काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका, काठमाडौँका तत्कालीन इन्जिनियर (उपनिर्देशक) रामबाबु महतो कोईरी विरुद्ध मुद्दा दायर गरेको छ । इन्जिनियर कोइरीले स्रोत नखुलेको सम्पति आर्जन गरेको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
कोइरीसँग कुल ७ करोड ९८ लाख ७६ हजार बराबरको धन सम्पति रहेको अनुसन्धानमा खुल्न आएको छ । आयोगको अनुसन्धानमा ३ करोड ३७ लाख ७९ लाख रुपैयाँको स्रोत भेटिन आएको र ४ करोड ५८ लाख ९७ हजार रुपैयाँको स्रोत नभेटिएको खुलेको छ । इन्जिनियर कोइरी क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ का वासिन्दा हुन् । उनले हाल जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. ४ चण्डोल बस्ने गरेका छन् ।
कोइरीले २०४६ बैशाख १९ गतेदेखि मिति २०७८ फागुन ३० गतेसम्म जागिर खाएका थिए । अनुसन्धानको क्रममा विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरु एवम् सहकारी संस्थाहरुबाट प्राप्त बैंक खाताको विवरण (Bank Statement), चेक भौचर लगायतका विवरणहरु, एभरेष्ट बैंक लिमिटेडबाट प्राप्त धितो मूल्यांकन प्रतिवेदन, भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजार, काठमाडौं र जनकपुरधाम, धनुषा, मालपोत कार्यालय, चाबहिल, काठमाडौंबाट प्राप्त जग्गा खरिद सम्बन्धी राजीनामा लिखत पारितका कागजातहरु परिक्षण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्