काठमाडौं । १६ औं अन्तर्राष्ट्रिय पूर्वाधार लगानी सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधि मण्डल मकाओ प्रस्थान गरेको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहसहित नेपाल लगानी बोर्डका सदस्यहरु, कार्यान्वयन समितिका सहसचिव सुशीलबाबु ढकाल लगायतको टोली मकाओ प्रस्थान गरेको हो ।
सम्मेलन जेठ २६ गतेदेखि ३० गतेसम्म मकाओमा हुँदैछ । प्रस्थान गर्नुपूर्व विमानस्थलमा कुराकानी गर्दै अध्यक्ष सिंहले चिनियाँ निर्माण व्यवसायीको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन लागेको बताए । उनले मकाओ सरकारको आयोजनामा हुन लागेको पूर्वाधार लगानी सम्मेलनमा नेपालले हरेक वर्ष भाग लिँदै आएको जानकारी दिए । नेपालमा लगानीका धेरै सम्भावना रहेको र लगानीको बारेमा आफूहरुले पैरवी गर्दै आएको बताए ।
नेपालमा लगानीको सम्भावनाबारे पनि एउटा सत्र आयोजना गरिएको र त्यसमा नेपालको तर्फबाट लगानीकको बारेमा जानकारी गराइने बताउँदै सबैलाई फाइदा हुनेगरी लगानी गर्न आवश्यक रहेको बताए ।
उनले भने, ‘हामीले प्रत्येक वर्ष चीन सरकारको निमन्त्रणामा चिनियाँ निर्माण व्यवसायीको निमन्त्रणामा यो सम्मेलन मकाओमा भइरहेको छ । मकाओ सरकारको आयोजनामा लगानी सम्मेलन हुन्छ । हरेक वर्ष हामीले भाग लिँदै गर्दा नेपालमा लगानीको उपयुक्त वातावरण छ । यहाँ लगानीको सम्भावना धेरै छन् । लगानीको बारेमा पैरवी गर्दै आएका छौँ । यस वर्ष विशेष गरी कार्यान्वयन समितिका सहसचिव सुशीलबाबु ढकालज्यु र नेपाल लगानी बोर्डबाट पनि केही सदस्य साथीहरु जाँदै हुनुहुन्छ ।’
‘उहाँहरुले नेपालमा लगानीको सम्भावनाबारे पनि एउटा सत्र छ । निर्माण व्यवसायी महासंघको नेतृत्व गर्दै मैले पनि सहभागिता जनाएको छु । लगानीमा सबैको शेयर भन्ने नारा छ । सबैलाई फाइदा हुनेगरी लगानी गर्न आवश्यक छ । त्यो लगानीमा सबै लगानीकर्ता, लगानी गर्ने मुलुक र त्यहाँका जनतालाई लाभ हुनेबारेमा छलफल गर्नेछौँ । ९ तारिकदेखि १३ सम्म मकाओमा यो समिट हुँदैछ, यो १६ औं सम्मेलन हो’ उनले भने ।
अध्यक्ष सिंहले हरेक वर्ष नेपालमा लागनीको सम्भावनाबारे पैरवी गर्दै आएको र अहिले कानूनको हिसावले पनि नेपालमा लगानी गर्न सहज बनेको भन्दै लगानी बढी भित्रनेमा आशावादी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्