काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रको समग्र सुधार तथा सुदृढीकरणका लागि बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको छ । राष्ट्र बैंकले डा रेवतबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको हो ।
कार्यदलमा डा रेवतबहादुर कार्की संयोजक, भुवनकुमार बहाल सदस्य र नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक सदस्य सचिव रहेका छन् । उक्त कार्यदलको समयावधि एक महिनाको रहने राष्ट्र बैंकले जनाएको छ ।
उक्त समयावधिमा बैकिङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा, आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा, ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका सम्बन्धमा, बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका समस्याहरूको पहिचान तथा समाधानको सुझावका सम्बन्धमा, नेपाललाई ग्रे लिष्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका सम्बन्धमा र पुँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिका सम्बन्धमा कार्य सम्पन्न गर्न जिम्मेवारी प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्