काठमाडौं । नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरका नोट प्रचलनमा ल्याउने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आज (सोमबार) देखि साविककै आकार तथा रङ्गमा १० रूपैयाँ दरको बैंक नोट प्रचलनमा ल्याउने भएको हो ।
राष्ट्र बैंकका अनुसार सङ्केत नं द/३२ ०००००१ देखि प/९४ ९९९९९९ सम्म ‘नेपाल सरकारको जमानत प्राप्त यसको रूपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १० रुपैयाँ दश तुरुन्त पाइने छ ।’ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित नोट चलनचल्तीमा ल्याउने भएको हो ।
नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत र नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा विसं २०८१ लेखिएको हुने राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, नोटको पृष्ठ भागमा नोटकोे मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको, मध्य भागमा कृष्णसारको चित्र र तल्लो भागको बोर्डरमा अंग्रेजीमा रुपीज टेन र तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर अंग्रेजीमा ‘२०२४ एडी लेखिएको रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस अघि विसं २०७७ साल मंसिर १० गतेदेखि रुपैंया १० दर (सेरिज २०२०) को बैंकनोट सङ्केत नं ढ/८२ ०००००१ देखि द/४५ ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनी सूचना प्रकाशित गरिएकोमा सङ्केत नंढ/८२ ०००००१ देखि द/३१ ८००००० सम्म मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्