काठमाडौं । एग्रेसिभ रुपमा बैंकको शाखा विस्तार गरेका वाणिज्य बैंकहरु बैंक शाखा घटाउने योजनामा पुगेका छन् । बढ्दो डिजिटल बैंकिङ सँगसगै शाखाहरुमा धाउने ग्राहकहरुको संख्या घटेपछि शाखा घटाउने योजनामा बैंकहरु पुगेका हुन् ।
राष्ट्र बैंकको तथ्यांक अनुसार बैंकहरुले हालसम्म ५ हजार ५६ वटा शाखा सञ्चालनमा छन्। घट्दो आम्दानी र बढ्दो खर्चबिच बैंकहरु शाखा कटौति योजनामा पुगेका हुन् । शाखा कटौति गर्दा बैंक तथा वित्तिय संस्थाको वार्षिक २ अर्ब खर्च जोगिने हिसाब वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरुले निकालेका छन् ।
एक बैंकका सिइओले सिंहदरबारसँग भने, “डिजिटल बैंक प्रवर्द्धन गर्ने राष्ट्र बैंकको योजना छ, मोबाइल बैंकिङ र डिजिटल बैंकिङको प्रयोग बढेसँगै शाखामा आउने ग्राहकको संख्या पनि घट्दो छ, बैंकिङ पहुँच नबिग्रिने गरी शाखा घटाउन आवश्यक छ। सो शाखामा काम गर्ने कर्मचारीलाई अन्य काममा सिफ्ट गर्न सकिन्छ।”
ती सिइओका अनुसार २० वाणिज्य बैंकहरुले ४ सय वटा सम्म शाखा घटाउन सक्छन् । यसरी घटेको शाखाबाट बैंकिङ क्षेत्रको २ अर्ब खर्च जोगिने अनुमान छ । शाखा कटौतिबाट कर्मचारीहरुलाई अप्ठ्यारो नपर्ने बैंकरहरुको भनाई छ । वार्षिक २ हजारको संख्यामा बैंकरहरु पलायन हुने अवस्था छ ।
केहि वर्ष नयाँ कर्मचारी भर्ना रोक्दा कर्मचारीहरुलाई अप्ठ्यारो नपर्ने बैंकरहरुको भनाई छ । एक सिइओले भने, “शाखा घटाएर बैंकका कर्मचारीहरु पनि हटाउनेभ भन्ने होइन, शाखा कटौतिबाट आएका कर्मचारीहरुलाई अन्य काममा लगाउन पाइन्छ । यसले बैंकको काम गर्ने क्षमता समेत बढाउँछ । वर्षेनी बैंकिङ क्षेत्रबाट २ हजार कर्मचारीहरु पलायन हुन्छन् एक वर्ष नयाँ कर्मचारी नराख्ने हो भने कुनै समस्या हुँदैन।”
आउँदो मौद्रिक नीतिको समिक्षाबाट बैंक शाखा घटाउने बाटो खोल्न बैंकरहरुले माग समेत गरेका छन् । बैंकहरूका अनुसार एउटा शाखा सञ्चालन गर्न वार्षिक औसत ५० लाख रुपैयाँ खर्च लाग्ने देखिएको छ । शाखा संख्या बढेसँगै खर्चमा उल्लेख्य वृद्धि भए पनि आम्दानी र नाफा भने सो अनुसार नबढेको गुनासो बैंकहरुको छ ।
त्यसैले, अहिले वाणिज्य बैंकहरुले राष्ट्र बैंकसँग शाखा कटौती गर्न पाउने व्यवस्था मौद्रिक नीतिमा समावेश गर्न माग गरेका छन् । हाल बैंकहरुले ७ सय ५३ वटै स्थानीय तहहरुमा बैंक शाखा खोलिसकेका छन् ।
कुनै समय बैंकरहरु शाखा खोल्न एक आपसमा प्रतिस्पर्धामा नैं उत्रिएका थिए । उच्च ब्याजदर हुदाँ निक्षेप बढाउन धेरै शाखा भएका बैंकले फाइदा लिएका थिए । तर अहिले बैंक तथा वित्तिय संस्थामा निक्षेप बढी र कर्जा प्रवाह कम हुन थालेपछि शाखा कटौति योजनामा पुगेका हुन् ।
कुन बैंकको कति वटा छ शाखा
राष्ट्र बैंकको तथ्यांक अनुसार हालसम्म दुई वटा वाणिज्य बैंकहरुले ४ सय बढी शाखा सञ्चालन गरिरहेका छन् । सबैभन्दा धेरै शाखा भएको बैंकमा एनआइसी एसिया बैंक रहेको छ, जस्ले देशैभरीमा ४ सय ७९ वटा शाखा सञ्चालन गरिरहेको छ ।
त्यसैगरी, सबैभन्दा बढी शाखा सञ्चालन गर्नेमा ग्लोबल आइएमई बैंक दोस्रो नम्बरमा रहेको छ । बैंकले हालसम्म जम्मा ४ सय २४ वटा शाखा सञ्चालनमा ल्याइसकेको छ ।
त्यसैगरी, प्रभु बैंकको ३ सय ७७ वटा, राष्ट्रिय वाणिज्य बैंकको ३ सय ५४ वटा, कुमारी बैंकको ३ सय ५३ वटा र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ सय ३८ वटा शाखा रहेका छन् ।
त्यस्तै, देशभरीमा नेपाल बैंकको २ सय ९० वटा, नबिल बैंकको २ सय ८८ वटा, कृषि विकास बैंकको २ सय ८७ वटा, लक्ष्मी सनराइज बैंकको २ सय ८४ वटा, एनएमबी बैंकको २ सय १२ वटा, सिटिजन्स बैंकको २ सय वटा शाखा सञ्चालनमा आइसकेका छन् भने हिमालयन बैंकले १ सय ९७ वटा, सिद्धार्थ बैंकले पनि १ सय ९७ वटा, प्राइम कमर्सियल बैंकले १ सय ९४ वटा, माछापुच्छ्रे बैंकले १ सय ७८ वटा, सानिमा बैंकले १ सय ३३ वटा, एभरेष्ट बैंकले पनि १ सय ३३ वटा, नेपाल एसबीआई बैंकले १ सय २३ वटा र स्टान्डर्ड चार्टर्ड बैंकले १५ वटा शाखाहरु सञ्चालन गरी आम मानिसलाई सेवा प्रवाह गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्