काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ भनेको नेकपा एमालेलाई निर्णायक शक्तिको रुपमा विकास गर्नु रहेको बताएका छन् । अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशन उद्घाटन सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
विगतमा दुनियाँमै कम्युनिष्ट र समाजवादी आन्दोलन धरापमा परेको समयमा पनि जनताको बहुदलीय जनवादले नै आन्दोलनको रक्षा गरेको प्रधानमन्त्री ओलीको भनाई छ ।
उनले अबको १३ महिनापछि नेपाली काँग्रेसलाई नेतृत्व सुम्पिएर सरकारमा सामेल हुने र नेतृत्व सुम्पिएपछि आफूहरु मिसन ८४ मा लाग्ने स्पष्ट पार्दै अहिले पनि विपक्षी दलले अनेक जालझेल गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले एकता, फेरि एकता र सुदृढ एकता आफूहरुको आवश्यकता रहेको जिकिर गरे ।
प्रधानमन्त्री ओलीले गणतन्त्रको रक्षा गर्ने, सदृढ गर्ने र यसलाई गतिशील ढंगले सही बाटोमा अघि बढाउने जिम्मेवारी एमालेको काँधमा रहेको दावी गरे ।
उनले भने, ‘हिजो दुनियाँमा कम्युनिष्ट र समाजवादी आन्दोलन नै धरापमा परेको समयमा जनताको बहुदलीय जनवादले आन्दोलनको रक्षा गरेको हो । त्यतिबेला हामी सरकारमा हुने, सरकारको नेतृत्व गर्ने, सरकार सञ्चालन गर्ने, समग्र सामाजिक आन्दोलनको नेतृत्व गर्ने अभिभाष हामीसँग आएको थियो । एकता, फेरि पनि एकता र अझै सुदृढ एकता । आज हामीलाई त्यही आवश्यकता छ । एकता बिनाको संगठनले केही पनि गर्नसक्दैन । तपाईको संगठनमा १० लाख मान्छे भएपनि त्यहाँभित्र अनेक विविधता छ भने पनि आधाले एकातिर र आधाले अर्कोतिर तान्यो भनेपनि केही काम गर्दैन । हाम्रो पार्टीले सही नीति लिएको छ ।’
‘हामीले सही नीतिहरु लिएका छौं । विल्कुलै सही नीति लिएका छौं । सही सिद्धान्तद्वारा निर्देशित छौं । हामी सही रणनीति र कार्यनीतिबाट निर्देशित छौं । हामीले सही गन्तव्य तोकेका छौं, त्यसमा कस्ता कस्ता प्रभाव आउन सक्छन् भन्ने घुम्ति पनि देखेका छौं । हाम्रा सामु कस्ता चुनौति छन् भन्ने पनि हामीलाई थाहा छ । त्यसकारण सही नीति छँदैछन्, आवश्यकता छ नै, नीतिको समस्या हामीसँग छैन । सही र सफल कार्यान्वयनको छ किनकी यो देशमा लोकतन्त्र साँच्चैको लोकतन्त्र हामीले ल्याएका हौं’ उनले थपे ।
उनले पार्टीप्रतिको निष्ठा जस्तोसुकै कालखण्डमा पनि नछोड्न र सही विचार अंगालेर अगाडि बढ्न सम्पूर्ण विद्यार्थीहरुलाई आग्रह गर ।
प्रतिक्रिया दिनुहोस्