काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा आउन नदिने संकेत गरेका छन् । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले पार्टीमा फलानो आउने भन्दै हल्ला गर्ने बिषय सह्य नहुने स्पष्ट पारे ।
पार्टी महाधिवेशन सुरु नहुँदै बिभिन्न समुह र नेताका नाममा गुटबन्दी सुरु भएको र त्यो स्वीकार्य नहुने घोषणा पनि गरे ।
‘अहिले हल्ला चलको छ, तल तल यो ग्रुप भनेका छन्, त्यो ग्रुप भनेका छन् । यसको कुनै आवश्यकता छैन । अर्को खेल हुन खोजेको छ यहाँ, फलानो आउने रे, यस्तो उस्तो । पार्टीमा कुनै छलफल भएको छैन, को अध्यक्ष को उपाध्यक्ष । महाधिवेशन घोषणा भएको छैन । बाहिर बाहिर हल्ला चलाएर पार्टीलाई कमजोर पार्न खोज्ने, पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्नेलाई निस्तेज पार्नुस् । स्टाटस सिस्टाटसलाई जवाफ दिनुस् ।’ प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले भने ।
पछिल्लो केहि समयदेखि एमालेकी पूर्व उपाध्यक्ष समेत रहेकी पूर्व राष्ट्रपति विद्या भण्डारीले पार्टी राजनीतिमा आउने गरि भेटघाट गरिरहेकी छिन् । एमालेका पूर्व महासचिव स्व. मदन भण्डारीकी पत्नि समेत रहेकी भण्डारीले आफु अहिले पनि सक्रिय राजनीतिमै रहेको बताउँदै आएकी छिन् । भण्डारीले एमाले अध्यक्ष बन्ने चाहना प्रकट गर्दै भेटघाट सुरु गरेपछि ओली चिडिएका छन् । ओली र उनी निकट मानिने महेश बस्नेत लगायतका नेताहरुले भने भण्डारीलाई पार्टीमा भित्र्याउन नहुने भन्दै सार्वजनिक अभिव्यक्ति दिईरहेका छन् । आइतबार ओलीले पनि भण्डारीलाई पार्टीमा स्वागत नगर्ने आसयसहितको अभिव्यक्ति दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्