिर्भरता अभिवृद्धिका लागि उद्यमशीलता कक्षले मद्दत पुर्‍याउने बताए ।

सङ्घका अध्यक्ष गौतमले सङ्घले आगामी दिनमा महिला उद्यमीलाई आवश्यक सहयोग र सहजीकरण गर्दै उद्यमशीलता विकासमा जोड दिने धारणा व्यक्त गरे ।

वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले सहायता कक्ष सञ्चालनका लागि महानगर आवश्यक स्थान उपलब्ध गराउने भन्दै नगरपालिकाले यस्ता कार्यक्रमप्रति सधैं सकारात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सङ्घले स्थापना गरेको महिला उद्यमशीलता सहायता कक्षमार्फत महिलालाई व्यावसायिक सल्लाह, तालिम, जानकारी तथा प्रोत्साहन प्रदान गरिने महिला उद्यमशीलता सहायता कक्षका सहजकर्ता सञ्जु कलवारले जानकारी दिइन ।रासस

GBIME

प्रतिक्रिया दिनुहोस्