एजेन्सी । भारतको उत्तरपूर्वी राज्य आसाममा जारी बाढीबाट पाँच लाखभन्दा बढी मानिसहरू प्रभावित भएको अधिकारीहरूले बताएका छन् । बाढीले राज्यका २२ जिल्लाहरूलाई असर गरेको छ । अवस्था अझै पनि गम्भीर छ ।
आसाममा बाढीको अवस्था अझै पनि गम्भीर छ । २२ जिल्लाहरूमा ५ लाख १५ हजार ३९ जना बाढीको चपेटामा परेका छन् । एक जनाको मृत्यु भएको छ र दुई जना बेपत्ता भएको रिपोर्ट गरिएको छ । गत आईतवार राज्यमा १० जनाको मृत्यु भएको थियो ।
शनिवार भारी वर्षापछि आएको बाढीमा तीन जनाको मृत्यु भएको थियो । पाँच जना पहिरोमा परेका थिए । अहिलेसम्म राज्यमा १९ जनाले ज्यान गुमाएका छन् । दुई जना बेपत्ता भएको रिपोर्ट गरिएको छ । अधिकारीहरूले प्रभावित जिल्लाहरूमा १ हजार २ सय ५४ गाउँहरू डुबानमा परेको र १२ हजार ६ सय १०.२७ हेक्टर बाली क्षेत्र क्षतिग्रस्त भएको बताएका छन् ।
असम राज्य विपद् व्यवस्थापन प्राधिकरणका अनुसार स्थानीय सरकारले प्रभावित क्षेत्रहरूमा १६५ राहत शिविर र १५७ राहत वितरण केन्द्रहरू खोलेको छ ।
गुवाहाटीस्थित भारतीय मौसम विज्ञान विभागको क्षेत्रीय केन्द्रले आसामका धेरैजसो स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना रहेको बताएको छ । बाढीले तटबन्ध, सडक, पुल र अन्य पूर्वाधारमा क्षति पुर्याएको छ ।
यसैबीच, व्रह्मपुत्र र बाराक नदीहरू र तिनीहरूका सहायक नदीहरू, धलेश्वरी र कटखल बाहेक, खतराको चिन्हभन्दा माथि बगिरहेका छन् । विगत चार दिनदेखि भारतका उत्तरपूर्वी राज्यहरूमा मुसलधारे वर्षाले विनाश मच्चाएको छ र पहिरो र अचानक बाढी आएको छ । यसबाट ४० भन्दा बढीको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्